अमेरिकाले इजरेल पठाउन लागिएको बमको ढुवानी किन रोक्यो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
दक्षिणी गाजाको रफाह क्षेत्रमा इजरेलले ठूलो सैन्य कारबाही गर्न लागेको आशङ्कामा अमेरिकाले इजरेललाई उपलब्ध गराउन लागेको विस्फोटक पदार्थ गत साता रोकिदिएको खुलासा एक वरिष्ठ अमेरिकी अधिकारीले गरेका छन्।
बीबीसीको अमेरिकी साझेदार 'सीबीएस'लाई ती अधिकारीले बताएअनुसार त्यो खेपमा १,८०० वटा ९०७ केजीका बम र १,७०० वटा २२६.८ केजीका बम थिए।
रफाह क्षेत्रमा भएका गैरसैनिक नागरिकहरूको विषयमा अमेरिकाले व्यक्त गरेको सरोकारलाई इजरेलले 'पूर्ण रूपले सम्बोधन नगरेको' ती अधिकारीको भनाइ छ।
इजरेलले यस विषयमा तत्काल कुनै टिप्पणी गरेको छैन।
इजरेली सेनाले इजिप्टसँग सीमा जोडिएको भागपट्टि रफाह नाकामा नियन्त्रण कायम गरेको केही घण्टापछि मङ्गलवार राति गाजा स्ट्रिपमा थप हवाई आक्रमण गर्यो।
इजरेलले रफाह क्षेत्रवरिवरि सघन बम आक्रमण गरिरहेको छ। स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार राति भएको एउटा आक्रमणमा एउटै परिवारका सात जनाको मृत्यु भएको छ।
गाजामा सहायता पठाउनका लागि रहाफ एउटा महत्त्वपूर्ण नाका हो। गत अक्टोबर महिनामा इजरेल र हमासबीच लडाइँ सुरु भएपछि उक्त नाका हुँदै हजारौँ मानिसहरू अन्यत्र गएका छन्।
इजरेली सेना के गर्दै छ
सोमवार इजरेली सेनाले रफाह सहरको पूर्वी भागबाट दशौँ हजार मानिसहरूलाई अन्यत्र जान आदेश दिएको छ।
इजरेली सेनाले हमासका लडाकुलाई निमिट्यान्न पार्न र तिनको भौतिक संरचानलाई ध्वस्त पार्न रफामा "सीमित" सैन्य कारबाही गर्न लागेको बताउँदै आएको छ।
अहिले गाजामा युद्धविराम गराउने प्रयास पनि भइरहेको छ। हमासले बन्धक बनाएका इजरेली नागरिक र इजरेलका जेलमा भएका प्यालेस्टिनीहरूको साटफेर गर्ने विषयमा छलफल भइरहेको छ।
मध्यस्थकर्ताहरूको सहयोगमा दुवै पक्षका प्रतिनिधिहरूले कायरोमा फेरि वार्ता हुन लागेको छ।
अमेरिकी अधिकारी के भन्छन्
अमेरिकाले बम नपठाएको विषयमा ह्वाइट हाउस प्रशासनका ती अधिकारीले भने, " दश लाखभन्दा धेरै मानिसहरूले शरण लिएको र उनीहरूसँग अन्यत्र जाने विकल्प नभएको अवस्थामा रफाहमा ठूलो कारबाही चलाउन हुँदैन भन्ने अमेरिकाको धारणा थियो।"
"रफाहका नागरिकको मानवीय आवश्यकतालाई कसरी सम्बोधन गर्न सकिन्छ र गाजाका अन्य क्षेत्रका तुलनामा रफाहमा हमासमाथि कसरी फरक तरिकाले कारबाही चलाउन सकिन्छ भन्नेबारे हामी इजरेलसँग छलफलमा छौँ।"
"वार्ता जारी छ र उनीहरूले हाम्रो सरोकारलाई पूर्ण रूपले सम्बोधन गरिसकेका छैनन्। इजरेली नेताहरू रफाह कारबाहीबारे निर्णय बिन्दुमा पुगेको देख्दै गर्दा हामीले पनि विशेष हतियारहरूको प्रस्तावित हस्तान्तरणबारे सावधानीपूर्ण समीक्षा सुरू गर्यौँ, जसको उपयोग रफाहमा हुन सक्थ्यो। यसको थालनी एप्रिलमा भएको थियो।"
"उक्त समीक्षाको परिणामस्वरूप हामीले गत साता हतियारको ढुवानी रोकिदियौँ। त्यसमा १,८०० वटा ९०७ केजी बम र १,७०० वटा २२६.८ केजीका बम थिए।"
"हामी खास गरी ९०७ केजीका बमको प्रयोग र त्यसले घना सहरी क्षेत्रमा पार्न सक्ने असरबारे चिन्तित थियौँ। त्यसको प्रभाव हामीले गाजाका अन्य क्षेत्रमा देखिसकेका छौँ। हामी ती हतियारको ढुवानीको विषयमा अब के गर्ने निर्णयमा पुगिसकेका छैनौँ।"
नाम नखुलाइएका ती अधिकारीले थपे, "जेडीएएम (जोइन्ट डाइरेक्ट अट्याक म्यूनिशन) नामक उपकरणसहित विदेश मन्त्रालयसँग सम्बन्धित अन्य केही विषयमा हाम्रो समीक्षा जारी छ। तीमध्ये कुनै पनि विषय तत्काल हुने ढुवानीसँग सम्बन्धित छैनन्। ती भविष्यमा हुने ढुवानीसँग सम्बन्धित छन्।"
उनका अनुसार ती बम अमेरिकाले इजरेललाई उपलब्ध गराउन गत महिना गरेको सहायता प्याकेजसँग सम्बन्धित नभएको दाबी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








