इजरेली सेनाले एक लाख मानिसलाई किन रफाह छोड्न लगाउँदै छ

रफाह

तस्बिर स्रोत, Getty Images

इजरेली सेनाले गाजाको पूर्वी रफाहमा नियोजित हमला गर्नुअघि सर्वसाधारणलाई अन्यत्र जान भनेपछि मानिसहरू त्यहाँबाट बाहिरिन शुरू गरेका छन्।

इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले उक्त क्षेत्र खाली गर्न भन्दै विमानबाट पर्चाहरू खसालेका बताइएको छ।

रातो र नीलो गरी दुईथरीका पर्चा छन्।

इजरेली सेनाले रफाहका निश्चित क्षेत्रका बासिन्दालाई “हमला गरिने” ठाउँबारे जानकारी गराएको छ र “आतङ्कवादी सङ्गठनहरू भएका ठाउँनजिक भेटिने मानिसले आफू एवं आफ्ना आफन्तलाई जोखिममा पार्ने” भनी चेतावनी रातो पर्चामार्फत्‌ दिएको छ।

उसले “सुरक्षित भनेर तोकिएको” अल-मवासीतर्फ जान र उत्तरतर्फ वादी गाजा अथवा पूर्व र दक्षिणमा सुरक्षा तारबार लगाइएका स्थानतर्फ नजान मानिसलाई आग्रह गरेको छ।

नीलो पर्चामा चाहिँ आईडीएफले विस्थापितहरू बस्नका निम्ति सुरक्षित क्षेत्र विस्तार गरिएकोबारे घोषणा गरेको छ “जहाँ मानवीय सहायता जारी रहनेछ।”

‘रफाहमा हमला जरुरी छ’

पूर्वी रफाह छोड्न सर्वसाधारणलाई भन्नुअघि इजरेली रक्षामन्त्री योअफ गालान्टले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग आइतवार राति कुराकानी गरेका थिए।

“बन्धकहरू रिहा गर्न रोकिएका बेला विकल्प नभएकोले रफाहमा सैनिक कारबाही आवश्यक रहेको” अस्टिनलाई बताएको गालान्टको कार्यालयले एउटा वक्तव्यमार्फत्‌ जनाएको छ।

बन्धकहरूको रिहाइबारे खाका कोर्ने विषयमा हमास “गम्भीर नदेखिएको” वक्तव्यमा दाबी गरिएको छ।

“बन्धक रिहाइबारे जारी वार्ताहरू, मानवीय सहायता र रफाहको विषयमा कुराकानी भएको” पेन्टागनले जनाएको छ।

राष्ट्रसङ्घ के भन्छ?

प्यालेस्टिनी शरणार्थी मामिलाबारे संयुक्त राष्ट्रसङ्घीय निकायले रफाहमा इजरेलले गर्ने भनेको आक्रमणबारे चेतावनी दिँदै त्यहाँबाट आफू अहिले नबाहिरिने जनाएको छ।

इजरेलले एक लाख सर्वसाधारणलाई सो शहरबाट अन्यत्र जान भनेपछि राष्ट्रसङ्घीय निकायको भनाइ आएको हो।

“रफाहमा इजरेलले हमला गर्नुको अर्थ थप नागरिक पीडित हुनेछन् र थप मृत्यु हुनेछ। हमलाको नतिजा १४ लाख मानिसका निम्ति भयावह हुनेछ,” यूएनडब्ल्यूआरएले सामाजिक सञ्जाल एक्समा भनेको छ।

रफाह

तस्बिर स्रोत, Reuters

“यूएनडब्ल्यूआरएले रफाह छोडिरहेको छैन: सम्भव भएसम्म त्यहाँ रहिरहनेछ र जीवनरक्षक सहायताहरू मानिसहरूलाई उपलब्ध गराइरहनेछ।”

संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले रफाहमा हमला गर्ने इजरेली तयारीप्रति विमति जनाउँदै आएका छन्।

रफाहमा इजरेलले गर्ने अतिक्रमणले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता निम्याएको छ।

युरोपेली सङ्घका एक वरिष्ठ कूटनीतिज्ञ जुजेप बुरेलले रफाह खाली गर्न इजरेली सेनाले दिएको निर्देशन अस्वीकार्य भएको भदै अन्तर्राष्ट्रिय समुदायले उसको कारबाही रोक्न लगाउनुपर्ने बताएका छन्।

गत अक्टोबर ७ मा हमासले इजरेलमा आक्रमण गरी करिब १,२०० जनाको ज्यान लिएपछि र २५२ जनालाई बन्धक बनाएर लगेपछि युद्ध शुरू भएको हो।

गाजामा युद्धमा परी हालसम्म ३४६०० जनाभन्दा बढीले ज्यान गुमाइसकेका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।