हमासले बन्धक बनाएका दुईजना जीवित देखिएको भिडिओ सार्वजनिक

किथ सिगल

तस्बिर स्रोत, HOSTAGE VIDEO

हमासले गाजामा बन्धक बनाएका थप दुईजना जीवितै रहेको पुष्टि हुने भिडिओ सार्वजनिक गरेको छ।

बन्धक बनाइएकामध्ये इजरेलका ओम्री मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताएका छन्।

अर्का बन्धक अमेरिकी नागरिक किथ सिगलले पनि हालैको लामो बिदाबारे उल्लेख गरेका छन्। त्यसले उक्त भिडिओ हालै लिइएको सङ्केत गर्छ।

हमासले बन्धक बनाएको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीको पछिल्लो अवस्थाबारे भने थाहा हुन नसकेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्।

भिडिओमा देखिएका दुवै जनालाई हमासले अक्टोबर ७ मा इजरेलमा गरेको घातक आक्रमणका क्रममा नियन्त्रणमा लिएको थियो।

भिडिओबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले सङ्घर्ष जारी राख्ने बताएका छन्।

उनीहरूले इजरेली सरकारसँग बन्धहरूलाई मुक्त गर्ने सम्बन्धी नयाँ सम्झौता गर्न आग्रह समेत गरेका छन्।

युद्धविरामको पहल

हमासले युद्धविरामका लागि इजरेलले अघि सारेको प्रस्ताव आफूले अध्ययन गरिरहेको बताइरहँदा बन्धहरूको नयाँ भिडिओ सार्वजनिक भएको हो।

युद्धविरामका लागि मध्यस्थता गरिरहेको इजिप्टले अवरुद्ध वार्ता अघि बढाउनका लागि ताजा जानकारीहरू सहितको प्रतिनिधिमण्डल इजरेल पठाएको विवरण सञ्चारमाध्यमहरूमा आएका छन्।

इजरेलका विदेशमन्त्रीले बाँकी बन्धहरूलाई मुक्त गर्ने सहमति भए इजरेलले गाजाको दक्षिणी सहर रफाहमा गर्ने तयारी गरिरहेको स्थल कारबाही रोकिन सक्ने शनिवार बताएका थिए।

परिवारको अनुनय

हमासद्वारा बन्धक बनाइएकाहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हमासद्वारा बन्धक बनाइएकाहरूको तस्बिर तेल अभिभमा राखिएको छ

अमेरिकी नागरिक किथ सिगल उनकी श्रीमती अभिभासहित बन्धक बनाइएका थिए। तर गत नोभेम्बरमा छोटो समयका लागि भएको सङ्घर्ष विरामको सहमतिसँगै उनी मुक्त भएकी थिइन्।

एउटा भिडिओ सन्देश जारी गर्दै किथकी श्रीमती अभिभाले भनेकी छन्: “किथ म तिमीलाई माया गर्छु। तिमी नफर्कँदासम्म हामी लडिरहनेछौँ।”

यही महिनाको सुरुमा उनले बीबीसीसँगको अन्तर्वार्तामा आफ्ना पति जीवित रहेको वा नरहेकोबारे आफूलाई कुनै जानकारी नभएको बताएकी थिइन्।

उनका छोरा इलानले पनि आफ्ना बुवालाई देखेपछि सबै बन्धकहरूलाई फिर्ता ल्याउन दुई पक्षबीचको सहमति कति जरुरी छ भन्ने थप आवश्यकता बोध भएको बताए।

“यो देशका नेताहरूले भिडिओ हेरुन् र आफ्ना बुवाले यसैगरी गुहार मागिरहेको सम्झिउन्,” उनले भने।

उनकी छोरी शिरले पनि आफ्ना बुवाको रिहाइका लागि आफूहरूले निकालिरहेको र्‍यालीको औचित्य उक्त भिडिओले थप सान्दर्भिक बनाएको बताइन्।

ओम्री मिरानका बुबा दानी मिरानले शनिवार तेल अभिभमा हरेक साता बन्धहरूको रिहाइ माग गर्दै हुने प्रदर्शनलाई सम्बोधन गरेका थिए।

उनी बोलिरहँदा भीडले नारा लगाएर उनीप्रति समर्थन व्यक्त गरेको थियो।

तेल अभिवमा प्रदर्शन

तस्बिर स्रोत, Reuters

आफ्ना छोरा जीवित भएको आशा जगाउने भिडिओ देखेपछि आफूमा उत्साह जागृत भएको सुनाउँदै उनले निकै भावनात्मक सम्बोधन गरे।

उनले भाषणमा राजनीतिक विषय पनि जोडे। उनले सरकारका चरम दक्षिणपन्थी मन्त्रीहरूको नाम लिएर बन्धकहरूलाई मुक्त गर्ने सहमति सुनिश्चित गर्न माग गरे।

उनले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पनि नाम लिएर कुनै पनि सम्भाव्य सम्झौता स्वीकृत गर्न माग गरे।

“एउटा सानो र रक्तहीन कदम दुवै तर्फका मानिसहरूका लागि चाल्नुहोस्,” उनले भने।

“इजरेल र विश्वका सबै मानिसहरू यो रक्तपात रोक्न र हाम्रा मानिसहरूको पीडा अन्त्य गर्न चाहन्छन्।”

ओम्रीका बुवाको सम्बोधनअघि बन्धकहरूको भिडिओ ठूलो स्क्रिनमा देखाइएको थियो।

यो निकै असाधारण थियो किनभने यस्ता भिडिओहरू साधरणतया टेलिभिजनमा देखाइँदैन।

बन्धकहरूको दोस्रो भिडिओ

यो बन्धक भएका मानिसहरू जीवित देखाइएको दोस्रो भिडिओ हो।

यसअघि गतसाता सार्वजनिक गरिएको भिडिओमा २३ वर्षका इजरेली-अमेरिकी नागरिक हर्ष गोल्डबर्ग-पोलिनलाई देखाइएको थियो।

छोटो भिडिओमा उनको देब्रेतर्फको पाखुरा भन्दा तलको भाग देखिँदैन।

उनको हात हमासले अक्टोबर ७ मा दक्षिणी इजरेलमा गरेको हमलाका क्रममा विस्फोटमा परेको थियो।

उक्त भिडिओ सार्वजनिक भएपछि उनकी आमा र बुवाले बन्धकहरू मुक्त गर्ने सम्झौतामा पुग्न अपिल गरेका थिए।

सिगलको जोडी किब्बुज कफार अजाबाट र मिरान किब्बुज निर ओजबाट नियन्त्रणमा लिएर बन्दी बनाइएका थिए।

बन्धकले के भने

हमासद्वारा बन्धक बनाइएकाहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्न माग गर्दै इजरेलमा प्रदर्शनहरू हुने गरेका छन्

हमासको दबावबीच उनीहरू बोलिरहेको जस्तो देखिने भिडिओमा ६४ वर्षका सिगल र ४६ वर्षका मिरानले हमाससँग युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतामा सहमति जनाउन इजरेली सरकारलाई अनुरोध गरेका छन्।

“म यहाँ हमासको नियन्त्रणमा २०२ दिनदेखि छु। यहाँको अवस्था अप्रिय र कठिन छ र यहाँ बमहरू खसिरहेका छन्,” मिरानले भनिरहेको सुनिन्छ।

एक सातासम्मको वार्ता निष्कर्षमा पुग्न नसके तापनि हमास र इजरेलबीच अप्रत्यक्ष छलफलहरू भइरहेका छन्।

यसअघि हमासले छ साताका लागि युद्धविराम र ४० बन्धक रिहा गर्ने प्रस्ताव अस्वीकृत गरेको थियो।

उक्त समूहले युद्ध सदाका लागि अन्त्य गर्ने र गाजाबाट इजरेलका सबै सैनिकहरू फिर्ता सहितको सम्झौता हुनुपर्ने अडान राख्दै आएको छ।

इजरेलले भने हमासको अन्त्य गरेर बन्धकहरू रिहा गर्ने दाबी गर्ने गरेको छ।

रफाहमा इजरेलको तयारी

इजरेली सेना

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

इजरेल दक्षिणी गाजाको रफाहमा स्थल आक्रमण गर्ने योजनामा अघि बढिरहेको देखिन्छ।

तर यसले मानवीय विनाश निम्त्याउने भन्दै उसलाई अन्तर्राष्ट्रिय स्तरबाट दबाव छ।

रफाहमा अन्यत्रबाट विस्थापित भएका १५ लाख प्यालेस्टिनीहरूले आश्रय लिइरहेको बताइएको छ।

“हामीले रफाहमा कारबाहीका लागि सबै तयारी गरिरहेका छौँ। किनभने यो गर्नैपर्ने भएको छ,” इजरेली विदेशमन्त्री इजरेल काज्‌ले भने।

“तर सम्झौता हुनेमा म आशावादी छु।”

हमासले इजरेलमाथि गत अक्टोबर ७ मा गरेको आक्रमणमा इजरेली र विदेशीहरू समेत गरी १,२०० जनाको ज्यान गएको थियो र केहीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो।

त्यसपछि इजरेलले सुरु गरेको जवाफी आक्रमणमा अहिलेसम्म गाजातर्फ ३४,००० जनाभन्दा धेरैको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत नोभेम्बरमा भएको सम्झौतापछि हमासले बन्धक बनाएकामध्ये १०५ जना मुक्त भएका थिए।

त्यसबेला मुक्त हुनेहरू अधिकांश महिला र बालबालिका थिए।

त्यसको बदलामा इजरेलले २४० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।

गाजामा अझै १३३ जना बन्धक रहेको र त्यसमध्ये ३० जनाको मृत्यु भइसकेको ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।