इजरेलले इरानमाथि गरेको आक्रमणमा इस्फहानस्थित हवाई अड्डामा क्षति देखियो

इरानी सैनिक शिविर

तस्बिर स्रोत, Umbra Space

पछिल्लो २४ घण्टामा सार्वजनिक गरिएका भूउपग्रहका तस्बिरले शुक्रवार बिहान इजरेलले गरेको भनिएको हमलापछि इरानी हवाई शिविरमा पुगेको सम्भाव्य क्षतिको खुलासा गरेको छ।

बीबीसी भेरिफाईले दुई वटा तस्बिरहरूको विश्लेषण गरेको छ जसले इस्फहानस्थित हवाई रक्षा प्रणालीको खण्डमा क्षति पुगेको देखाउँछ।

अमेरिकी अधिकारीहरूले इजरेलले क्षेप्यास्त्र आक्रमण गरेको बताएपनि इजरेलले त्यसलाई पुष्टि गरेको छैन।

हालैका हप्ताहरूमा दुई कट्टर प्रतिद्वन्द्वीहरूबीचको तिक्तता चुलिएको थियो।

अहिलेसम्म के थाहा छ?

इरान

यसै महिनाको सुरुमा सिरियास्थित इरानी कन्सुलेटमा इजरेलले गरेको ठानिएको एउटा आक्रमणको बदलमा एप्रिल १३ मा इरानले इजरेलमाथि हमला गरेको थियो।

शुक्रवार इजरेलले इस्फहानमा आक्रमण गरेयता इरानको परमाणु कार्यक्रमको केन्द्र रहेको उक्त ठाउँमा निशाना लगाइएका स्थल र क्षतिको स्तरबारे अनेक अड्कलबाजीहरू भइरहेका छन्।

इरानले सो हमलामा ड्रोनहरू प्रयोग गरिएको र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले तीनलाई विफल बनाएको जनाएको छ।

हमलामा कस्तो अस्त्र वा अस्त्रहरू प्रयोग गरिएका थिए भन्ने स्पष्ट भइसकेको छैन, तर भूउपग्रहबाट लिइएका तस्बिरले हवाई शिविरमा क्षति भएको प्रमाणित गर्छ।

बीबीसी भेरिभाइले अप्टिकल र सिन्थेटिक एय्पाच रडार (एसएआर) भूउपग्रहले लिएको इस्फहानको तस्बिरको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेको हो।

गुगल अर्थ जस्ता माध्यमलाई नियमित प्रयोग गर्ने जो कोही पनि अप्टिकल इमेजहरू अर्थात् तलको जमिनको तस्बिरबारे जानकारी राख्छन्।

क्षति देखाउने तस्बिर

एसएआर प्रविधिले रेडियो तरङ्गको प्रयोग गरेर जमिनको सतहको तस्बिर निर्माण गर्छन्। परम्परागत भूउपग्रह प्रविधि भन्दा यसको एउटा थप विशेषता भनेको रातीको समयमा वा बादलले ढाक्दा समेत उसले तस्बिर लिने क्षमता राख्छ।

उसले लिएको तस्बिर सेतो कालो भएपनि त्यसको रेजोलुशन उच्च हुन्छ। त्यही भएर उसले भुईँको रङ्ग बदलिएको वा त्यहाँ आगजनीका चिन्ह थाहा पाउन सक्दैन तर कुनै संरचना वा सवारी सधानमा भएको क्षति भन्ने पत्ता लगाउनसक्छ।

भू-उपग्रहका तस्बिरले के देखायो?

एप्रिल १५ मा अम्ब्रा स्पेसले लिएको तस्बिरमा एस-३०० सिकारी हवाई शिविरको उत्तर पश्चिममा अवस्थित हवाई प्रतिरक्षा प्रणाली देख्न सकिन्छ।

उक्त प्रणालीमा रडारजडित कैयौँ सवारी साधनहरू, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चरहरू र अन्य उपकरणहरू देख्न सकिन्छ।

तर शुक्रवारको हमलापछि अम्ब्रा स्पेसले लिएको तस्बिरमा सम्भवत रडारजस्तो देखिने एउटा खण्डमा क्षति र भग्नावशेषहरू देखिन्छ। त्यसको ठाउँ पनि थोरै फेरिएको छैन।

इरान

अन्य सवारी साधनहरूलाई पनि उक्त ठाउँबाट हटाइएको छ। यो विश्लेषणलाई प्लानेटले लिएको अप्टिकल भू-उपग्रह तस्बिरले पनि पुष्टि गर्छ।

कम रेजोलुशन भएपनि उक्त तस्बिरमा सो स्थानमा एउटा क्षति भएको जस्तो दाग देखिन्छ।

त्यसअघि एप्रिल ११ र एप्रिल १५ मा लिइएका तस्बिरमा त्यस्तो चिन्ह थिएन।

सैनिक अड्डा स्वयंमा कुनै भौतिक क्षति पुगेको उपलब्ध तस्बिरहरूले देखाउँदैनन्। तर उक्त निष्कर्षमा पुग्न उच्च रेजोलुशनका तस्बिरहरूको विश्लेषण आवश्यक पर्छ।

तर अझै पनि इस्फहानको परमाणु केन्द्रका तस्बिरहरू उपलब्ध भइसकेका छैनन्।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा केन्द्रले ‘इरानको परमाणु स्थलहरूमा कुनै क्षति नभएको’ जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।