इस्फहानमा 'केटाकेटीले खेल्नेजस्ता' ड्रोन प्रहार भएको इरानको भनाई, इजरेलले 'उल्लेख्य हमला' गरे जबाफ दिने चेतावनी

तस्बिर स्रोत, EPA
इरानी विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियानले शुक्रवारको हमलामा "केटाकेटी खेल्नेजस्ता" हतियार प्रयोग गरिएको भन्दै इजरेलले उल्लेख्य हमला गरे आफ्नो देशले तत्काल जबाफ दिने बताएका छन्।
अमिराब्दोल्लाहियानले इरानको इस्फहानमा भएको पछिल्लो हमलामा मिनी ड्रोनहरू प्रयोग भएका भन्दै घटनालाई मत्थर पार्न खोजिरहेका छन्।
विश्व नेताहरूले संयम अपनाउन बारम्बार आह्वान गरिरहँदा दुवै पक्ष व्यापक द्वन्द्वमा पर्न नखोजिरहेको देखिन्छ।
अमेरिकी अधिकारीहरूले शुक्रवार इरानमा एक इजरेली क्षेप्यास्त्र प्रहार गरिएको जनाएका थिए।
विवरणहरूका अनुसार इजरेलले इस्फान सहर नजिकैको नाटन्ज परमाणु क्रेन्द्रको सुरक्षामा प्रयोग हुने एउटा हवाई प्रतिरक्षा प्रणालीलाई निशाना बनाएको थियो।
इजरेल सरकारले अझै त्यसबारे औपचारिक रूपमा बोलेको छैन। तर इरान त्यसबारे प्रतिक्रियात्मक नभएपछि मध्यपूर्वमा पूर्ण आकारको द्वन्द्व हुने अवस्था टर्न सक्ने आशा गरिएको छ।
इराकमा विस्फोनको घटना

यसैबीच इरानको सेना बग्दादको दक्षिणमा रहेको एक अखडामा भएको एउटा ठूलो विस्फोटनमा इरान समर्थित एकजना लडाकु मारिनुका साथै अन्य आठजना घाइते भएको जनाइएको छ।
सेनाले विस्फोटनअघि वा पछि उक्त क्षेत्रमा कुनै ड्रोन वा लडाकु विमान देखा नपरेको जनाएको छ।
तर पपुलर मोबिलाइजेसन फोर्सेस स्वयंले भने विस्फोटन हमलाका कारण भएको जनाएको छ।
इरान र इजरेलबीच तनाव चर्कने अवस्था सिर्जना भइरहँदा यस्तो घटना देखा परेको हो।
तेहरानले प्रत्यक्ष रूपमा इजरेलमा कैयौँ ड्रोन तथा क्षेप्यास्त्र हमला गरेको छ दिनपछि मध्य इरानी सहर इस्फहानमा शुक्रवार इजरेलले गरेको ठानिएको एक हमला भएको थियो।
इजरेलले आफूमाथि इरानले प्रहार गरेको तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरूमध्ये ९९ प्रतिशतलाई आकाशमै नष्ट गरिएको दाबी गरेको छ।
इस्फान हमलाबारे अहिलेसम्म केके थाहा छ?

तस्बिर स्रोत, Reuters
इस्फहान क्षेत्रमा भएका हमलाको तह र त्यसमा भएको क्षतिबारे परस्पर विरोधी दाबीहरू सार्वजनिक भइरहेका छन्।
अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग एक इजरेली क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेका छन्।
अमेरिकी स्रोतहरूले एक क्षेप्यास्त्र प्रयोग भएको बताइरहँदा इरानले भने साना ड्रोनहरू प्रयोग भएको बताइरहेको छ।
अहिलेसम्म प्रयोग भएका क्षेप्यास्त्र सम्बन्धमा विभिन्न अनुमानहरू गरिएका छन्।
विज्ञहरूबीचमा यतिखेर एक 'टु स्टेज' क्षेप्यास्त्र प्रयोग भएको र त्यो विमानबाट प्रक्षेपण गरिएको भन्ने समान धारणा व्यापक रूपमा देखा परेको छ।
धेरैले भग्नावशेषका आधारमा त्यो इजरेलले बनाउने ब्लु स्प्यारो क्षेप्यास्त्रहरू भएको पहिचान गरेका छन्।
यद्यपि बीबीसीले स्वतन्त्र रूपमा क्षेप्यास्त्रको प्रकार पुष्टि गर्न सकेको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








