इजरेल र हमासः अन्तर्राष्ट्रिय फौजदारी अदालतको सम्भावित 'पक्राउपुर्जी'को अर्थ के हो

प्रधानमन्त्री नेतन्याहू र रक्षामन्त्री गालान्ट

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेली प्रधानमन्त्री नेतन्याहू र रक्षामन्त्री गालान्ट
    • Author, जेरमी बोअन
    • Role, बीबीसी अन्तर्राष्ट्रिय सम्पादक

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्ध अपराध र मानवताविरुद्धको अभियोगमा आफूविरुद्ध पक्राउ वारन्ट जारी हुन सक्ने कुराप्रति आक्रोश व्यक्त गरेका छन्।

उनले त्यसलाई "अभूतपूर्व नैतिक अत्याचार"को सङ्ज्ञा दिएका छन्। हमासलाई "नरसंहारकारी आतङ्कवादी सङ्गठन" र यहुदीहरूमाथि होलकास्टपछि भएको "सबैभन्दा खराब आक्रमणको दोषी" भन्दै उनले इजरेलले उक्त समूहविरुद्ध युद्ध गरेको तर्क गरे।

नेतन्याहूले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका मुख्य अभियोजनकर्ता करिम खानको आलोचना गर्दै उनलाई "आधुनिक समयका सबैभन्दा ठूला यहुदीविरोधी" को सङ्ज्ञा दिए।

उनले खान 'होलकास्ट' हुने अवस्था सिर्जना गर्ने र यहुदीहरूको आधारभूत अधिकार अस्वीकार गर्ने नाजी जर्मनीका न्यायाधीशजस्तो भएको बताए।

इजरेलका प्रधानमन्त्री र रक्षामन्त्रीविरुद्ध पक्राउपुर्जी जारी गराउन खोज्ने खानको निर्णयले "संसारभरि फैलिरहेको यहुदीविरोधी आगोमा घिउ थप्ने काम" गरेको नेतहन्याहूको दाबी छ।

इजरेली प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको भिडिओमा नेतन्याहूले अङ्ग्रेजीमा बोलेका छन्।

आफ्नो सन्देश विदेशीहरू अर्थात् उनलाई सबैभन्दा बढी अर्थ राख्ने अमेरिकासम्म पुगोस् भन्ने चाहना हुँदा नेतन्याहूको वक्तव्य अङ्ग्रेजीमा आउँछ।

अभियोजनकर्ता करिम खान के भन्छन्

इजरेली प्रधानमन्त्रीले व्यक्त गरेको आक्रोशकै शैलीमा इजरेलको राजनीतिक नेतृत्व समेत बोलिरहेको छ।

खान ब्रिटिश किङ्स कन्सलको मान्यता पाएका वकिल र आईसीसीका मुख्य अभियोजनकर्ता हुन्। उनले निकै सतर्कतापूर्वक कानुनी भाषामा तयार पारेको विज्ञप्तिपछि इजरेली नेतृत्वको आक्रोशपूर्ण प्रतिक्रिया आएको हो।

शब्द र वाक्यैपिच्छे अभियोजनकर्ताहरूले हमासका ती शीर्ष नेता तथा इजरेली प्रधानमन्त्री र रक्षामन्त्रीविरुद्ध गम्भीर आरोप लगाइएको छ। सशस्त्र द्वन्द्वका कानुन र अन्तर्राष्ट्रिय कानुन सबै पक्षलाई लागु गर्ने प्रतिबद्धता खानको विज्ञप्तिको चुरोमा छ।

त्यसलाई उनले पक्राउपुर्जी जारी गर्ने माग गर्नुको औचित्यका रूपमा प्रस्तुत गरेका छन्।

"न कुनै स्थलसैनिक, न कुनै कमान्डर, न कुनै नागरिक नेता - कसले उन्मुक्ति पाउँदैनन्।" उनका अनुसार कानुन भिन्नभिन्न तरिकाले लागु हुन सक्दैन। त्यसो भए "हामीले त्यो काम गर्न नसक्ने अवस्था सिर्जना" गर्ने उनले भनाइ छ।

अमेरिका र हमास पनि आक्रोशित

यो निर्णय दुवै पक्षको आचरणलाई अन्तर्राष्ट्रिय कानुनअनुकूल बनाउन गरिएको हो। तर यसले इजरेलमा मात्र हैन अन्यत्र पनि आक्रोश उत्पन्न गराएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि पक्राउपुर्जी जारी गराउन खोजिएको प्रयासलाई "निर्लज्ज" भनेका छन्।

"इजरेल र हमासबीच कुनै समानता छैन, कुनै पनि छैन।"

हमासले आफ्ना नेताविरुद्धको आरोप फिर्ता गर्न माग गरेको छ। आईसीसीका अभियोजनकर्ताले "पीडितको तुलना पीडकसँग" गरेको हमासको दाबी छ।

याह्‍या सिन्वार

तस्बिर स्रोत, LightRocket via Getty Images

तस्बिरको क्याप्शन, हमासका नता याह्‍या सिन्वार गाजामै रहेको ठानिन्छ

हमासले इजरेली नेतृत्वविरुद्ध पक्राउपुर्जी जारी गराउने पहल निकै ढिलो अर्थात् सात महिनापछि भएको बताएको छ। यसबीचमा "कब्जा गरेर बसेको इजरेली पक्षले हजारौँ अपराध गरेको" उसको दाबी छ।

करिम खानले दुई पक्षबीचको सीधा तुलना गरेका छैनन्। तर उनले दुवै पक्षले शृङ्खलाबद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको बताएका छन्।

उनले पछिल्लो युद्ध "इजरेल र प्यालेस्टाइनबीच र इजरेल र हमासबीचको गैरअन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्व"को सन्दर्भमा भएको जोड दिएका छन्।

उक्त अदालतले प्यालेस्टाइनलाई एउटा राज्यको रूपमा हेरेको छ। प्यालेस्टाइन संयुक्त राष्ट्रसङ्घमा पर्यवेक्षकको हैसियतमा छ।

त्यसको अर्थ उक्त देश आईसीसी स्थापना गर्ने 'रोम विधान'मा हस्ताक्षर गर्न सक्ने अवस्थामा छ।

नेतन्याहूले आफू हुँदासम्म प्यालेस्टिनीहरूले स्वतन्त्रता प्राप्त नगर्ने घोषणा गरेका छन्।

मानवाधिकारवादीहरू के भन्छन्

मानवाधिकारवादी समूहहरूले आईसीसीका अभियोजनकर्ताले दुवै पक्षलाई कानुन पालना गराउन खोजेको कुराको प्रशंसा गरेका छन्।

इजरेलको अग्रणी अधिकारवादी संस्था बेत्सेलमले ती वारन्टहरूले "इजरेलको व्यापक रूपमा खस्कँदो नैतिक धरातल" देखाएको जनाएको छ।

"अन्तर्राष्ट्रिय समुदायले इजरेललाई सङ्केत गर्दै उसले अनुत्तरदायी बनेर हत्या, हिंसा र विध्वंसको नीति कायम गर्न सक्दैन भनेको छ," सो संस्थाले भनेको छ।

मानवाधिकारवादी अभियानकर्ताहरू वर्षौँदेखि गर्दै आएको गुनासोमा अमेरिकी नेतृत्वमा रहेका शक्तिशाली पश्चिमा देशहरूले इजरेलले गर्ने अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनमा आँखा चिम्लिएको आरोप लगाउँछन्। आफ्नो कित्तामा नभएका अन्य देशलाई भने ती शक्तिशाली पश्चिमा देशले निन्दा गर्ने र प्रतिबन्ध लगाउने उनीहरूको बुझाइ छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका मुख्य अभियोजनकर्ता करिम खान

तस्बिर स्रोत, Office of the Prosecutor

तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका मुख्य अभियोजनकर्ता करिम खान

खान र उनको टोलीले चालेको कदम निकै पहिला नै हुनुपर्ने उनीहरूको भनाइ छ।

खानका अनुसार युद्ध अपराध गरेको आरोप लागेका हमासका तीन मुख्य नेताहरू नरसंहार, हत्या, बन्धक बनाउने काम, बलात्कार र यातनामा संलग्न छन्।

ती नेतामा गाजाका हमास नेता याह्‍या सिन्वार, हमासको सैन्य बल कसाम ब्रिगेडका कमान्डर मोहम्मद डेफ र हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानिया छन्।

आफ्नो अनुसन्धानको एउटा पाटोका रूपमा करिम खान र उनको टोलीले अक्टोबर ७ मा भएको हमलाका पीडित र त्यसमा परेर ज्यान जोगिएका मानिसहरूसँग कुराकानी गरेका थिए।

उक्त घटनामा हमासले आधारभूत मानवीय मूल्यमाथि प्रहार गरेको उनको निष्कर्ष छ। "परिवारभित्रको माया, अभिभावक र सन्तानबीचको गहिरो सम्बन्ध निर्ममता र चरम असंवेदनशीलतामार्फत् अथाह पीडाको कारण विकृत रूपमा प्रस्तुत भयो," उनले भनेका छन्।

खानले इजरेलसँग आफ्नो प्रतिरक्षा गर्ने अधिकार भएको बताए। तर "निर्लज्ज अपराध"ले "इजरेललाई अन्तर्राष्ट्रिय मानवीय कानुनको दायित्वबाट मुक्त नगर्ने" उनको धारणा छ।

त्यसलैले नेतन्याहू र रक्षामन्त्री योआभ गालान्टविरुद्ध वारेन्ट जारी गर्नु औचित्यपूर्ण रहेको उनको तर्क छ।

खानले उनीहरूविरुद्ध लडाइँमा अस्त्रको रूपमा नागरिकहरूको भोकमरी, हत्या, नरसंहार र सर्वसाधारणहरूमाथि नियतवश गरिने आक्रमणलाई प्रयोग गरेको आरोप लगाएका छन्।

गाजा युद्ध

तस्बिर स्रोत, AFP

इजरेली र हमास नेतालाई कस्तो असर पर्ला?

इजरेलले हमासविरुद्ध जबाफी कारबाही थालेदेखि नै अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेलको तरिकाबारे पटकपटक असन्तुष्टि व्यक्त गरेका छन्। उनले गाजामा निकै धेरै प्यालेस्टिनी सर्वसाधारण मारिएको र धेरै नागरिक पूर्वाधार ध्वस्त पारिएको बताउने गरेका छन्।

तर पनि अमेरिकाले सधैँ साथ दिइराखेको निकट साझेदारसँगको सम्बन्ध सन्तुलित राख्ने प्रयास उनले गरिरहे। बाइडन र उनको प्रशासनले कहिल्यै सार्वजनिक रूपमा आफ्ना भनाइको तात्पर्य खुलाएनन्।

खान आफ्ना व्याख्या स्पष्ट रहेको बताउँछन्।

उनले इजरेलले गाजामा आफ्ना युद्धका उद्देश्य हासिल गर्न आपराधिक उपाय रोजेको बताए। सर्वसाधारणको "नियतवश हत्या, भोकमरी, उच्च मात्रामा पीडा र गम्भीर घाइते" बनाइएको उनको भनाइ छ।

आईसीसीमा न्यायाधीशहरूको एउटा समूहले अब पक्राउपुर्जी जारी गर्ने कि नगर्ने विषयमा छलफल गर्ने छ।

वारन्ट जारी भएमा रोम विधानका हस्ताक्षरकर्ता देशले आफूले अवसर पाउँदा ती व्यक्तिलाई पक्राउ गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने छ।

रोम विधानका १२४ हस्ताक्षरकर्तामा रुस, चीन र अमेरिका छैनन्। इजरेलले समेत हस्ताक्षर गरेको छैन।

तर आईसीसीले प्यालेस्टिनीहरू हस्ताक्षरकर्ता नभएकाले फौजदारी घटनालाई अभियोजन गर्ने कानुनी अख्तियारी आफूसँग नभएको जनाएको छ।

यदि पक्राउपुर्जी जारी भएमा इजरेलमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका नेतन्याहू पक्राउको जोखिम नमोलीकन आफ्ना निकट पश्चिमा साझेदारहरूलाई भेट्न जान पाउने छैनन्।

तर नेतन्याहू र गालान्टका लागि त्यसमा अपवादका रूपमा अमेरिका पर्ने छ। ह्वाइटहाउसले उक्त द्वन्द्व आईसीसीको क्षेत्राधिकारमा नपर्ने तर्क गर्दै आएको छ।

त्यो धारणाका कारण बाइडनको डेमोक्र्याटिक पार्टीभित्र गाजा युद्धको विषयले अझ विभाजन बढाउने छ।

इजरेल गाजामा भोकमरी रहेको कुरा अस्वीकार गर्छ। बरु हमासले खाद्यान्न लुकाएको र वितरणमा संयुक्त राष्ट्रसङ्घ अक्षम रहेको उसको दाबी छ।

यदि इस्माइल हानियाविरुद्ध पक्राउपुर्जी जारी भएमा वरिष्ठ अरब नेताहरूलाई भेटिरहनका लागि उनले गर्ने यात्राबारे सोच्नुपर्ने हुन्छ।

त्यस्तो अवस्थामा उनी अधिकांश समय कतारमा बस्न सक्छन्। कतारले पनि इजरेलले जस्तै रोम विधानमा हस्ताक्षर गरेको छैन।

अन्य दुई हमास नेताहरू याह्‍या सिन्वार र मोहम्मद डेफ गाजाभित्रै गुप्त रूपमा बसेको ठानिन्छ। वारन्टले उनीहरूलाई खासै दबाव नपर्न सक्छ। इजरेलले पछिल्ला सात महिनामा उनीहरूको हत्या गर्ने प्रयास गरिरहेको छ।

आईसीसीको वारन्टले नेतन्याहूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मृत्यु भइसकेका लिबियाका तात्कालिक शासक मुअम्मर गद्दाफीको सूचीमा राख्ने छ।

पुटिनले गैरकानुनी रूपमा बालबालिकालाई युक्रेनबाट रुस लैजाने गरेको भन्दै पक्राउपुर्जी जारी भएको थियो।

गद्दाफीको हकमा उनी मारिनुअघि निरस्त्र सर्वसाधारणको हत्या र उत्पीडन गरेको भन्दै उनीविरुद्ध पक्राउपुर्जी जारी भएको थियो।

प्रजातान्त्रिक देश मानिने इजरेलका लागि बेन्जमिन नेतन्याहू त्यो सूचीमा पर्नु सुखद भने हुने छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।