बाइडनद्वारा गाजा युद्ध अन्त्य गर्ने इजरेली प्रस्ताव सार्वजनिक

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा द्वन्द्व अन्त्य गर्न इजरेलले हमाससामु ल्याएको प्रस्ताव स्वीकार गर्न आग्रह गर्दै ‘अब युद्ध अन्त्य गर्नुपर्ने’ समय भएको बताएका छन्।
तीन किस्ताको प्रस्ताव अन्तर्गत ६ हप्ता लामो युद्धविराम हुनेछ र सो समयमा इजरेल डिफेन्स फोर्सेज बढी जनसङ्ख्या भएका क्षेत्रबाट फिर्ता हुनेछ।
मानवीय सहायता पुर्याउने क्रमलाई तीव्र बनाइनेछ भने प्यालिस्टिनी बन्दीहरूको सट्टा केही बन्धकहरू रिहा गरिनेछन्।
यो सम्झौताले स्थायी रूपमा ‘युद्धलाई अन्त्य’ गर्नेछ र गाजाको पुनर्निर्माणको एउटा प्रमुख योजना तय गरिनेछ।
हमासले उक्त प्रस्तावलाई आफूले ‘सकारात्मक’ ढङ्गले हेरेको जनाएको छ।
उक्त प्रस्तावलाई लिएर कसले के भने?
शुक्रवार ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले पहिलो चरणको प्रस्तावित योजनाले ‘पूर्ण युद्धविराम’, बढी जनसङ्ख्या भएका क्षेत्रबाट आईडीएफका सैनिकहरूको फिर्ती र प्यालेस्टिनी बन्दीहरूको साटो बन्धकहरूको रिहाइलाई समेट्ने बताए।
उनी भन्छन्, “यो वास्तवमै ऐतिहासिक घडी हो,” उनले भने, “हमासले युद्ध विराम चाहेको बताएको छ। यो सम्झौता उनीहरू साँच्चै त्यो चाहान्छन् भन्ने प्रमाणित गर्ने अवसर हो।”
उनले युद्धविरामले घेराबन्दीमा परेको उक्त भूभागमा थप मानवीय सहायता पुग्न दिने भन्दै ‘प्रत्येक दिन गाजामा सहायता सामाग्री बोकेका ६०० वटा ट्रक पुग्न सक्ने’ जनाए।
दोस्रो चरणमा सबै जीवित बन्धकको रिहाइ हुने र त्यसमा पुरुष सैनिकहरू पनि समावेश गरिने भनिएको छ।
त्यसपछि युद्धविराम ‘स्थायी रूपमा युद्धको समाप्तिमा’ परिणत हुने भनिएको छ।

तस्बिर स्रोत, Reuters
हमासलाई यो प्रस्ताव स्वीकार गर्न अनुरोध गर्नेमा ब्रिटेनका विदेशमन्त्री डेविड क्यामरन पनि छन्।
उनले सामाजिक सञ्जाल एक्समा उक्त समूहले सम्झौतालाई स्वीकार गर्नुपर्ने र त्यसो भए लडाइँ अन्त्य भएको देख्न सकिने’ बताएका छन्।
“लामो समयदेखि हामीले तर्क गरिरहेका छौँ कि हामी सबैले सही कदमहरू चाल्न सक्यौँ भने लडाइँलाई स्थायी शान्तिमा बदल्न सकिन्छ,” उनले भनेका छन्।
“यो अवसरलाई सदुपयोग गरौँ र यो द्वन्द्वलाई अन्त्य गराऔँ।”
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यी घटनाक्रमको स्वागत गरेका छन्।
उनले विश्वले ‘गाजामा ज्यादै धेरै पीडा र ध्वंस देखेको’ भन्दै त्यसलाई ‘रोक्न पर्ने समय’ भइसकेको जनाए।
राष्ट्रपति बाइडनको पहलकदमीलाई स्वागत गर्दै उनले त्यसले मध्यपूर्वमा अन्ततः शान्ति ल्याउन सक्ने टिप्पणी गरे।
आफ्नो सम्बोधनमा बाइडनले पहिलो चरण र दोस्रो चरणबीचको वार्ता कठिन हुने स्वीकार गरेका छन्।
इजरेल र हमास के भन्छन्?
केही दिनअघिसम्म मात्रै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौताको हिस्साका रूपमा युद्धलाई अन्त्य गर्ने विषय समेट्न आफू सहमत नरहेको बताउँदै आएका थिए।
बाइडनले युद्धको अन्त्यको विषय उल्लेख गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अहिलेको योजनामा विगतमा असफल भएका विभिन्न चरणका वार्ताका बुँदाहरू पनि समावेश भएका छन्।
अमेरिकाले स्थायी युद्धविरामका लागि आह्वान गर्नु हमासले आफूले यसअघि नै स्वीकार गरेको बताएको वार्ताका सर्तहरूमा सो समूहलाई डोर्याउने रणनीति हो।
स्थायी युद्धविराम सो समूहको एउटा प्रमुख माग रहँदै आएको छ।

उक्त प्रस्तावको तेस्रो चरणमा कुनै पनि मृत इजरेली बन्धकका अवशेषहरू फर्काउनुपर्ने र ‘एउटा प्रमुख युद्ध विराम घोषणा’ सार्वजनिक गर्नुपर्ने विषय पर्छ।
पुनर्निर्माणमा अमेरिका र अन्य अन्तर्राष्ट्रिय निकायले घर, विद्यालय र भवनहरू निर्माण गर्न सहयोग गर्ने विषय पर्छन्।
आफ्नो सम्बोधनमा बाइडनले सरकारमै रहेका कतिपय इजरेली अधिकारीहरूले आफ्नो प्रस्तावको विरोध गर्न सक्ने बताए।
“मैले इजरेलको नेतृत्वलाई जस्तोसुकै दबाब आए पनि यो सम्झौताको पक्षमा उभिन अनुरोध गरेको छु।”
उनले इजरेली नागरिकहरूलाई सोझै सम्बोधन गर्दै ‘अहिलेको क्षणलाई गुमाउन नसकिने’ बताए।
बाइडनले हमासको सामर्थ्यमा अब ठूलो ह्रास आएको र उसका लडाकूहरूले अक्टोबर ७ मा आक्रमण गरेको स्तरमा हमला गर्न नसक्ने पनि जनाए।
उक्त धारणालाई वासिङटनले युद्ध समाप्त भइसकेको दृष्टिकोण राखिरहेको सन्देश इजरेललाई दिन खोजेको अर्थ लगाउन सकिन्छ।
एउटा विज्ञप्तिमा प्रधानमन्त्री नेतन्याहूले सबै बन्धकहरूको रिहाइ र हमासको सैन्य र सत्ता सञ्चालनको सामर्थ्य समाप्त गर्ने सहितका उद्देश्य पुरा नहुँदासम्म युद्ध नसकिने बताए।
उनले पछिल्लो योजना अन्तर्गत यी सिद्धान्तहरू इजरेलले अनुमोदन गर्न सक्ने उल्लेख गरे।

तस्बिर स्रोत, REUTERS
हमासले आफूले उक्त प्रस्तावले स्थायी युद्ध विरामका लागि आह्वान गरेको, इजरेली फौजहरू गाजाबाट फिर्ता हुने, पुनर्निर्माण र बन्दीहरूको सट्टापट्टाको कुरा गरेका हुनाले आफूले त्यसलाई ‘सकारात्मक’ रूपमा लिएको जनाएको छ।
स्थायी युद्ध विरामप्रति केन्द्रित कुनै पनि प्रस्तावमा इजरेलले ‘स्पष्ट प्रतिबद्धता जनाएको खण्डमा’ आफू त्यसलाई ‘सकारात्मक र रचनात्मक ढङ्गले लिन तयार रहेको’ बताएको छ।
तर वार्ताबारे जानकार र नयाँ इजरेली प्रस्ताव देखेका एक जना प्यालेस्टिनी अधिकारीले दस्ताबेजमा युद्ध अन्त्य हुने वा गाजाबाट पूर्ण रूपमा आइडीएफ फिर्ता हुने विषय नसमेटिएको बताए।
बाइडनमाथि घरेलु दबाब कस्तो
कतारमा रहेका मध्यस्थकर्तामार्फत हमासलाई उक्त प्रस्ताव पठाइएको छ।
गाजामा उच्च मानवीय क्षतिका माझ अमेरिकाले इजरेललाई दिइरहेको समर्थनको स्तरलाई लिएर बाइडनको देशभित्रै आलोचना भइरहेको छ।
धेरैले युद्धरत पक्षहरूलाई वार्तामा ल्याउन उनले थप प्रयास गर्नुपर्ने बताइरहेका छन्।
यसै हप्ताको सुरुमा ह्वाइट हाउसले रफाहमा इजरेलले गरेको ‘ठूलो स्थल कारबाही’ले रेड लाइन ननाघेको र अमेरिकी नीतिमा सम्भावित बदलाव नल्याउने' बताएको थियो।
इजरेली हवाई हमलाका कारण भएको आगलागीमा ४५ जना प्यालेस्टिनीले आइतवार ज्यान गुमाएपछि अमेरिकाको त्यस्तो भनाइ आएको थियो।
शुक्रवार गरिएको एउटा अलग्गै घोषणामा विभिन्न दल आबद्ध अमेरिकी सांसदहरूले औपचारिक रूपमा कंग्रेसमा सम्बोधन गर्न नेतन्याहूलाई वासिङ्टन भ्रमणको निम्तो दिएका छन्।
तर त्यो भ्रमण कहिले हुन्छ प्रस्ट छैन।
युद्ध सुरु भए यता गाजामा ३६ हजार भन्दा बढीको ज्यान गएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हमास बन्दुकधारीले इजरेलमा १२ सय मानिसहरूको ज्यान जाने गरी भीषण आक्रमण गरेपछि युद्ध सुरु भएको थियो।
उनीहरूले २५२ जनालाई बन्धक बनाएर गाजा लगेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








