इजरेलले किन इजिप्टसँग जोडिएको गाजाको सीमा नियन्त्रणमा लियो

तस्बिर स्रोत, Getty images
इजरेली सेनाले गाजा र इजिप्टको सीमामा अवस्थित फिलाडेल्फी कोरिडोर नामक रणनीतिक क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिइएको जनाएको छ।
इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)का एक प्रवक्ताका अनुसार त्यहाँ "हमासले हतियार तस्करी गर्न प्रयोग गर्ने" २० वटा सुरुङ त्यहाँ फेला परेका छन्।
इजिप्टशिअन टेलिभिजनले स्रोतहरूलाई उद्धृत गर्दै उक्त दाबीको खण्डन गरेको छ।
इजरेलले दक्षिणी गाजाको रफाह सहरमा आफूले गरेको सैन्य कारबाहीको औचित्य पुष्टि गर्न त्यसो भनेको उसको दाबी छ।
गाजाको सीमा आफ्नो नियन्त्रणमा भएको इजरेली घोषणा इजिप्टसँगको तनाव चुलिएको समयमा आएको छ।

फिलाडेल्फी कोरिडोर कहाँ छ?
“केही दिनदेखि आईडीएफले इजिप्ट र रफाहको सीमामा रहेको फिलाडेल्फी कोरिडोरमा नियन्त्रण कायम गरेको छ,” आईडीएफका प्रवक्ता एड्मिरल ड्यान्यल हेगारीले भने।
उनले उक्त कोरिडर हमासको "अस्तित्वको लागि महत्त्वपूर्ण" रहेको बताउँदै त्यहाँबाट सो समूहले "नियमित रूपमा गाजा स्ट्रिपमा अस्त्रहरू तस्करी" गरेको दाबी गरे।
उनले इजरेली सैनिकहरूले ती सुरुङहरूमा अनुसन्धान गरिरहेको र तिनलाई निष्क्रिय बनाइरहेको बताए।
तर पछि संवाददाताहरूसँग कुरा गर्दै हेगारीले सबै सुरुङहरूबाट इजिप्ट पुग्न सकिने कुरा पुष्टि गर्न नसक्ने बताएको द न्यूयोर्क टाइम्सले जनाएको छ।
'फिलाडेल्फी कोरिडर' केही ठाउँमा झन्डै १०० मिटर चौडा छ र त्यो गाजातर्फ इजिप्टको सीमानजिकै १३ किलोमिटरजति लामो छ।
इजिप्टले विगतमा आफूले सीमा वारपार हुने सुरुङहरू ध्वस्त पारिदिएको र अस्त्र तस्करीलाई असम्भव बनाइदिएको बताएको थियो।
एक ‘उच्च पदस्थ’ इजिप्टेली स्रोतले 'अल-कहेरा न्यूज'सँग कुरा गर्दै इजरेलले ती आरोपहरूलाई "प्रयोग गरेर प्यालेस्टाइनको रफाह सहरमा कारबाही गर्ने औचित्य पुष्टि गर्न खोजेको र राजनीतिक उद्देश्यका लागि युद्धका लागि लम्ब्याउन खोजको" बताए।

तस्बिर स्रोत, Reuters
युद्धको केन्द्रमा रफाह
हमासले अक्टोबर ७ मा गरेको आक्रमणपछि सुरु भएको लडाइँमा जित्न इजरेलले रफाह आफ्नो नियन्त्रणमा लिनुपर्ने ठानेको छ। सो आक्रमणमा १,२०० जनाको मृत्यु भएको थियो भने २५२ जनालाई हमासले बन्धक बनाएर लगेको इजरेली पक्षको भनाइ छ।
द्वन्द्व सुरु भएयता गाजामा ३६, १७० जना मानिसहरूको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हमासविरुद्धको कारबाहीअन्तर्गत रफाहस्थित सीमानाकालाई इजरेली फौजले तीन साताअघि आफ्नो नियन्त्रणमा लिएको थियो। त्यस बेलादेखि इजिप्ट र इजरेलबीच तनाव चुलिएको छ।
यो साता सुरुमा रफाहनजिकै इजिप्ट र इजरेलका सैनिक संलग्न भएको एक घटनामा इजिप्टका एक सैनिकको ज्यान गएको थियो।
इजिप्टले प्यालेस्टिनीहरूलाई समर्थन गर्दै आएको छ। उसले गाजामाथिको इजरेली सैन्य कारबाही र युद्धमा इजरेलले सर्वसाधारणको हत्या गरेको भन्दै त्यसको निन्दा गर्दै आएको छ।
यद्यपि इजिप्टले पनि सन् २००६ मा हमास सत्तामा आएयता गाजासँगको सीमामा नाकाबन्दी कायम राखिरहेको छ।
हमास इजिप्टमा प्रतिबन्धित आतङ्कवादी सङ्गठन 'इस्लामिस्ट मुस्लिम ब्रदरहुड' को हाँगा हो।
इजिप्टले हमाससँग संवादको ढोका खुला राखेको छ। उसले इजरेल र उक्त समूहबीच युद्धविराम अनि गाजामा हमासले बन्धक बनाएका इजरेलीहरूको रिहाइका लागि भइरहेका प्रत्यक्ष वा परोक्ष वार्ताहरूमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








