इजरेल र हमासबीच मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग हुँदा के फरक पर्छ?

तस्बिर स्रोत, Getty Images
- Author, जोए इनवूड र रुश्दी अबुअलुफ
- Role, बीबीसी न्यूज, इस्तानबुल
इजरेल र हमासबीच युद्धविराम तथा बन्धक रिहाइका लागि वार्तामा मध्यस्थताको भूमिका निभाइरहेको कतारले आफ्नो काम रोकेको अधिकारीहरूले बताएका छन्।
हमास र इजरेलले छलफलका लागि “आफ्नो इच्छा देखाएमात्रै” आफ्नो काम फेरी सुरु गर्ने कतारले बताएको छ।
गाजामा युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव अस्वीकार गरेको आरोप लगाउँदै एक जना अमेरिकी वरिष्ठ अधिकारीले कतारमा हमासका प्रतिनिधिहरूको उपस्थिति वाशिङ्टनले स्वीकार नगर्ने बताएको विवरण सार्वजनिक भए लगत्तै कतारको यस्तो निर्णय आएको हो।
कतारले वार्ताको मध्यस्थताको जिम्मेवारीबाट अलग भएको जनाकारी गराउँदै दोहामा रहेको हमासको राजनीतिक कार्यालयले “उसको उद्देश्यमा काम नगर्ने” प्रारम्भिक विवरणहरू “वास्तविक” नभएको बताएको छ।
"कतारले १० दिन अगाडी नै यदि पछिल्लो प्रयासमा पनि हमास र इजरेलबीच कुनै सम्झौता भएन भने आफ्नो देशले मध्यस्थकर्ताको भूमिका स्थगित गर्ने कुरा सबै पक्षलाई जानकारी गराएको," कतारी विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
"युद्धरत पक्षहरूले क्रूर युद्ध अन्त्य गर्ने इच्छा र गाम्भीर्य देखाएको अवस्थामा कतारले आफ्नो भूमिका पुन सुरु गर्नेछ।"
हमासले सन् २०१२ देखि कतारको राजधानीमा आफ्नो राजनीतिक कार्यालय चलाइरहेको छ। ओबामा प्रशासनको अनुरोधपछि उक्त कार्यालय स्थापना गरिएको बताइन्छ।
"असल नियतका साथ सम्झौता गर्न अस्वीकार गरेको” कारण देखाउँदै हमासलाई दोहाको राजनैतिक कार्यालय बन्द गर्ने अमेरिकी आग्रहमा कतार सहमत भएको समाचार शनिवार कैयौँ समाचार संस्थाहरूले प्रकाशित गरेका थिए।
तर कतारको विदेश मन्त्रालयले ती विवरणहरू "गलत" भएको बताएको छ। हमासका अधिकारीहरूले पनि यो दाबी अस्वीकार गरेका छन्।
“कतारमा कार्यालय हुनुको मुख्य उद्देश्य वार्ताको सञ्चार सहजीकरण गर्नु हो, जसले विगतमा युद्धविराम गराउन पनि सफलता हासिल गरेको छ,” कतारले भनेको छ।
विकल्प कहाँ हुन सक्छ?
मध्यपूर्वको सानो तर प्रभावशाली देश कतार यो क्षेत्रमा अमेरिकाको प्रमुख सहयोगी देशमध्ये एक हो। कतारले अमेरिकालाई सैन्य अखडा बनाउने स्थान दिनुका साथै इरान, तालिबान र रुससँगका संवेदनशील वार्ताहरूमा पनि मध्यस्थताको भूमिका निर्वाह गरेको छ।
इजरेल र हमासबीच गाजामा एक वर्ष भन्दा लामो समयदेखि जारी युद्धमा युद्धविराम गराउने प्रयासस्वरुप भएका मध्यस्थतामा अमेरिका र इजिप्टसँगै कतारले पनि महत्त्वपूर्ण भूमिका निभाएको छ।
तर पछिल्लो समय सम्बन्धमा परिवर्तन आएका प्रमाणहरू बढ्दो छन्।
आफ्ना नेता याह्वा सिन्वारको मृत्युपछि हमासले दोहाको एउटा सानो हलमा दुई घण्टा शोक कार्यक्रम गरेको थियो भने हमास नेता इस्माइल हानियाको मृत्युमा तीन दिन शोक मनाएको थियो। त्यसमा कतारले उच्च सुरक्षा निगरानी गरेको थियो।

तस्बिर स्रोत, EPA
हमासले अल्पकालीन युद्धविरामको प्रस्तावलाई अस्वीकार गरेपछि मध्य अक्टोबरमा भएको वार्ताको सबैभन्दा पछिल्लो प्रयास पनि असफल भएको थियो।
यो समूहले सधैँका लागि युद्धको अन्त्य र गाजाबाट इजरेली सेनाको पूर्ण फिर्तीको सर्त राख्दै आएको छ।
वार्ताका प्रस्तावहरू अस्वीकार गरेको आरोप इजरेलमाथि पनि छ। पछिल्लो वार्ता प्रयास असफल भएपछि पूर्व रक्षामन्त्री योअफ गालान्टले सुरक्षा प्रमुखहरूको सल्लाह विपरीत युद्धविराम अस्वीकार गरेको आरोप प्रधानमन्त्री बेन्जमिन नेतन्याहूमाथि लगाएका छन्।
बाइडेन प्रशासनले ज्यानुअरीमा आफ्नो कार्यकाल समाप्त हुनु अघि कुनै प्रकारको शान्ति सम्झौताको मध्यस्थताका लागि दबावस्वरुप कतारबाट हमासको कार्यालय हटाउन भनेको जस्तो देखिन्छ।
यदि दोहाबाट बाहिरिन बाध्य पारिएको अवस्थामा हमासको राजनीतिक कार्यालय कहाँ हुन्छ भन्ने स्पष्ट छैन। हमासको प्रमुख सहयोगी इरान एक विकल्प हुनसक्छ। तर जुलाईमा तेहरानमा पूर्व नेता इस्माइल हानियाको हत्या पछि उसले इजरेलबाट हुनसक्ने खतराको जोखिम लिने सङ्केत देखिँदैन। इरानमा पश्चिममा देशहरूको कूटनीतिक माध्यम पनि उनीहरूले नपाउन सक्छन्।
अर्को सम्भावित विकल्प टर्की हुनसक्छ। नेटोको सदस्य राष्ट्र र सुन्नी बाहुल्य देश भएका कारण टर्कीले हमासको कार्यालय सञ्चालनका लागि सापेक्षिक रूपमा सुरक्षित आधार उपलब्ध गराउन सक्छ।
गत अप्रिलमा टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले इस्तानबुलमा हमासका नेता इस्माइल हानिया र उनको प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। जहाँ उनीहरूबीच "गाजामा अत्यावश्यक मानवीय सहायताको निर्बाध आपूर्ति र सो क्षेत्रमा दिगो शान्ति कायम गर्न के गर्न सकिन्छ" भन्नेबारे छलफल भएको थियो।
पूर्वी र पश्चिमी शक्तिहरूबीच मध्यस्थताको भूमिका खोजिरहेको राजधानी अङ्काराले पनि यो कदमलाई स्वागत गर्ने सम्भावना छ।
ओसामा हमदान, ताहिर अल-नुनु सहितका हमासका प्रमुख नेताहरू कैयौँ महिनादेखि इस्तानबुलमा बस्दै आएका छन्।
यसअघि छोटो अवधिका लागि मात्रै टर्की आउने उनीहरूको लामो बसाई विगतको भन्दा फरक छ।
नेतृत्वको सुरक्षाको विषय अहिले हमासका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको ठानिएको छ। किनभने यसका दुई शीर्ष नेताहरू पछिल्ला चार महिनामा मारिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








