हमासका शीर्ष नेताहरू मारिए तर गाजामा किन हुन सकेन युद्धविराम

तस्बिर स्रोत, Reuters
- Author, सोहा इब्राहिम
- Role, बीबीसी न्यूज अरेबिक
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामा युद्ध अझै “समाप्त नभएको” भनेर गरेका टिप्पणीले हमासका नेता याह्या सिन्वारको मृत्युपछि त्यहाँ एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध तत्काल समाप्त हुन्छ भन्ने अपेक्षा गर्नेहरूको आशामा तुषारापात भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनलगायतका पश्चिमा नेताहरूले सिन्वार मारिएपछि अब गाजा युद्धले नयाँ मोड लिनुपर्ने धारणा व्यक्त गरेका थिए। तर विभिन्न पर्यवेक्षकहरूका अनुसार लडाइँमा संलग्न दुवै पक्ष अनिच्छुक रहेकाले त्यहाँ कुनै प्रकारको शान्ति सम्झौता हुने सम्भावना निकै नै क्षीण छ।
इजरेलले सिन्वारको मृत्यु भएको पुष्टि गरेको केही घण्टापछि बोल्दै नेतन्याहूले त्यसलाई “उल्लेख्य कोसेढुङ्गा”को सङ्ज्ञा दिँदै लडाइँलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
हालैका साताहरूमा त्यहाँको द्वन्द्व झन् चर्केर गएको देखिन्छ। गाजामा हमाससँगको लडाइँ फैलिएर इजरेल अधीनस्थ वेस्टब्याङ्क, दक्षिणी लेबननमा इजरेली अतिक्रमणका साथै उक्त देशको ठूलो भूभागमा व्यापक बम हमलाहरूको चरणमा पुगेको छ।
यसैबीच लेबननी उग्रवादी समूह हिज्बुल्लाहले इजरेलविरुद्धको लडाइँलाई निरन्तरता दिने बताएको छ। उक्त समूहको समर्थक इरानले “प्रतिरोधको भावना” गाजामा उस्का प्यालेस्टिनी साझेदारमध्येका एक सिन्वार मारिएको घटनाले झन् सबल बन्न पुगेको घोषणा गरेको छ।

तस्बिर स्रोत, EPA
'अक्टोबर ७ मा भएको आक्रमणका योजनाकार'
सिन्वार इजरेलले सर्वाधिक खोजी गरिरहेका मानिसको सूचीमा शीर्ष स्थानमा थिए। सिन्वारलाई गत वर्ष अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको हमलाका पछाडिका एक महत्त्वपूर्ण व्यक्ति मानिन्थ्यो। त्यस घटनामा १,२०० जनाको ज्यान जानुका साथै २५१ जनालाई बन्धक बनाइएको थियो।
लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स (एलएसई) मा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक फवाज गेर्गेसले बीबीसीसँग कुरा गर्दै दुई पक्षबीचको आपसी अविश्वास र परस्परविरोधी उद्देश्यहरूका कारण युद्धविरामका लागि निकै थोरै आशा देखिएको छ।
उनका अनुसार इजरेली प्रधानमन्त्री उनको समग्र उद्देश्यमा एकदमै स्पष्ट छन्। “ याह्या सिन्वार मारिएको घटनाको खुसी मनाएपछि नेतन्याहूले लडाइँ जारी रहने कुरामा जोड दिएका थिए किनकि उनले भने जस्तो त्यहाँ पूर्ण विजय हासिल भइसकेको छैन। उनले भनेको जस्तो विजय हासिल हुन सबै बन्धकहरूको घरफिर्ती र हमासको पूर्ण पराजय हुनुपर्ने छ।”
‘गाजामा युद्ध समाप्त भएको छैन’
सामाजिक सञ्जाल 'एक्स'मा एउटा भिडिओ प्रस्तुत गर्दै नेतन्याहूले भने, "याह्या सिन्वार मारिएका छन्। तर यो गाजामा युद्धको अन्त्य नभए पनि अन्त्यको आरम्भ चाहिँ हो।”
प्राध्यापक गेर्गेस भन्छन्, "खासमा नेतन्याहूले भनेको के हो भने हमासले सैन्य प्रतिरोध गर्न बन्द गरेपछि मात्र युद्धको अन्त्य हुने छ। यसबाट उक्त प्यालेस्टिनी समूहसँग लडाइँ गर्नुबाहेक अन्य विकल्प छैन।”

तस्बिर स्रोत, Getty Images
गाजामा युद्धविराम वार्ता
प्राध्यापक गेर्गेस इजरेली प्रधानमन्त्रीको मुख्य उद्देश्य मध्यपूर्वमा भूराजनीतिक परिदृश्यको पुनर्लेखन हो भन्ठान्छन्। उनका अनुसार यही कारणले गर्दा नै सिन्वार मारिएपछि पनि गाजामा युद्धविरामसम्बन्धी चर्चाले नेतन्याहूको विस्तारित उद्देश्यहरू समेटेका थिएनन्।
उनका अनुसार त्यस्तो उद्देश्य हमासलाई पराजित गर्ने कार्यभन्दा पनि टाढा पुग्छ। त्यसमा वेस्टब्याङ्क, हिज्बुल्लाह र अन्ततः इरानलगायतका उक्त उग्रवादी समूहका समर्थक र साझेदारहरूलाई निसाना बनाउने कार्य पर्छ।
याह्या सिन्वारलाई बन्धक मुक्त गराउने सम्झौताका वार्तामा मुख्य अवरोधका रूपमा हेर्ने गरिन्थ्यो।
तर सेन्टर फर इन्टरन्याश्नल पोलिसी (सीआईपी) का कार्यकारी उपाध्यक्ष म्याथ्यू डस यदि सिन्वार वास्तवमै युद्धविरामका बाधक थिए भने अब त्यस्तो अवरोध हटिसकेको औँल्याउँछन्।
डसले इन्टरनेटको सामाजिक सञ्जाल 'एक्स'मा लेखेको सन्देशका अनुसार यसले संयुक्त राज्य अमेरिका र उसले समर्थन गर्ने साझेदारहरूलाई हालको द्वन्द्वले विस्तारित क्षेत्रीय सङ्कटको स्वरूप लिनबाट रोक्न एउटा अवसर प्राप्त भएको छ।
उनका अनुसार हमासको नेतृत्वका धेरैजसो सदस्यहरू अहिले गाजाभन्दा बाहिर मुख्य गरी कतारको राजधानी दोहामा बसोबास गर्छन्। त्यसबाट कुनै सहमतिमा पुग्न सजिलो हुन सक्ने उनको बुझाइ छ।
यद्यपि कुनै पनि सम्झौताले दिगो स्वरूप हासिल गर्नका लागि त्यसले युद्धलाई वास्तवमा नै अन्त्य गर्नुपर्छ भन्ने उनको धारणा छ। "अनि त्यस्तो सम्झौताले गाजामा इजरेली सैन्य उपस्थितिको नयाँ चरणको आरम्भ गर्न दिनु हुँदैन।"










