‘सिन्वारको मृत्यु हमासको निम्ति गम्भीर आघात तर होइन युद्धको अन्त्य’

तस्बिर स्रोत, Getty Images
- Author, जेरमी बोअन
- Role, अन्तर्राष्ट्रिय सम्पादक, बीबीसी न्यूज
याह्या सिन्वारको हत्या गाजामा हमासविरुद्धको युद्धमा इजेरलको अहिलेसम्मको सबैभन्दा ठूलो जीत हो। उनको मृत्यु हमासको निम्ति गम्भीर आघात हो। उनले सङ्गठनलाई लडाकु फौजमा रूपान्तरण गरेका थिए।
उनी योजनाबद्ध विशेष फौजी कारबाहीमा नभई दक्षिणी गाजाको रफाहमा इजरेली फौजसँगको आकस्मिक भिडन्तमा मारिएका हुन्।
घटनास्थलमा खिचिएको तस्बिरमा लडाकु पोसाकमा रहेका सिन्वार तोप आक्रमणको निशानामा परेको भवनको भग्नावशेषमा ढलेको अवस्थामा देखिन्छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सैनिकहरूको प्रशंसा गरेका छन्। उनले त्यसलाई ठूलो जीतको रूपमा अर्थ्याए तर युद्ध अन्त्य नभएको पनि स्पष्ट रूपमा उल्लेख गरेका छन्।
“हामीलाई जसले घात गर्छ उसले के भोग्नुपर्छ भन्ने कुरा आज हामीले प्रस्ट गरेका छौँ, एक पटक फेरी विश्वलाई कुकर्मीमाथिको असल जीत देखाएका छौँ,” नेतन्याहूले भनेका छन्, “तर मेरो प्रियजनहरू अझैँ युद्ध सकिएको छैन।”
ठूलो चुनौती आफूहरूको अगाडि विद्यमान रहेको उनले स्वीकार गरेका छन्।
“हामीमा सहनशीलता, एकता, साहस र दृढताको खाँचो छ, हामी सँगसँगै लड्ने छौँ र ईश्वरको कृपाले सँगै जित्ने छौँ,” नेतन्याहूले उल्लेख गरेका छन्।
गाजामा युद्धको समर्थन गर्ने नेतन्याहू र इजरेलको बहुसङ्ख्यक हिस्सा जीत चाहन्छ।
प्रधानमन्त्रीले हमासको राजनीतिक र सैन्य शक्ति नष्ट गर्ने र बन्धकहरूलाई घर फर्काउने युद्धको लक्ष्य रहेको पटक पटक दोहर्याउँदै आएका छन्।
त्यो प्राप्त भएको छैन बरु एक वर्ष लामो युद्धमा कम्तीमा ४२ हजार प्यालिस्टिनीहरू मारिएका छन् र गाजाको ठूलो भाग भग्नावशेष बनेको छ।
तर बाँकी बन्धकहरू मुक्त भएका छैनन्, हमास लडिरहेको छ र उसले कहिले काहीँ इजरेली फौजलाई मारिरहेका छन्।

तस्बिर स्रोत, Reuters
सिन्वारको मृत्यु इजरेलले चाहेको जीत हो। तर नेतन्याहूले युद्धका अन्य लक्ष्य पूरा भएको दाबी नगर्दासम्म युद्ध उनले भने जसरी जारी रहनेछ।
याह्या सिन्वार गाजा स्ट्रीपको खान युनीसस्थित शरणार्थी शिविरमा सन् १९६२ मा जन्मिएका थिए।
सन् १९६७ को मध्यपूर्व युद्धमा इजिप्टबाट इजरेलले गाजा कब्जामा लिँदा उनी पाँच वर्षका थिए।
उनको परिवार सात लाख प्यालिस्टीहरूमध्ये थिए जो सन् १९४८ को युद्धमा इजरेली फौजद्वारा घर छाड्न बाध्य बनाइएका थिए वा भागेका थिए।
उमेरले उनी दुई दशकको हुँदा इजरेलद्वारा आफ्नो गुप्तचरीको निम्ति काम गर्ने चारजना प्यालेस्टिनीको हत्या गरेको आरोपमा उनलाई दोषी ठहर्याएको थियो।
जेलमा २२ वर्ष बिताउँदा उनले हिब्रु भाषा सिके, आफ्ना शत्रुहरूबारे अध्ययन गरे, उनीहरूविरूद्ध कसरी लड्ने भन्ने विषयमा पनि तयारी गरे भन्ने विश्वास गरिन्छ।
उनी जेलमा छँदा इजरेलसँग उनको डीएनएको नमुना र दाँतसम्बन्धी विवरणहरू थिए। जसको आधारमा इजरेलीहरू उनको शरीर पहिचान गर्न सक्थे।
सन् २०११ मा एकजना इजरेली सेनासँग साटासाट गर्दा रिहा गरिएका एक हजारभन्दा धेरै प्यालेस्टिनीहरूमा उनी पनि एक थिए।
गत वर्षको अक्टोबर ७ तारिखमा सतर्कतापूर्वक योजनाअनुसार गरिएको श्रृङ्खलाबद्ध हमलाहरूमा सिन्वार र उनका मानिसहरूले इजरेललाई अहिलेसम्मकै सबैभन्दा ठूलो पराजय र सामूहिक आघात बेहोर्न बाध्य बनाएका थिए जुन अहिले पनि गहिरो ढङ्गले महसुस गरिन्छ।
करिब १२ सय इजरेलीको हत्या, अपहरण र उनीहरूका दुस्मनको मनाएको उत्सवले कैयौँ इजरेलीहरूलाई नाजी नरसंहारको झल्को महसुस गराएको थियो।
बन्दी साटासाटबारे सिन्वारको आफ्नै अनुभवले पनि अपहरणको महत्त्व र शक्तिबारे उनलाई आश्वस्त तुल्याएको हुनुपर्छ।
गाजामा बाँकी रहेका १०१ जना बन्धकका परिवारजन तेलअभिबका चोकमा एक वर्षदेखि भेला हुँदै आएका छन्।
उनीहरूले आफ्ना मानिसहरूलाई घर फर्काउन नयाँ वार्ता प्रक्रिया अघि बढाउन इजरेली सरकारलाई आग्रह गर्दै आएका छन्।
इजरेलले अपहरितहरूमध्ये आधा जतिको हत्या भइसकेको हुनसक्ने बताएको छ।

तस्बिर स्रोत, Getty Images
कतिपय इजरेलीहरू आफ्नो हित रक्षाको निम्ति नेतन्याहूले गाजामा युद्ध लम्ब्याउन चाहेको विश्वास गर्छन्।
जसले गर्दा सिन्वार र उनका मानिसहरूलाई इजरेलमा पस्न दिने गरी भएको सुरक्षा विफलतामा आफ्नो हिस्साको लेखाजोखा अनि गम्भीर भ्रष्टाचारको अभियोगसम्बन्धी सुनुवाइको अनन्तकालसम्म स्थगन गर्न सकियोस् भन्ने नेतन्याहूको चाहना रहेको हुनसक्ने ती इजरेलीहरू ठान्छन्।
तर इजरेली प्रधानमन्त्रीले सबै खालका आरोपहरू अस्वीकार गर्छन्। केवल गाजामा हमासमाथि ‘सम्पूर्ण जीत’मा उनले जोड दिँदै त्यसले इजरेलको सुरक्षा पुनर्स्थापित गर्ने बताएका छन्।
इजरलेले अपवाद छाड्ने हो भने आफ्ना सैनिकसँगको निगरानीयुक्त भ्रमणबाहेक अन्य संस्थाहरूलाई जस्तै बीबीसीलाई पनि गाजामा प्रवेश गर्न दिँदैन।
सिन्वारको जन्मस्थल खान यूनिसमा विश्वासिला स्थानीय स्वतन्त्र पत्रकारले बीबीसीको निम्ति गरेको अन्तर्वार्तामा प्यालेस्टिनीहरू विद्रोही सुनिए। उनीहरूले युद्ध जारी रहने बताए।
“यो युद्ध सिन्वार, हानिया वा मशालमाथि निर्भर छैन, न कुनै अन्य नेता वा अधिकारीहरूमाथि नै,” डा. रमादान फरिसले भने।
“यो प्यालेस्टिनी जनता निमिट्यान्न पार्ने उद्देश्य लिएको युद्ध हो, हामी सबैलाई थाहा छ, सबैले बुझेका छौँ। यो मुद्दा सिन्वार वा अरू कसैकोभन्दा निकै ठूलो छ।”

अदनान अशौरले सिन्वारको मृत्युलाई लिएर केही मानिस दुखी भएको र अन्य केहीको उदासीन रहेको बताए। उनलाई सिन्वारको मृत्युले हमासलाई प्रभाव पार्ला भनी सोधियो।
"मेरो बिचारमा पार्दैन, मलाई प्रस्ट पार्न दिनुस्: हमास सिन्वार मात्रै होइनन्… यो समग्र जनताको हो।"
गाजामा युद्ध जारी छ।
सन् १९९० को दशक यता इजरेलद्वारा हमासका नेता मारिँदै आएका छन् तर प्रत्येकका उत्तराधिकारी हुने गरेका छन्।
इजरेलले सिन्वारको मृत्युमा खुसी मनाइरहँदा हमासले अझैँ उसका बन्धकहरूलाई राखेको छ र उ लडिरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








