नेपालको संसद्‌मा राष्ट्रसङ्घका महासचिवको चार महत्त्वपूर्ण अभिव्यक्ति

राष्ट्रसङ्घका महासचिव

तस्बिर स्रोत, Reuters

चार दिने भ्रमणमा नेपाल आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनका गम्भीर असरसँग नेपालले जुझ्नुपरिरहेको भन्दै त्यसका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

नेपालको संसद्का दुवै सदनलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रियादेखि राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा नेपाली सुरक्षाकर्मीहरूले पुर्‍याएको योगदानको समेत चर्चा गरे।

उनले शान्ति प्रक्रियाको पुरा हुन बाँकी सङ्क्रमणकालीन न्याय सम्बन्धी कामहरू पीडितका सरोकार, अन्तर्राष्ट्रिय मापदण्ड र नेपालकै सर्वोच्च अदालतका निर्णयहरूलाई आत्मसात् गर्दै अघि बढाइनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रसङ्घका महासचिवले काठमाण्डूको नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा उठाएका प्रमुख चार विषय यस्ता छन्। 

१. जलवायु परिवर्तनले निम्त्याएको सङ्कटसँग जुझ्न नेपाललाई सहयोग गर्न आह्वान

आफ्नो सम्बोधनको सुरुवातमा नै संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपाल भ्रमणबाट आफूले धेरै कुरा सिकेको उल्लेख गर्दै जलवायु परिवर्तन विरूद्धको सङ्घर्ष र नेपालको विकासका लागि आफूले सिकेको कुरालाई प्रयोग गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए।

जलवायु परिवर्तनका चुनौती खेप्नु परिरहेका देशहरूमा नेपाल अग्रणी रहेको बताएका उनले नेपालले कूल शून्य उत्सर्जन हासिल गर्ने दिशामा प्रगति गरेको बताए।

नेपालको करिब आधा भूभागमा वन क्षेत्रका कारण हरियाली रहेको चर्चा गरेका उनले विपद्को पूर्व चेतावनी दिने प्रणालीप्रति पनि प्रसन्नता जनाए।

तर नेपालमा अन्य विकासशील देशहरूजस्तै सङ्कटहरू बढिरहेको भन्दै उनले नेपाल बाढी पहिरो जस्ता मनसुनी प्रकोप, हिमनदी पग्लनेजस्ता विपद्हरूको चपेटामा परेको उनले सुनाए।

राष्ट्रसङ्घका महासचिव

तस्बिर स्रोत, REUTERS

सगरमाथा क्षेत्रको भ्रमण गरेर आफूले प्रत्यक्ष रूपमा नेपालले भोगेको जलवायु सङ्कट देखेको उल्लेख गर्दै उनले नेपाललाई सघाउनु विकसित देशहरूको दायित्व भएको पनि बताए।

उनले भने, “नेपाल अहिले सबैभन्दा बढी दुःख पाउने मध्येको देश हो। तर नेपालका हिमनदीहरू सुक्दै गएकाले दक्षिण एशियाका अन्य देशहरू पनि नराम्रोसँग पीडित बन्नसक्नेछन्।”

उनले नेपाल र अन्य विकासशील देशहरूलाई अझ ठूलो परिमाणमा सहयोग आवश्यक रहेको भन्दै आर्थिक सहयोग गर्ने भनी प्रतिबद्धता जनाएका देशहरूले आफ्नो वाचा व्यवहारमा उतार्नुपर्ने बताए। 

२. सङ्क्रमणकालीन न्याय र पीडित मैत्री व्यवस्थाको अपिल

राष्ट्रसङ्घका महासचिव

तस्बिर स्रोत, Reuters

नेपालको शान्ति प्रक्रियामा हालसम्म गतिरोध खेपिरहेको सङ्क्रमणकालीन न्यायको विषयमा पनि राष्ट्रसङ्घका महासचिवले आफ्नो धारणा राखेका थिए।

‘नेपालीले नेतृत्व लिएको’ उक्त प्रक्रिया अघि बढाउने अन्तिम चरणको काम भइरहेको उल्लेख गर्दै महासचिव गुटेरसले थपे, “सङ्क्रमणकालीन न्यायले दीर्घकालीन शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर हामी सबैलाई थाहा छ यो सजिलो छैन। स्वभावैले यो जटील प्रक्रिया हो।”

 "पीडितहरूलाई केन्द्रमा राखेर समावेशी प्रक्रिया अवलम्बन गर्दामात्रै यो सफल हुने" बताएका उनले अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशलाई सम्मान गरिनुपर्ने दोहोर्‍याए।

"नेपालीले नेतृत्व गर्ने त्यस्तो प्रक्रियालाई समर्थन गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको" उनको भनाई थियो।

कतिपय द्वन्द्व पीडितहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव सामु आफ्ना सरोकारहरू प्रत्यक्ष भेटेर राख्न चाहेका विवरणहरू प्रकाशमा आएका थिए।

३. भूराजनीतिक तनावको चर्चा

संसद्‌मा सम्बोधन गर्दै महासचिव गुटेरस

तस्बिर स्रोत, RSS

इजरेल र हमासबीच मध्यपूर्वमा जारी युद्धका माझ नेपालबाट पनि विश्व शान्तिको लागि अपिल गरेका राष्ट्रसङ्घका महासचिवले "विश्वव्यापी विभाजन गहिरो र खतरनाक बनेको" चर्चा गरेका थिए।

उनले भने, “शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धामा साना देशहरूलाई त्यसै नोक्सान भइरहेको छ।” भारत र चीनजस्ता ठूला शक्तिको बीचमा रहेर आफ्नो सार्वभौमसत्ता रक्षा गर्न आफैँ बाटो तय गरेको भन्दै उनले पछिल्लो दुई दशकको नेपालको यात्रा उत्तम रहेको बताए।

उनले इजरेलमा हमासको आक्रमणमा मारिएका १० जना नेपालीका परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हराइरहेका विपीन जोशी सकुशल फर्कने आशा पनि व्यक्त गरे।

४. नेपालले हासिल गरेका उपलब्धिको चर्चा

प्रधानमन्त्री प्रचण्डको निम्तोमा उनले नेपालको भ्रमण गरेका हुन्

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रधानमन्त्री प्रचण्डको निम्तोमा उनले नेपालको भ्रमण गरेका हुन्

राष्ट्रसङ्घ समेतको सहयोग लिएर नेपाल एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै शान्ति प्रकृयामा प्रवेश गरेको थियो। महासचिव गुटेरसले उक्त प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसङ्घ गौरवान्वित रहेको बताए। 

उनले गणतन्त्र लगायतका उपलब्धिको चर्चा गर्दै गम्भीर आर्थिक सङ्कटहरू रहेपनि दिगो विकासका लक्ष्यहरूमा नेपालले महत्त्वपूर्ण प्रगतिहरू गरिरहेको बताए। उनले महिला समावेशीकरण सहितका क्षेत्रमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गरे।

 विश्व शान्तिका लागि शान्ति सैनिकहरू उपलब्ध गराएर नेपालले सहयोग गरेको भन्दै मुक्तकन्ठले प्रशंसा गरेका उनको अनुरोधपछि सांसदहरूले बैठक चलिरहँदा नै दिवङ्गत शान्ति सैनिकको सम्मानमा मौन धारण गरेका थिए। 

उनले भने, “नेपाल विश्वको मित्र हो। विश्व नेपालको अझ राम्रो साथी बन्नुपर्छ। त्यसलाई वास्तविकतामा बदल्न संयुक्त राष्ट्रसङ्घले लड्न छाड्ने छैन।”