संयुक्त राष्ट्रसङ्घ के हो, विश्वभरिका नेता किन महासभामा जान्छन्

संयुक्त राष्ट्रसङ्घमा झन्डाहरू

तस्बिर स्रोत, Getty Images

अमेरिकाको न्यूयोर्कमा विश्वभरिका नेताहरू उपस्थित हुने संयुक्त राष्ट्रसङ्घको महासभामा अन्तर्राष्ट्रिय विकास र जलवायु परिवर्तनको सामना गर्ने विषयबारे छलफल हुने छ।

युक्रेन युद्ध पनि यो महासभामा छलफल हुने प्रमुख विषयवस्तु बन्ने ठानिएको छ।

संयुक्त राष्ट्रसङ्घ र यसको महासभा के हो?

संयुक्त राष्ट्रसङ्घ विश्वमा शान्ति स्थापना गर्ने उद्देश्यले दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो।

यसमा नेपालसहित विश्वका १९३ देशहरू पूर्ण सदस्य छन् भने दुईवटा गैरसदस्य राज्य छन्। ती दुई राज्य भ्याटिकन र प्यालेस्टिन हुन्।

संयुक्त राष्ट्रसङ्घको महासभा यसको मुख्य बैठक हो र यसले यो संस्थाले गर्ने कामहरूबारे निर्णय लिन्छ।

राष्ट्रसङ्घको यो बैठकमा मात्रै यसका सबै १९३ सदस्य नै सहभागी हुने अवसर पाउँछन्।

महासभा प्रत्येक वर्षको सेप्टेम्बर महिनामा राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजना हुन्छ।

यो वर्ष महासभा सेप्टेम्बर ५ मा सुरु भएको छ। तर विश्वका अधिकांश नेताहरू भने सेप्टेम्बर १८ बाट सुरु हुने मुख्य बैठकमा मात्रै उपस्थित हुन्छन्।

महासभामा कुनकुन विषयमा छलफल हुन्छ?

महासभाका क्रममा सेप्टेम्बर १८ र १९ मा दिगो विकाससम्बन्धी सम्मेलन आयोजना हुँदै छ। यो सम्मेलनमा देशहरूले राष्ट्रसङ्घको दिगो विकास लक्ष्य कसरी हासिल गर्ने भन्नेबारे छलफल गर्छन्।

यसमा विश्वको भोकमरी र गरिबी कसरी अन्त्य गर्ने, विश्वमा आयस्रोत र शिक्षामा सुधार गर्ने के गर्ने जस्ता विषय पर्छन्। स्वच्छ पानी र सरसफाइमा पहुँच पनि यसमा समावेश हुने अर्को विषय हो।

महासभामाको मुख्य छलफल सेप्टेम्बर १९ देखि २३ सम्म हुन्छ र आवश्यकता हेरेर सेप्टेम्बर २६ सम्म जारी रहन्छ।

यी सत्रहरूमा राष्ट्रसङ्घको सदस्य रहेका प्रत्येक देशका प्रतिनिधिहरूले आफ्नो चासो वा हितका विषयहरू उठाउन पाउँछन्।

जलवायु परिवर्तनसम्बन्धी ‘द क्लाइमेट एम्बिशन समिट’ सेप्टेम्बर २० मा आयोजना हुन्छ। यसको उद्देश्य जलवायु परिवर्तनका चुनौती सामना गर्ने कदमहरूमा तीव्रता दिने हो।

आर्थिक विकासका लागि स्रोत जुटाउने, महामारीको व्यवस्थापन गर्ने र आणविक निरस्त्रीकरण पनि सम्मेलनहरू महासभाका क्रममा आयोजना हुन्छन्।

महासभाका अध्यक्ष प्रत्येक वर्ष चयन गर्ने अभ्यास छ।

यो वर्ष ट्रिनिडाड र टोबागोका कूटनीतिज्ञ डेनिस फ्रान्सिसले महासभाको अध्यक्षता गर्दै छन्।

महासभाबाट के परिणाम आउन सक्छ?

राष्ट्रसङ्घ महासभाका प्रस्ताव कानुनी रूपमा बाध्यकारी नहुने भए पनि त्यसले विश्वको धारणाको प्रतिनिधित्व गर्ने ठानिन्छ।
तस्बिरको क्याप्शन, राष्ट्रसङ्घ महासभाका प्रस्ताव कानुनी रूपमा बाध्यकारी नहुने भए पनि त्यसले विश्वको धारणाको प्रतिनिधित्व गर्ने ठानिन्छ

संयुक्त राष्ट्रसङ्घको महासभाले विश्वभरिका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूलाई एकैठाउँ भेला हुने अवसर प्रदान गर्छ।

यसलाई कतिपयले “तीव्र कूटनीतिक भेट” हुने कार्यक्रम पनि भनेका छन्।

महासभाको सबैभन्दा उल्लेख्य परिणाम यसको मुख्य बैठकको सेरोफेरोमा हुने विश्वनेताहरूको बैठकहरूबाट आउँछ।

महासभामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुने र उनले राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा सम्बोधन गर्ने ठानिएको छ।

यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिन्पिङ र फ्रान्सका राष्ट्रपति इमानूएल माक्रोँ सहभागी नहुने भएका छन्।

यूकेका प्रधानमन्त्री ऋषि सुनक चाहिँ उपस्थित हुने निश्चित भएको विवरण आएका छन्।

राष्ट्रसङ्घको महासभामा भाग लिन नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्क जाँदै छन्।

राष्ट्रसङ्घको महासभामा छलफल कसरी हुन्छ?

महासभामा को पहिले बोल्ने भन्नेबारे पनि छुट्टै परम्परा छ। सबैभन्दा पहिले बोल्ने पालो ब्रजिलका राष्ट्रप्रमुख वा उनका प्रतिनिधि नेताको आउँछ। त्यसपछि संयुक्त राज्य अमेरिकाले पालो पाउँछ।

ब्रजिलले सम्बोधनको पालो सबैभन्दा पहिले पाउनुको पनि रोचक पाटो छ।

यसको प्रारम्भिक वर्षहरूमा कुनै पनि देशहरू महासभामा पहिले बोल्न अघि सरेनन्। त्यसमा ब्रजिल अघि सर्‍यो र बिस्तारै त्यो नियमितता बन्यो।

The chamber at the United Nations headquarters in New York
Getty Images
तथ्याङ्कमा संयुक्त राष्ट्रसङ्घ

  • सन् १९४५मा स्थापित

  • ५१सुरुका सदस्य

  • १९३सन् २०२३ सम्मका सदस्य

  • गैरसदस्य राज्य

  • सन् २०११मा दक्षिण सुडान सबैभन्दा कान्छो सदस्य

स्रोत: UN

महासभामा प्रत्येक देशका प्रमुख वा प्रतिनिधिले सम्बोधन गर्ने पालो पाउँछन्। उनीहरूले राष्ट्रसङ्घले पहिचान गरेका छ वटामध्ये कुनै पनि भाषा प्रयोगको अनुमति पाउँछन्।

राष्ट्रसङ्घले मान्यता दिएका छ वटा भाषाहरू अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, रुसी र स्पेनिश हुन्।

महासभामा सम्बोधन गर्ने वक्ताहरूलाई उनीहरूको भाषण १५ मिनेट भित्रमा टुङ्ग्याउन भनिएको हुन्छ तर अधिकांशले यो समयको पालना गर्दैनन्।

महासभामा सबैभन्दा लामो भाषणको इतिहास क्युवाका नेता फिडेल क्यास्ट्रोले बनाएका छन्। उनले सन् १९६० मा महासभामा साढे चार घण्टा लामो सम्बोधन गरे।

प्रतिनिधिहरू महासभाको बैठक कक्षमा उनीहरूको नामको अङ्ग्रेजी अक्षरका आधारमा वर्णानुक्रममा बस्छन्। तर पहिलो सिटमा बस्ने देश सधैँ राष्ट्रसङ्घका महासचिवले चयन गर्छन्।

यो वर्ष पहिलो कुर्सीमा नोर्थ म्यासडोनिआका नेता बस्ने तय भएको छ।

महासभाका केही अविस्मरणीय घटना के हुन्?

सन् २०१९ मा स्वीडनकी १६ वर्षीया पर्यावरण अभियानकर्मी ग्रेटा टून्बेर्गले राष्ट्रसङ्घको ‘क्लाइमेट एक्शन मीट’मा विश्वका नेताहरूका अगाडि सम्बोधन गरेकी थिइन्।

“तपाईँहरूले खोक्रो आश्वासन दिएर मेरो सपना र बालापन हर्नुभएको छ। तपाईँहरू कसरी यस्तो आँट गर्नुभयो?” उनले भनेकी थिइन्।

जलवायु सम्मेलनमा बोल्दै ग्रेटा टून्बेर्ग

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ग्रेटा टून्बेर्गले विश्वका नेताहरूको ध्यानाकृष्ट गराएकी थिइन्

त्यसअघि सन् २०१७ मा अमेरिकाका तात्कालिक राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ अनलाई “आत्महत्याको बाटोमा रहेका रकेटम्यान” भनेका थिए।

सन् २००९ मा लिबियाका नेता कर्नेल गद्दाफीले सहभागीहरू सम्मेलनकक्ष छोडेर बाहिर गएको विषयमा मात्रै डेढ घण्टा बोलेका थिए।

उनले प्रमुख शक्तिराष्ट्रहरूलाई राष्ट्रसङ्घको बडापत्रका मान्यता मिचेको आरोप लगाउँदै त्यसको एक प्रति भुइँमा फालिदिएका थिए।

सन् २००६ मा भेनिज्वेलाका तात्कालिक राष्ट्रपति ह्युगो चाभेजले अमेरिकी समकक्षी जोर्ज डब्यू बुशलाई “दुष्ट” भनेका थिए।

उनले त्यसको अघिल्लो दिन बुश उभिएर बोलेको मञ्च भोलिपल्टसम्म पनि “गन्धक जस्तो गन्हाइरहेको” भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।