युक्रेन युद्धबारे राष्ट्रसङ्घमा रुसविरूद्ध नेपाल, महत्त्वपूर्ण प्रस्तावमा नेपालले के आधारमा मतदान गर्छ?

अमृत राई

तस्बिर स्रोत, UN Video Screengrab

संयुक्त राष्ट्रसङ्घको महासभामा युक्रेनका चार वटा क्षेत्र आफ्नोमा गाभ्ने रुसी प्रयासहरूको निन्दा गरिएको एक प्रस्तावको पक्षमा नेपाल उभिनुलाई "युद्धबाट आक्रान्त विश्वमा नेपालले अडान स्पष्ट पारेको" रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले बीबीसीलाई बताएका छन्। 

बुधवार राष्ट्रसङ्घ महासभामा भएको त्यस्तो मतदानमा उक्त प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए। 

नेपालका छिमेकी चीन र भारतसहितका ३५ देशहरू मतदान प्रक्रियामा सहभागी भएनन्। 

रुससहित अन्य चारवटा देश बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले सो प्रस्तावलाई अस्वीकार गरे। 

"कुनै पनि देशको भूमिलाई सैन्य रूपमा बलात् कब्जा गरेर त्यहाँ अन्तर्राष्ट्रिय रूपमा मान्यता नहुने खालको जनमत सङ्ग्रह गराएर जुन गाभ्ने काम भयो त्यो राष्ट्रसङ्घको बडापत्र र नेपालको संविधानमा रहेको विदेश नीति सम्बन्धी मर्म विपरीत समेत छ," प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले भने।

"यो सामान्य घटना होइन।"

महासभाको उक्त मतदान साङ्केतिक भए तापनि युक्रेन अतिक्रमण सुरु भएपछि यसपाली रुसविरुद्धको सबैभन्दा धेरै मत खसेको छ। 

रुस-युक्रेन मामिलामा नेपाल

बुधवार राष्ट्रसङ्घमा बोल्दै नेपालका स्थायी प्रतिनिधि अमृत राईले नेपालको अडान "स्पष्ट रूपमा संयुक्त राष्ट्रसङ्घको मान्यताअनुरूप सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र कुनै पनि आक्रमणको विरोधको सिद्धान्त अनि त्यसलाई सबै सदस्य राष्ट्रहरूले हरसमय पालना गर्नुपर्ने" रहँदै आएको बताए।

"त्यसमा कुनै यदि, जस्तै वा तर हुन सक्दैन।"

युक्रेन युद्ध

तस्बिर स्रोत, UN

तर यसअघि एप्रिल पहिलो साता रुसलाई मानवअधिकार परिषद्मा रोक्ने एउटा प्रस्तावमा नेपाल मतदानमा सहभागी भएको थिएन। 

मे महिनाको दोस्रो सातामा मानवअधिकार परिषद्भित्र रुसी हमलाबाट युक्रेनको मानवअधिकारको खस्कँदो अवस्थाबारे समेत नेपालले प्रस्तावको पक्षमा मतदान गरेको थियो। 

मार्च पहिलो साता रुसलाई युक्रेनबाट हट्न माग गर्दै गरिएको एक मतदानमा नेपालले पक्षमा मतदान गरेको थियो। 

सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नोमा गाभेपछि भएको मतदानमा चाहिँ नेपाल मतदान प्रक्रियामा सहभागी भएको थिएन। 

मतदानका आधार

नेपालले अन्तर्राष्ट्रिय मामिलामा राष्ट्रसङ्घको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू चिढ्याउने जोखिम खासै नलिने गरेको बताइन्छ।

भारत र चीनजस्ता छिमेकीहरूले लिने पक्षधरतालाई समेत आफ्नो धारणा बनाउनुको एउटा आधार मान्ने गरेको परराष्ट्र अधिकारीहरूले बताउने गरेका छन्। 

देशहरूका आन्तरिक मामिलामा पक्षधरता नलिने समेत नेपालको पुरानो मान्यता रहेको बताइन्छ।

राष्ट्रसंघ
तस्बिरको क्याप्शन, राष्ट्रसङ्घ महासभाका प्रस्ताव कानुनी रूपमा बाध्यकारी नहुने भए पनि त्यसले विश्वको धारणाको प्रतिनिधित्व गर्ने ठानिन्छ।

गत साता मात्र चीनको सिन्जियाङको मानवअधिकार अवस्था सम्बन्धी मतदानमा नेपाल मानवअधिकार परिषद्मा चीनको पक्षमा उभिएको थियो। 

अरुण सुवेदी भन्छन्, "सिन्जियाङको विषयमा हामीले त्यो राष्ट्रहरूसँगको छलफलको विषय बनाइनु हुन्न भनेर चीनको पक्षमा मतदान गर्‍यौँ। परम्परागत रूपमा मतदानमा सहभागी नहुने उक्त विषयमा हामी केही फेरिएका हौँ।"

नेपालले असंलग्नताको मान्यतालाई समेत राष्ट्रसङ्घमा मतदान गर्ने आधार बनाउने गर्छ। 

तर त्यसका परिवेशहरू फेरिएको बताउँदै "कुनै सैन्य गठबन्धनमा सहभागी नहुने" कुरा बाहेक अन्यमा घटना विशेषमा विचार गर्नुपर्ने अवस्था रहेको सुवेदी बताउँछन्। 

"होइन भने हाम्रो राष्ट्रिय चासो र अन्तर्राष्ट्रिय शाश्वत मान्यताका विपरीत कहीँ कतै केही परिघटना भए त हामी कसरी असंलग्न रहन सक्छौँ?"

केही महत्त्वपूर्ण घटनाक्रम

  • सन् २०१९: म्यानमारमा भएका मानव अधिकार हननको विरोधमा खेद प्रस्ताव पारित गर्दा नेपाल मतदानमा सहभागी भएन
  • सन् २०१७: स्पेनको एक स्वायत्त प्रशासनिक र राजनीतिक क्षेत्र क्याटलोनियाको स्वतन्त्रताप्रति नेपालको असहमति
  • सन् २०१४: युक्रेन अधीनस्थ क्राइमियाको रूसमा गराइएको विलयको बेला राष्ट्रसङ्घको महासभामा भएको युक्रेनको भौगोलिक अखण्डता सम्बन्धी प्रस्तावमा नेपाल मतदानमा सहभागी भएन
  • सन् २००८: मा सर्बियाबाट अलग्गिएको कोसोभोलाई त्यहाँ विभाजित अन्तर्राष्ट्रिय परिवेशका कारण नेपालले मान्यता दिएन
  • सन् १९७५: भारतमा गराइएको सिक्किमको विलयको नेपालद्वारा विरोध
  • सन् १९७१: ठूला राष्ट्रको असहमतिबीच पनि भारतसँगको सम्बन्धका कारण पाकिस्तानबाट टुक्रिएको बाङ्ग्लादेशलाई मान्यता
  • सन् १९५६: ब्रिटेन, फ्रान्स र इजरायलले इजिप्टमाथि गरेको हमलाको विरोध