राष्ट्रसङ्घका महासचिव भन्छन्, हमासको आक्रमणमा बेपत्ता विपीन जोशी घर फर्किऊन्

तस्बिर स्रोत, RSS
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले इजरेलमा हमासको आक्रमणका क्रममा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशी सुरक्षित रूपमा नेपाल फर्कन पाउन भन्ने आफ्नो कामना रहेको बताएका छन्।
उनले यसै महिनाको सुरुमा इजरेलमा हमासले गरेको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका १० नेपालीका परिवारप्रति समवेदना पनि प्रकट गरे।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि संवाददाताहरूसँग कुरा गर्दै महासचिव गुटेरसले आफू कतारबाट भर्खरै नेपाल आएको उल्लेख गर्दै हमासले बन्धक बनाएका सबै निर्सत रिहा हुनुपर्ने बताए।
उनले इजरेलको आक्रमणका कारण उत्पन्न मानवीय सङ्कटले गाजाको अवस्था अत्यन्तै अस्तव्यस्त भएको भन्दै कुनै पनि पक्षबाट गैरसैनिक क्षेत्रमा हुने आक्रमण अस्वीकार्य रहेको दोहोर्याए।
राष्ट्रसङ्घका महासचिवले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्पूर्ण पक्षले पूर्ण रूपमा पालना गर्नुपर्ने बताउँदै युद्धविरामको लागि अपिल गरेका छन्।
राष्ट्रसङ्घका महासचिवले के के भने?

तस्बिर स्रोत, RSS
उनले नेपालबारे टिप्पणी गर्ने क्रममा जलवायु परिवर्तनदेखि सङ्क्रमणकालीन न्यायसम्मका विषयको चर्चा गरेका थिए।
उनले नेपाल र राष्ट्रसङ्घबीचको गहिरो मित्रता र सहकार्यलाई बढावा दिन आफू नेपाल आएको बताए।
साथै उनले पछिल्लो २० वर्षमा नेपालले हासिल गरेका गणतन्त्र र विकासका उपलब्धिहरू उल्लेखनीय रहेको जनाउँदै सङ्क्रमणकालीन न्यायसहितका विषयमा प्रगति हुने विश्वास व्यक्त गरे।
“नेपालले अति कम विकसित देशबाट स्तरोन्नति गर्ने र शान्ति प्रक्रियाका अन्तिम चरणका कामहरू सम्पन्न गर्न लागेकाले अबका केही वर्ष निर्णायक हुनेछन्,” उनले भने।
उनले सङ्क्रमणकालीन न्याय प्रणालीले पीडितलाई सहयोग गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय सिद्धान्त र नेपालको सर्वोच्च अदालतका निर्णयहरू स्वीकार गर्ने प्रक्रियालाई राष्ट्रसङ्घले सहयोग गर्ने बताए।
साथै उनले उल्लेख्य मात्रामा शान्ति सैनिकहरू उपलब्ध गराएर विश्व शान्तिका लागि योगदान दिएको भन्दै नेपालको मुक्तकण्ठले प्रशंसा गरे।

तस्बिर स्रोत, President's Office, Nepal
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिवसँग आफूले जलवायु परिवर्तनका कारण नेपालमा देखा परेका नकारात्मक असरबारे छलफल गरेको र त्यससँग जुझ्न अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घबाट अझ ठूलो सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए।
उनले सङ्क्रमणकालीन न्याय प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै त्यसलाई टुङ्गोमा पुर्याउन संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतमा गुटेरसको महत्त्वपूर्ण भूमिका हुने धारणा राखेका थिए।
प्रधानमन्त्री प्रचण्डले इजरेलको घटनाक्रमबारे राष्ट्रसङ्घका महासचिवसँगको भेटवार्तापछि कुनै धारणा राखेनन्।
तर आइतबार इजरेलस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीमध्ये थप तीन जनाको शव पहिचान भएको जनाएको छ।
योसँगै शव पहिचान हुने नेपालीको सङ्ख्या ८ पुगेको अधिकारीहरूले जनाएका छन्।
नेपाली दूतावासले सम्पर्कविहीन रहेका विपीन जोशीको खोजीका लागि उपलब्ध सम्पूर्ण संयन्त्रहरू प्रयोग गरिएको जनाएको छ।

तस्बिर स्रोत, RSS
मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए।
प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उनले आइतवारै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए।
महासचिव गुटेरेसले आइतवारै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
नेपालको शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्ने र जलवायु परिवर्तनसहित अल्पविकसित देशहरूले भोगिरहेका चुनौतीबारे ध्यानाकर्षण गराउने उद्देश्य राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणले राखेको हुनसक्ने विज्ञहरूले बताइरहेका छन्।
भ्रमणबारे अधिकारीहरू के भन्छन्?

तस्बिर स्रोत, Reuters
उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए।
मन्त्रालयले आइतवार जारी गरेको वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हार्दिक निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस नेपालको चार दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाण्डू आइपुग्नु भएको छ।”
“महासचिवलाई काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा औपचारिक स्वागत गरियो।”
गुटेरससँगै राष्ट्रसङ्घको ‘पिस अपरेसन’ तर्फका उपमहासचिवसहित वरिष्ठ राष्ट्रसङ्घीय अधिकारीहरू पनि नेपाल भ्रमणमा आएका छन्।
उनको सम्मानमा आइतवारै साँझ प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्ने भनिएको छ।
उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने बताइएको छ।

तस्बिर स्रोत, Reuters
काठमाण्डू बाहिरको भ्रमण
भ्रमणका क्रममा सोमवार उनी सोलुखुम्बुको नाम्चे, कास्कीको पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्।
त्यस्तै आगामी मङ्गलवार अपराह्ण चार बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमणमा आएका गुटेरसले नेपालको शान्ति प्रक्रिया, दिगो विकास लक्ष्य, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यो भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

तस्बिर स्रोत, RSS
गुटेरसको सम्बोधनमा समेटिने ठानिएका विषय

तस्बिर स्रोत, PARLIAMENT OF NEPAL
महासचिवको भ्रमण र उनको सम्बोधनको महत्त्वबारे सभामुख देवराज घिमिरेले बीबीसीसँग भने, “नेपालले संयुक्त राष्ट्रसङ्घमा खास गरी शान्ति कायम गर्ने कुरामा शान्ति सेनामा नेपालको बडो महत्त्वपूर्ण भूमिका छ। अलिकति प्रयत्न गर्ने हो भने शान्ति सेनामा खट्नेहरूको सङ्ख्या एक नम्बरमै हाम्रो पुग्न सक्ने र हाम्रो सबभन्दा प्रभावकारी भूमिका देखिने स्थिति छ।”
“दोस्रो- नेपाल अल्प विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा विकास भइरहेको छ र दिगो विकासका सन्दर्भमा पनि नेपालमा गरिएका प्रयत्नहरू र विश्वबाट भइरहेका सहयोगहरूलाई कसरी अझ अघि लान सकिन्छ भन्ने विषय पनि छ।”
उनले अर्को महत्त्वपूर्ण विषय जलवायु परिवर्तन भएको बताए।
नेपालले वातावरण बिगार्न खासै भूमिका नखेलेको तर विकसित देशहरूले गरेको प्रदूषणका कारण नेपालजस्ता देशले भोगेको समस्याबारे पनि महासचिवले सम्बोधन गर्नसक्ने घिमिरेले बताउँछन्।
शान्ति प्रक्रियाका बाँकी रहेका विषयमा पनि उनको चासो हुनसक्ने विषयमा बीबीसीले घिमिरेलाई सोध्दा उनले राष्ट्रसङ्घका महासचिवको आगमनले त्यसलाई सहयोग नै गर्ने बताए।
“नेपाल जहिले पनि शान्तिको पक्षमा छ। विगतमा आन्तरिक कारणले हामी द्वन्द्वमा फस्यौँ र त्यो द्वन्द्वको समाधान भइरहेको छ। यसलाई सदाको लागि अन्त्य गर्ने गरी विधेयकहरूमा संसद्मा छलफल भइरहेको छ,” उनले भने।
“र, यसबाट पनि सदाका लागि समाप्त गरेर जाने कानुनी आधारहरू पनि तयारी गर्नुपर्ने परिस्थितिमा पनि उहाँको भ्रमणले हामीलाई मद्दतै पुग्छ।”
यूएईमा हुने कोप २८ सम्मेलनको पूर्व तयारीका लागि आफ्नो पहिलो भ्रमणका क्रममा राष्ट्रसङ्घका महासचिव गुटेरस नेपाल आएको राष्ट्रसङ्घका महासचिवका प्रवक्ताले बताएका छन्।
नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म उक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन हुने कार्यक्रम छ।
हाल अति कम विकसित देशहरूको समूहको अध्यक्षता नेपालले गरिरहेको छ र यो भ्रमणमा राष्ट्रसङ्घका महासचिवले नेपालप्रति ऐक्यबद्धता जनाउने भनिएको छ। नेपालजस्ता देशहरूले जलवायु परिवर्तनका विध्वंसकारी असरहरू खेप्नुबाहेक आर्थिक र सामाजिक सङ्कटहरूको पनि सामना गर्नुपरिरहेको राष्ट्रसङ्घका महासचिवका प्रवक्ताले बताएका छन्।
नेपाल र संयुक्त राष्ट्रसङ्घ

तस्बिर स्रोत, UN PHOTO/MARVIN BOLOTSKY
संयुक्त राष्ट्रसङ्घसँग नेपालको साइनो खास गरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रिया अनि अन्य आर्थिक-सामाजिक विकासका मुद्दासँग जोडिएको छ।
महासचिवको भ्रमणलाई नेपालले आफ्ना मुद्दामा अन्तर्राष्ट्रिय ध्यान खिच्न उपयोग गर्नु पर्ने कूटनीतिक जानकारहरू बताउँछन्।
अहिले नेपालले आफ्ना ६ हजार २ सय ९९ सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा विभिन्न देशमा खटाएको छ।
यो सङ्ख्या बाङ्ग्लादेशको ७ हजार २ सय ७९ भन्दा मात्र ९ सय ८० जनाले कम हो।
महासचिव गुटेरसको नेपाल भ्रमणको अर्को प्रमुख एजेन्डा भनेको विकास सहायता अनि दिगो विकास लक्ष्य जस्ता विषय हुन्।
गरिबी निवारणदेखि लिएर शिक्षा, स्वास्थ्य अनि वातावरणसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू सन् २०३० भित्रै पूरा गर्न अर्बौँ रुपैयाँको लगानी नेपाललाई आवश्यक छ।
जलवायु परिवर्तनको मामिलालाई अहिले राष्ट्रसङ्घले निकै महत्त्व दिने गरेको छ।
हरेक वर्ष कन्फरेन्स अफ पार्टी (कोप) सम्मेलन हुने गर्छ।
एक त अल्पविकसित देश अनि अर्को पर्वतीय भएकाले नेपालले जलवायु परिवर्तनका कारण धेरै अनुपातमा चुनौती बेहोर्दै आएको छ।
यस्ता मामिलामा राष्ट्रसङ्घ साथ सहयोग खोज्नु अपरिहार्य हुने बताइन्छ।
नेपालमा एक दशक चलेको माओवादी सशस्त्र द्वन्द्व अन्त्य लगत्तै यहाँको शान्ति प्रक्रियामा राष्ट्रसङ्घ प्रत्यक्ष तथा परोक्ष संलग्न रह्यो।
उसको नियोग अन्मिन नेपालमा सन् २००७ देखि २०११ सम्म रह्यो।
त्यसपछि पनि शान्ति प्रक्रियासँग जोडिएका सत्य निरूपण अनि बेपत्ता पारिएकाहरूको छानबिनको विषयलाई राष्ट्रसङ्घीय निकायहरूले बारम्बार उठाउने गरेका छन्।
अहिले सरकारले त्यससम्बन्धी संसद्मा विधेयक दर्ता गराएको छ।
त्यसमा राष्ट्रसङ्घले विपक्षी दल तथा पीडित पक्ष सहित अन्तर्राष्ट्रिय समुदायको सहमति खोजिरहेको छ।
को हुन् गुटेरस?

तस्बिर स्रोत, Reuters
चौहत्तर वर्षीय गुटेरस पोर्चुगलका पूर्व प्रधानमन्त्री हुन्। त्यहाँको समाजवादी दलका नेता गुटेरस १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्री रहे।
सन् २०१७ मा राष्ट्रसङ्घको नवौँ महासचिवको पद सम्हाल्नु अगाडि उनी राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका प्रमुख पनि रहेका थिए।
गुटेरसलाई जुन सन् २०२१ मा राष्ट्रसङ्घको महासचिवको दोस्रो कार्यकालका निम्ति पनि चयन गरिएको थियो।
सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा हालसम्म ६ जना महासचिवले भ्रमण गरेका छन्।
विश्वकै उच्च कूटनीतिज्ञ पनि भनिने राष्ट्रसङ्घ महासचिवको पद कुनै राष्ट्रप्रमुख सरह सम्मानित मानिन्छ।
राष्ट्रसङ्घका कुनकुन महासचिव नेपाल आएका थिए?

तस्बिर स्रोत, RSS
सन् १९५९ को मार्चमा तत्कालीन महासचिव ड्याग ह्यामरशोल्डले नेपाल भ्रमण गरेका थिए।
सन् १९६७ को एप्रिलमा तत्कालीन महासचिव ऊ थान्तले नेपाल भ्रमण गरेका थिए।
सन् १९८१ को फेब्रुअरीमा कुर्त वाल्दहाइमले राजा वीरेन्द्रको पालामा नेपाल भ्रमण गरे।
सन् १९८९ को मार्चमा महासचिव हाभियर पेरेज द कोयारले पनि नेपाल भ्रमण गरेका थिए।
नेपालमा प्रजातन्त्रको पुनर्स्थापनापश्चात् थप दुई जना महासचिवले भ्रमण गरिसकेका छन्।
सन् २००१ को मार्चमा महासचिव कोफी अन्नानले नेपाल भ्रमण गरेका थिए भने सन् २००८ को अक्टोबरमा महासचिव बान कि मुन काठमाण्डू आएका थिए।
नेपाल भ्रमणमा आएका महासचिवहरू प्रायले लुम्बिनीको पनि भ्रमण गर्ने गरेका छन्।
राष्ट्रसङ्घका प्रथम महासचिव ट्रिग्वे ली अनि अर्का महासचिव बुत्रोस बुत्रोस घालीले चाहिँ नेपाल भ्रमण गरेका थिएनन्।
उनीहरू दुवै जनाले केवल एक कार्यकाल मात्र सम्हालेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








