गाजामा इजरेली हमला तीव्र, 'युद्धविराम' गर्न राष्ट्रसङ्घीय महासभाको आपत्कालीन सत्रको आह्वान

तस्बिर स्रोत, EPA
इजरेलले गाजामा आफ्नो हमलालाई तीव्र बनाएको छ भने त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ।
शुक्रवार रातभरि बमबारी गरेको इजरेलले अहिले जमिनमा पनि हमला सुरु गरेको र आफ्ना सेना तथा ट्याक्कहरू गाजाको भूमिमा रहेको बताएको छ।
गाजास्थित बीबीसीका एकजना संवाददाताले राति भएको बमबारी आफूले "हालसम्म कहिल्यै पनि नदेखेको र नभोगेको खालको व्यापक भएको" बताएका छन्।
त्यसले गर्दा त्यहाँ अहिले अत्यन्त अस्तव्यस्त अवस्था उत्पन्न भएको छ।
मानवीय सहायतासम्बन्धी निकायहरूले त्यहाँको अवस्था भयावह रहेको चेतावनी दिएका छन्।
राष्ट्रसङ्घको प्यालेस्टाइनका लागि मानवीय सहायता संयोजक ल्यान हस्टिङ्सले 'गाजामा कुनै पनि ठाउँ सुरक्षित नरहेको' बताएकी छन्।

तस्बिर स्रोत, Getty Images
हालसम्म कति मारिए?
सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन तर उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडिओहरू सार्वजनिक भएका छन्।
इजरेल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ताले आफ्ना सैनिकहरू स्थल कारबाहीमा खटिएको बताएका छन्।
उनले दक्षिणी क्षेत्रका मानिसका निम्ति खाद्यान्नसहितका मानवीय सहायताका ट्रकहरू पठाइने बताए।
इजरेलले अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजामा बमबारी गरिरहेको छ।
उक्त हमलामा इजरेलतर्फ १ हजार ४ सय व्यक्तिको मृत्यु भएको थियो भने हमासले २२९ जनालाई बन्धक बनाएको छ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेलको जवाफी बमबारी सुरु भएदेखि हालसम्म ७ हजार ७ सयभन्दा बढी मानिसहरू मारिएको जनाएको छ। त्यसमध्ये ३ हजार ५ सय भन्दा बढी बालबालिका रहेका छन्।

तस्बिर स्रोत, Getty Images
राष्ट्रसङ्घीय महासभाको आपत्कालीन सत्रको आह्वान
यसैबीच राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष सत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको 'मानवीय सहायताका लागि गाजामा युद्धविराम'को प्रस्तावलाई बहुमतले पारित गरेको छ।
एक सय २० देशहरू उक्त प्रस्तावको पक्षमा उभिए पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिए।
इजरेलको बलियो साझेदार अमेरिकाले उक्त प्रस्तावको विपक्षमा मतदान गर्यो भने मुख्य युरोपेली देशहरू कोही मतदान प्रक्रियामा सहभागी भएनन् वा पक्षमा मतदान गरे।
नेपालले प्रस्तावको पक्षमा मतदान गरेको छ। भारत मतदान प्रक्रियामा सहभागी भएन भने चीनले प्रस्तावको पक्षमा मतदान गरेको छ। यूके मतदान प्रक्रियामा सहभागी भएन।
उक्त प्रस्तावको विपक्षमा १४ देश देखिए भने मतदान प्रक्रियामा ४५ देशहरू सहभागी भएनन्।
महासभाको प्रस्ताव कानुनी रूपमा बाध्यकारी कदम नभए पनि नैतिक हिसाबले साङ्केतिक रूपमा त्यसलाई अर्थपूर्ण मानिन्छ।
राष्ट्रसङ्घका लागि इजरेलका प्रतिनिधिले उक्त प्रस्तावका शब्दहरूलाई "एक कलङ्क" बताउँदै राष्ट्रसङ्घसामू "वैधता र सान्दर्भिकताको एक अंश समेत बाँकी नरहेको" टिप्पणी गरेका थिए।
गुटेरसले दोहोर्याए युद्धविरामको आह्वान

तस्बिर स्रोत, EPA
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गाजामा युद्धविरामको आह्वान दोहोर्याउँदै जारी घटनाक्रमलाई निर्णायक क्षण बताएका छन्।
सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै उनले "इतिहासले हामी सबैको हेक्का राख्नेछ" भनेका छन्।
युद्ध थप चर्किएसँगै बन्धकहरूको रिहा र गाजामा मानवीय सहायताका लागि लडाइँ रोक्नका लागि वार्ताहरू प्रस्टसँग रोकिएको एक बीबीसी संवाददाताले बताएका छन्।
अक्टोबर ७ मा हमासले गरेको हमलामा १,४०० मानिसहरू मारिएका थिए। उनीहरूले २२९ जनालाई अपहरण गरेर बन्धक बनाएका छन्।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेलले त्यहाँ पछिल्लो जवाफी हमला सुरु गरेयता सात हजार मानिसहरू मारिएका छन्।
राष्ट्रसङ्घीय प्रस्तावमा के छ?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
सो प्रस्तावले गाजामा सहायता लैजान दिनुपर्ने माग गरेको छ।
अरब समूहका तर्फबाट जोर्डनले पेस गरेको उक्त प्रस्तावमा बन्धक बनाइएका सबै नागरिकहरूको "तत्काल र नि:सर्त रिहा" गर्न माग गरिएको छ।
त्यसमा अन्तर्राष्ट्रिय कानुन अनुसार बन्धकहरूको सुरक्षा, हित र मानवीय व्यवहारको माग गरिएको छ।
त्यसमा १,४०० मानिसहरूको ज्यान जाने गरी अक्टोबर ७ मा हमासले गरेको हमलाहरूबारे स्पष्ट उल्लेख गरिएको छैन।
क्यानडा, यूके र कैयौँ युरोपेली देशहरू उक्त प्रस्तावमा हमासको सीधा निन्दा गरिनु पर्ने भन्दै मतदान प्रक्रियामा सहभागी भएनन्।
प्रस्तावको समर्थन गर्ने युरोपेली देशहरूमा स्पेन, पोर्चुगल, फ्रान्स, बेल्जियम लगायत छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।











