राष्ट्रसङ्घका महासचिवले नेपालको संसद्‌लाई सम्बोधन गर्दा कस्ता विषय उठाउलान्?

गुटेरस

तस्बिर स्रोत, EPA

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपालको औपचारिक भ्रमणका निम्ति आइतवार काठमाण्डू आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

अधिकारीहरूले जनाए अनुसार आगामी मङ्गलवार उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्।

उनको भ्रमण र सम्बोधनले नेपालको शान्ति सेनामा सहभागिता, जलवायु परिवर्तनका प्रभाव, दिगो विकास तथा शान्ति प्रक्रियाका विषयमा ध्यान आकृष्ट गर्न मद्दत पुग्ने सभामुख देवराज घिमिरेले बीबीसीलाई बताएका छन्।

केही साता अगाडि नै महासचिव नेपाल आउने चर्चा चले पनि इजरेल-प्यालेस्टाइन तनाव चर्किएका कारण भ्रमण सरेको थियो।

लुम्बिनी र पोखराको भ्रमण गर्ने

आइतवार चार दिने भ्रमणका बेला आउँदा गुटेरसले नेपालका हिमालयमा जलवायु परिवर्तनले पारेको प्रभावको प्रत्यक्ष अवलोकन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै उनले बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय सहर पोखराको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयको वक्तव्यमा उल्लेख छ।

उनले मङ्गलवार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्।

त्यस क्रममा उनले नेपाललाई समेत प्रभाव पार्ने विभिन्न अन्तर्राष्ट्रिय विषयहरूबारे चर्चा गर्ने ठानिएको छ।

सम्बोधनबारे सभामुख के भन्छन्?

सभामुख घिमिरे

तस्बिर स्रोत, Parliament of Nepal

तस्बिरको क्याप्शन, सभामुख घिमिरे

महासचिवको भ्रमण र उनको सम्बोधनको महत्त्वबारे सभामुख देवराज घिमिरेले बीबीसीसँग भने, “नेपालले संयुक्त राष्ट्रसङ्घमा खास गरी शान्ति कायम गर्ने कुरामा शान्ति सेनामा नेपालको बडो महत्त्वपूर्ण भूमिका छ। अलिकति प्रयत्न गर्ने हो भने शान्ति सेनामा खट्नेहरूको सङ्ख्या एक नम्बरमै हाम्रो पुग्न सक्ने र हाम्रो सबभन्दा प्रभावकारी भूमिका देखिने स्थिति छ।”

“दोस्रो- नेपाल अल्प विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा विकास भइरहेको छ र दिगो विकासका सन्दर्भमा पनि नेपालमा गरिएका प्रयत्नहरू र विश्वबाट भइरहेका सहयोगहरूलाई कसरी अझ अघि लान सकिन्छ भन्ने विषय पनि छ।”

उनले अर्को महत्त्वपूर्ण विषय जलवायु परिवर्तन भएको बताए।

नेपालले वातावरण बिगार्न खासै भूमिका नखेलेको तर विकसित देशहरूले गरेको प्रदूषणका कारण नेपालजस्ता देशले भोगेको समस्याबारे पनि महासचिवले सम्बोधन गर्नसक्ने घिमिरेले बताउँछन्।

शान्ति प्रक्रियाका बाँकी रहेका विषयमा पनि उनको चासो हुनसक्ने विषयमा बीबीसीले घिमिरेलाई सोध्दा उनले राष्ट्रसङ्घका महासचिवको आगमनले त्यसलाई सहयोग नै गर्ने बताए।

“नेपाल जहिले पनि शान्तिको पक्षमा छ। विगतमा आन्तरिक कारणले हामी द्वन्द्वमा फस्यौँ र त्यो द्वन्द्वको समाधान भइरहेको छ। यसलाई सदाको लागि अन्त्य गर्ने गरी विधेयकहरूमा संसद्‌मा छलफल भइरहेको छ,” उनले भने।

“र, यसबाट पनि सदाका लागि समाप्त गरेर जाने कानुनी आधारहरू पनि तयारी गर्नुपर्ने परिस्थितिमा पनि उहाँको भ्रमणले हामीलाई मद्दतै पुग्छ।”

'गुटेरसको भ्रमणलगत्तै कतारका राजा नेपाल आउने'

दाहाल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने बताएका छन्

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने बताएका छन्।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शनिवार उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्त्वपूर्ण सहयोग मिल्ने दाबी गरे।

दाहालले राष्ट्रसङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए।

उनको भ्रमण लगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको प्रचण्डले जानकारी दिए।

उनले नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमणहरू हुन लागेको बताएको राससले उल्लेख गरेको छ।

नेपाल र संयुक्त राष्ट्रसङ्घ

नेपाली सेनाको अनुसार हालसम्म ७२ नेपाली शान्ति मिशनमा खटिँदा ज्यान गुमाएका छन् भने ६६ जनाको अङ्गभङ्ग भएको छ

तस्बिर स्रोत, @UNPEACEKEEPING/TWITTER

तस्बिरको क्याप्शन, नेपाली सेनाको अनुसार हालसम्म ७२ नेपालीले शान्ति मिशनमा खटिँदा ज्यान गुमाएका छन् भने ६६ जनाको अङ्गभङ्ग भएको छ

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साइनो खास गरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रिया अनि अन्य आर्थिक-सामाजिक विकासका मुद्दासँग जोडिएको छ।

महासचिवको भ्रमणलाई नेपालले आफ्ना मुद्दामा अन्तर्राष्ट्रिय ध्यान खिच्न उपयोग गर्नु पर्ने कूटनीतिक जानकारहरू बताउँछन्।

अहिले नेपालले आफ्ना ६ हजार २ सय ९९ सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा विभिन्न देशमा खटाएको छ।

यो सङ्ख्या बाङ्ग्लादेशको ७ हजार २ सय ७९ भन्दा मात्र ९ सय ८० जनाले कम हो।

महासचिव गुटेरसको नेपाल भ्रमणको अर्को प्रमुख एजेन्डा भनेको विकास सहायता अनि दिगो विकास लक्ष्य जस्ता विषय हुन्।

सन् १९६७ मा नेपाल भ्रमणमा आएका महासचिव ऊ थान्त राजा महेन्द्रसँग भेट गर्दै

तस्बिर स्रोत, UN PHOTO/MARVIN BOLOTSKY

तस्बिरको क्याप्शन, सन् १९६७ मा नेपाल भ्रमणमा आएका महासचिव ऊ थान्त राजा महेन्द्रसँग भेट गर्दै

गरिबी निवारणदेखि लिएर शिक्षा, स्वास्थ्य अनि वातावरणसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू सन् २०३० भित्रै पूरा गर्न अर्बौँ रुपैयाँको लगानी नेपाललाई आवश्यक छ।

जलवायु परिवर्तनको मामिलालाई अहिले राष्ट्रसङ्घले निकै महत्त्व दिने गरेको छ।

हरेक वर्ष कन्फरेन्स अफ पार्टी (कोप) सम्मेलन हुने गर्छ।

एक त अल्पविकसित देश अनि अर्को पर्वतीय भएकाले नेपालले जलवायु परिवर्तनका कारण धेरै अनुपातमा चुनौती बेहोर्दै आएको छ।

यस्ता मामिलामा राष्ट्रसङ्घ साथ सहयोग खोज्नु अपरिहार्य हुने बताइन्छ।

नेपालमा एक दशक चलेको माओवादी सशस्त्र द्वन्द्व अन्त्य लगत्तै यहाँको शान्ति प्रक्रियामा राष्ट्रसङ्घ प्रत्यक्ष तथा परोक्ष संलग्न रह्यो।

उसको नियोग अन्मिन नेपालमा सन् २००७ देखि २०११ सम्म रह्यो।

त्यसपछि पनि शान्ति प्रक्रियासँग जोडिएका सत्य निरूपण अनि बेपत्ता पारिएकाहरूको छानबिनको विषयलाई राष्ट्रसङ्घीय निकायहरूले बारम्बार उठाउने गरेका छन्।

अहिले सरकारले त्यससम्बन्धी संसद्मा विधेयक दर्ता गराएको छ।

त्यसमा राष्ट्रसङ्घले विपक्षी दल तथा पीडित पक्ष सहित अन्तर्राष्ट्रिय समुदायको सहमति खोजिरहेको छ।

गुटेरसले सन् २०१७ मा महासचिवको पद सम्हाले यता उनको यो पहिलो नेपाल भ्रमण हो।

गुटेरस

तस्बिर स्रोत, Reuters

को हुन् गुटेरस?

चौहत्तर वर्षीय गुटेरस पोर्चुगलका पूर्व प्रधानमन्त्री हुन्। त्यहाँको समाजवादी दलका नेता गुटेरस १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्री रहे।

सन् २०१७ मा राष्ट्रसङ्घको नवौँ महासचिवको पद सम्हाल्नु अगाडि उनी राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका प्रमुख पनि रहेका थिए।

गुटेरसलाई जुन सन् २०२१ मा राष्ट्रसङ्घको महासचिवको दोस्रो कार्यकालका निम्ति पनि चयन गरिएको थियो।

सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा हालसम्म ६ जना महासचिवले भ्रमण गरेका छन्।

विश्वकै उच्च कूटनीतिज्ञ पनि भनिने राष्ट्रसङ्घ महासचिवको पद कुनै राष्ट्रप्रमुख सरह सम्मानित मानिन्छ।

राष्ट्रसङ्घका कुनकुन महासचिव नेपाल आएका थिए?

सन् २००८ मा नेपाल आएका महासचिव बान कि मुन लुम्बिनी पनि पुगेका थिए

तस्बिर स्रोत, UN PHOTO

तस्बिरको क्याप्शन, सन् २००८ मा नेपाल आएका महासचिव बान कि मुन लुम्बिनी पनि पुगेका थिए

सन् १९५९ को मार्चमा तत्कालीन महासचिव ड्याग ह्यामरशोल्डले नेपाल भ्रमण गरेका थिए।

सन् १९६७ को एप्रिलमा तत्कालीन महासचिव ऊ थान्तले नेपाल भ्रमण गरेका थिए।

सन् १९८१ को फेब्रुअरीमा कुर्त वाल्दहाइमले राजा वीरेन्द्रको पालामा नेपाल भ्रमण गरे।

सन् १९८९ को मार्चमा महासचिव हाभियर पेरेज द कोयारले पनि नेपाल भ्रमण गरेका थिए।

नेपालमा प्रजातन्त्रको पुनर्स्थापनापश्चात् थप दुई जना महासचिवले भ्रमण गरिसकेका छन्।

सन् २००१ को मार्चमा महासचिव कोफी अन्नानले नेपाल भ्रमण गरेका थिए भने सन् २००८ को अक्टोबरमा महासचिव बान कि मुन काठमाण्डू आएका थिए।

नेपाल भ्रमणमा आएका महासचिवहरू प्रायले लुम्बिनीको पनि भ्रमण गर्ने गरेका छन्।

राष्ट्रसङ्घका प्रथम महासचिव ट्रिग्वे ली अनि अर्का महासचिव बुत्रोस बुत्रोस घालीले चाहिँ नेपाल भ्रमण गरेका थिएनन्।

उनीहरू दुवै जनाले केवल एक कार्यकाल मात्र सम्हालेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।