हसन नस्रल्लाहको मृत्युपछि हिज्बुल्लाह र लेबननको सम्भावित भविष्य

तस्बिर स्रोत, Getty Images
- Author, डिमा बबिली
- Role, बीबीसी अरेबिक
हिज्बुल्लाहका महासचिव हसन नस्रल्लाह लेबननको राजधानी बेइरुतको दक्षिणी भेगमा रहेको एक नगरको मुटुमा इजरेली हमलामा मारिए।
इजरेलद्वारा मारिने डरले वर्षौँदेखि सार्वजनिक रूपमा नदेखिएका नस्रल्लाह मध्यपूर्वका सर्वाधिक चर्चित र प्रभावशाली व्यक्तिमध्येका थिए।
उनको मृत्युलाई इजरेलको जितका रूपमा हेरिएको छ, तर बेइरुतमा उनका केही समर्थकहरूले भने आफूहरू स्तब्ध भएको बताएका छन्।
इजरेलले लेबननस्थित हिज्बुल्लाहका ठेगानाहरूमा आक्रमण जारी राख्ने बताएको छ। हिज्बुल्लाहले पनि इजरेलतर्फ रकेटहरू प्रहार गरिराखेको विवरणहरू आएका छन्।
फाट्टफुट्ट रूपमा हुँदै आएको हिज्बुल्लाह र इजरेलबीचको लडाईँ ८ अक्टोबर २०२३ मा हिज्बुल्लाहले इजरेलतर्फ गोलाबारी गरेपछि चर्कियो। गाजामा हमासका बन्दुकधारीहरूले अभूतपूर्व आक्रमण गरेलगत्तै हिज्बुल्लाहले पनि इजरेलमाथि आक्रमण गरेको थियो।
अब हिज्बुल्लाह र लेबननको भविष्य केकस्तो हुन्छ भन्ने नै अहिलेको प्रश्न हो।
भविष्यको दिशा

तस्बिर स्रोत, Getty Images
अमेरिका र यूकेसहितका केही पश्चिमा देशका साथै केही अरब देशहरूले समेत इरानद्वारा समर्थित र आर्थिक सहयोग दिइँदै आएको हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकृत गरेका छन्।
नस्रल्लाहको निधनले हिज्बुल्लाहको भविष्यको दिशा के हुन्छ भन्नेबारे गम्भीर प्रश्न खडा गरेको छ। त्यस्तै इजरेलविरुद्धको सशस्त्र अभियानलाई जारी राख्न सक्ने हिज्बुल्लाहको क्षमतामा शङ्का पैदा भएको छ।
"यसले विशेष गरी गाजामा चलिराखेको युद्धबारे इजरेलको सामना गर्ने हिजबुल्लाहको प्रतिबद्धतालाई परिवर्तन गर्दैन," राजनीतिक विश्लेषक तथा लेबननको एन–नहर पत्रिकाका पत्रकार इब्राहिम बेराम अनुमान गर्छन्।
बीबीसीसँग कुराकानीमा उनले गए राति भएको हसन नस्रल्लाहको हत्या असाधारण घटना भएको बताए ।
उनका अनुसार "हिज्बुल्लाह नस्रल्लाहले प्रस्तुत गरेको मार्गमा निरन्तर चल्नेछ। उनले प्रतिनिधित्व गरेको विचारप्रति उनीहरू बफादार रहनेछन्।"
अर्कातर्फ लेबननभित्रको कुरा गर्दा बेराम मानिसहरूबीच मिश्रित भावना देख्छन्। यहाँ नस्रल्लाहको मृत्युलाई लिएर भित्रभित्रै खुसी हुने मान्छे पनि छन् र उक्त घटनाबाट हिज्बुल्लाहलाई गम्भीर आघात पुगेको ठान्ने मानिसहरू पनि छ।
यी लेबननी पत्रकारका अनुसार उनको हालत के हुनेवाला छ भन्ने नस्रल्लाहलाई थाहा थियो। "आफ्नो हालत अब्बास अल–मुसावीजस्ता सङ्गठनका पूर्वनेताहरू जस्तै हुन सक्छ भन्ने उनलाई थाहा थियो।"
हिज्बुल्लाहका सहसंस्थापक मुसावी सन् १९९२ मा इजरेलद्वारा मारिएका थिए। उनका उत्तराधिकारी नस्रल्लाहलाई सफलतासाथ सिध्याएपछि इजरेली सेनाले आफूसँग अन्य उपायहरू पनि उपलब्ध रहेको बताएको छ।
इरान र हिज्बुल्लाह

तस्बिर स्रोत, Getty Images
इरानले बेइरुतको शुक्रवारको आक्रमणमा आफ्नो रेभलूशनरी गार्ड्स कोरका एक जना वरिष्ठ कमान्डर पनि मारिएको जनाएको छ। इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खमेनेईले हिज्बुल्लाहप्रतिको समर्थनलाई दोहोर्याए पनि हसन नस्रल्लाहको मृत्युबारे इरानको सम्भावित प्रतिक्रियाबारे केही बताएनन्।
आफ्नो पहिलो टिप्पणीमा उनले लेबननमा नागरिकहरूको हत्या भइरहेकोमा कडा शब्दमा निन्दा गरे। उनले यसलाई इजरेली नेताहरूको "अल्पदृष्टि र मुर्खता"को प्रमाणका रूपमा व्याख्या गरे।
यद्यपि शनिवार खमेनेईले नस्रल्लाहको नाम भने लिएनन्।
तर उनले "इजरेली अपराधीहरू" हिज्बुल्लाहलाई ठूलो क्षति पुर्याउन असमर्थ रहेको र "उक्त क्षेत्रका सबै प्रतिरोधी शक्तिहरूले पार्टीलाई समर्थन गर्ने" बताए।
प्रतिरोधी शक्ति भनेर उनले इरान समर्थित हिज्बुल्लाह तथा इराकका हुथी र शिया विद्रोहीहरूलाई सङ्केत गरेका हुन्।
उनले मुसलमानहरूलाई "दमनकारी शासनविरुद्ध" लेबननी जनता र र हिज्बुल्लाहप्रति ऐक्यबद्धता प्रदर्शन गर्न पनि आह्वान गरे।
सम्भावित परिणाम

तस्बिर स्रोत, Reuters
इरानले नस्रल्लाहको मृत्युले हिज्बुल्लाहको क्षमता र उक्त क्षेत्रमा उसको उपस्थितिमा कुन असर नपार्ने देखाउन खोजिरहेको छ।
"हिज्बुल्लाहले धेरै नेताहरूलाई प्रशिक्षित गरेको छ। कुनै नेता शहीद हुँदा अर्को नेता मैदानमा आइहाल्छन्," अहमद बहिदी भन्छन्। उनी इरानी रेभलूशनरी गार्ड्सको 'कुड्स फोर्स'का पूर्वकमान्डर हुन्।
यसैबीच संयुक्त राज्य अमेरिकाको तल्लो सदन 'हाउस अफ रेप्रिजेन्टटिभ्स'का प्रवक्ता माइक जोन्सनले "नस्रल्लाहको मृत्यु मध्यपूर्वका हकमा महत्त्वपूर्ण कदम" भएको बताएका छन्।
लेबनन सरकारले हिज्बुल्लाहलाई इजरेलविरुद्धको वैधानिक प्रतिरोधी समूहका रूपमा लिन्छ भने त्यहाँको संसद्मा उक्त समूहका निर्वाचित सदस्यहरू समेत सामेल छन्।
विश्वविद्यालयका प्राध्यापक तथा पत्रकार मोहम्मद अली मोखालिदका अनुसार हालैका घटनाले "हिज्बुल्लाहलाई अधिक उदारवादी स्थितिमा फर्कन र त्यस्तो सम्झौताको खोजी गर्ने अनुमति दिन सक्छ, जसबाट लेबननी राज्यलाई आफ्नो क्षेत्रमा पूर्ण सम्प्रभूता प्राप्त गर्न मद्दत पुग्न सक्छ।"
उनी नस्रल्लाहको मृत्युले लेबबनमा राष्ट्रपतीय निर्वाचनसहितका राजनीतिक समाधानको ढोका खोलिदिन सक्ने पनि बताउँछन्। उनका अनुसार "लेबननसँग असम्बन्धित इरानी परियोजना त्यागेमा यो स्थितिले लेबनानी हिज्बुल्लाह तत्त्वहरूको संरक्षण पनि गर्न सक्छ।"
मोखालिद हिज्बुल्लाहभित्रै फुट आउन सक्ने सम्भावना समेत देख्छन्। उनी एउटा सानो अतिवादी समूहले लडाईँ जारी राख्ने र र ठूलो हिस्साचाहिँ इरानी परियोजनाबाट अलग्गिँदै लेबननी राज्यसँग मिल्न जाने अर्को सम्भावित परिदृष्य पनि देख्छन्।
आघात र आक्रोश

तस्बिर स्रोत, Reuters
बेइरुतका सडकमा उक्त घटनाका परकम्पहरू प्रतिबिम्बित भएको देखिन्छ। केही समर्थक आफ्नो रोष र आघात प्रदर्शन गर्न सडकमा आएका छ भन् भने केहीले सामाजिक सञ्जालमा आफ्नो दु:ख बिसाएका छन्। शिया नेताको मृत्युपश्चात् हिज्बुल्लाहको टेलिभिजन च्यानल अल–मनारले स्क्रीनमा कुरानका आयात (श्लोक) हरू देखाइरहेको छ।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित धेरै मानिसहरू घरबारविहीन अवस्थामा सडकमै बसेका छन् भने इजरेली आक्रमणको परिणामस्वरूप एक हजारभन्दा बढीको ज्यान गइसकेको छ।
हिज्बुल्लाहले आफ्ना नेता हसन नस्रल्लाहको मृत्यु भएको पुष्टि गरेपछि बीबीसीले बेइरुतको छिमेकस्थित ऐन अल-मरेसेहका केही विस्थापितहरूसँग कुरा गर्दा कतिपयले यो समाचारलाई सहन सकेनन्।
केही भुइँमा ढले भने केही रुँदै, कराउँदै, चिच्याउँदै हिँड्न थाले।
एउटी महिलाले भनिन्, "उनीहरूले हामीलाई मारेर उनलाई राखिदिएको भए नि हुन्थ्यो नि!"
आघात चर्को छ। नस्रल्लाह ठूलो सङ्ख्याका समर्थकहरूका निम्ति शीर्ष नेतामात्रै थिएनन्, आदर्श पनि थिए।
बेइरुतका सबै जना हिज्बुल्लाहका समर्थक होइनन्, तर सडकमा केही मानिसहरूले आधात र आक्रोशको सङ्केतस्वरूप हवाई फायर गरेका छन्।
सम्भावित उत्तराधिकारी

तस्बिर स्रोत, Getty Images
नस्रल्लाहको मृत्युले उनले छाडेर गएको राजनीतिक र सैन्य क्षेत्रको ठूलो रिक्ततालाई उत्तराधिकारीका रूपमा कसले भर्न सक्छ भन्ने प्रश्न उठेको छ।
पत्रकार इब्राहिम बेराम भन्छन्, "उनका उत्तराधिकारी असाधारण व्यक्तित्व भएका र सबै श्रेणीलाई एकताबद्ध राख्न सक्ने क्षमता भएका नस्रल्लाहले झैँ पार्टीको व्यवस्थापन र नियन्त्रणमा सक्षम होलान् कि नहोलान्?"
हिज्बुल्लाहका कार्यकारी परिषद् प्रमुख हासिम साफी अल–दिनलाई व्यापक रूपमा सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ।
बेरामका अनुसार नस्रल्लाहजस्ता शिया नेताले लगभग चार दशकसम्म इजरेलविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थिएन र "उनीसँग तुलना गर्न मिल्ने अद्वितीय व्यक्तित्व पैदा हुन लामो समय लाग्न सक्छ।" यी लेबननी पत्रकार "पार्टीलाई राजनीतिक र सैन्य हिसाबले एकजुट बनाउने उल्लेखनीय अभिभावक"का रूपमा नस्रल्लाहको वर्णन गर्छन्।
दिवङ्गत शिया नेताको विरासतको कुरा जटिल हुनुका साथै निकै समयसम्म चर्चाको विषय बन्ने छ। अहिले संसारको ध्यान भने यो ऐतिहासिक रूपान्तरणलाई हिज्बुल्लाहले कसरी सम्हाल्ला भन्नेमै छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








