पश्चिमा देशले आफ्ना नागरिक फर्काइरहेका बेला लेबननका नेपाली कस्तो अवस्थामा छन्?

लेबनन

तस्बिर स्रोत, Reuters

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

इजरेल र हिज्बुल्लाह समूहबीच द्वन्द्व बढेपछि पश्चिमा राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई 'सकेसम्म चाँडो' लेबनन छाड्न आग्रह गरिरहेका बेला त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे पनि चिन्ता व्यक्त भइरहेको छ।

लेबनन मामिला पनि हेर्ने इजिप्टस्थित नेपाली दूतावसाले उक्त देशको पछिल्लो परिस्थितिलाई "नजिकबाट हेरिरहेको" तथा त्यहाँस्थित "नेपालीहरूसँग सम्पर्कमा रहेको" बताएको छ।

वर्षौँदेखि लेबननमा कार्यरत नेपालीहरूले पनि पछिल्लो परिस्थितिबारे आफूहरू अवगत रहेको र "अवस्था कस्तो हुन्छ भनेर विचार गरिरहेको" बताएका छन्।

यद्यपि उनीहरू तत्कालै नेपाल फर्कने सोचमा नरहेको उनीहरूसँग बीबीसीले गरेको टेलिफोन कुराकानीबाट थाहा भएको छ।

लेबननको पछिल्लो अवस्था

लेबननको शक्तिशाली सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी समूह हमासका वरिष्ठ नेताहरू मारिएपछि उक्त क्षेत्रमा तनाव बढेको छ।

इरानको समर्थन पाएको हिज्बुल्लाहले इजरेलतर्फ निरन्तर क्षेप्यास्त्रहरू प्रहार गरिरहेको छ भने इजरेलले पनि त्यसको प्रतिउत्तरको कारबाही जारी राखेको छ।

राजधानी तेहरानमा हमासका प्रमुख राजनीतिक नेता इस्माइल हानियाको हत्या भएपछि इजरेलसँग त्यसको "कडा बदला लिने" इरानले चेतावनी दिएको छ।

हमासका प्रमुख हानिया गत बुधवार तेहरानमा मारिएका थिए।

इजरेलले बेइरुतमा हिज्बुल्लाह कमान्डर फुआद सुकरको हत्या गरेको केही घण्टापछि तेहरानमा हमास नेताको पनि मारिएका थिए।

उक्त क्षेत्रमा इरान-हिज्बुल्लाह-इजरेल त्रिपक्षीय द्वन्द्व बढ्ने देखिएपछि अमेरिका, ब्रिटेन तथा क्यानडाजस्ता पश्चिमा राष्ट्रहरूले आफ्ना नगरिकलाई लेबनन छाड्न आग्रह गरेका छन्।

जोर्डनलगायतका लेबननका छिमेकी देशहरूले समेत आफ्ना नागरिकहरूलाई लेबननबाट निस्कन भनेको अवस्था छ।

हिल्बुल्लाहले आफ्ना नेता मारिएपछि इजरेलसँगको युद्ध नयाँ चरणमा प्रवेश गरेको चेतावनी दिइसकेको छ।

हिज्बुल्लाह कमान्डर फुआद सुकरको अन्तिम संस्कारमा सहभागी महिलाहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, हिज्बुल्लाह कमान्डर फुआद सुकरको अन्तिम संस्कारमा सहभागी महिलाहरू

लेबननमा रहेका नेपालीहरू के भन्छन्?

बीबीसीले लेबननका विभिन्न सहरहरूमा रहेका नेपाली नागरिकहरूसँग कुराकानी गरेको थियो।

त्यस क्रममा उनीहरूले "हालसम्म नेपाल फर्किहाल्ने मनस्थिति नबनाएको" बताएका छन्।

यद्यपि "परिस्थिति बिग्रन सक्ने भएकाले आफूहरूले अवस्थाको मूल्याङ्कन गरिरहेको" नेपालीहरूको भनाइ छ।

बीबीसीले लेबननको राजधानी बेइरुतसहित बात्रुन तथा टायरजस्ता सहरहरूमा कार्यरत नेपालीसँग कुराकानी गरेको हो।

उनीहरूमध्ये कतिपयलाई आफू काम गर्ने कम्पनी तथा संस्थाले "अनुमतिविना सञ्चारमाध्यमसँग बोल्न" प्रतिबन्ध लगाएकाले अनौपचारिक कुराकानी मात्र भएको थियो।

बेइरुतस्थित एउटा निर्माण कम्पनीमा कार्यरत ललितपुरका देवराज मोक्तान सन् २०२० मा लेबनन गएका थिए।

हिज्बुल्लाहले इजरेलतर्फ हमला गरिरहेको छ

तस्बिर स्रोत, EPA

"अहिलेसम्म म यहाँ सुरक्षित छु अनि हाम्रो कम्पनी अमेरिकी भएकाले पनि कुनै त्यस्तो अवस्था आइपर्दा आकस्मिक रूपमा उसले उद्धार गरिहाल्छ," उनले भने।

"यहिलेसम्म यहाँ कुनै ठूलो लडाइँको अवस्था भएको जस्तो अनुभव गरिएको छैन तर इजिप्टको नेपाली दूतावासमा आफ्नो विवरण भरिराख्नु भनेको भएर मैले पनि भरेको छु।"

बाह्र वर्षदेखि उत्तरी लेबननको बात्रुन सहरमा एक व्यक्तिको घरमा तथा तिनै व्यक्तिको कार्यालयमा कार्यरत दाङका लल्ला खान पठानले चाहिँ उत्तरी क्षेत्रमा खासै खतरा नभएको बताए।

उनले भने, "यहाँ त्यस्तो परिस्थिति छैन। कुनै अफ्ट्यारो अवस्था आएमा पनि मैले काम गर्ने साहुले उद्धार गरेर साइप्रसमा लैजान सक्छन्।"

"अहिलेसम्म म सुरक्षित छु र खासै डर पनि लागेको छैन। परिस्थिति के हुन्छ हेर्दै गरौँला।"

इजरेल र हिज्बुल्लाबीच द्वन्द्व चर्केको छ

तस्बिर स्रोत, Reuters

दूतावास के भन्छन्?

लेबननको पछिल्लो अवस्थालाई इजिप्टस्थित नेपाली दूतावासले "नजिकबाट हेरिरहेको" जनाएको छ।

दूतावासका द्वितीय सचिव दीपक घिमिरेले भने, "त्यहाँ हाल १५ सय नेपाली रहेका छन्। उनीहरू घरेलु कामदार, होटल र फ्याक्ट्रीमा कार्यरत छन्।"

"अहिलेसम्म कोही पनि समस्यामा परेका छैनन्। लेबननको उत्तरी भेगमा रहेकाले सबै सुरक्षित छन्।"

इजरेल र हिज्बुल्लाह तनाव

दूतावासले गत साता नै लेबननमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन सूचना जारी गरेर आग्रह गरेको थियो।

उसले सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेइरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका नम्बरहरू पनि सार्वजनिक गरेको थियो।

त्यस्तै दूतावासले लेबननमा रहेका नेपालीको सूची अद्यावधिक तुल्याउने भन्दै आफ्ना नागरिकहरूलाई अनलाइनमार्फत विवरण पेस गर्न पनि आग्रह गरेको थियो।

यद्यपि हालसम्म न्यून मात्र नेपालीले आफ्नो विवरण अद्यावधिक गराएको दूतावासका अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगारीमा जाने बाहेक त्यहा केही नेपालीहरू संयुक्त राष्ट्रसङ्घीय नियोगहरूमा पनि कार्यरत छन्।

त्यस्तै संयुक्त राष्ट्रसङ्घकै शान्तिसेनामा नेपाली सेनाको टुकडी पनि लेबननमा रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।