इजरेली गुप्तचर निकाय मोसादको निगरानीमा थिए हमास नेता हानिया
हमासका नेता इस्माइल हानियाको हत्यापछि दुई कारणले गर्दा ठूलो तरङ्ग उत्पन्न भएको छ। पहिलो, हानिया हमासका वरिष्ठ नेता हुन्। दोस्रो, उनको हत्या गर्ने उद्देश्यले इरानको राजधानीमा तेस्रो पक्षबाट आक्रमण भयो।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरेलमाथि अप्रत्याशित आक्रमण गरेपछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासलाई निमिट्यान्न पार्ने उद्घोष गरेका थिए।
उनले इजरेलको गुप्तचर निकाय मोसादलाई "हमासका नेताहरूविरुद्ध जहाँसुकै भए पनि उनीहरूविरुद्ध कारबाही गर्न’ निर्देशन दिएका थिए।

तस्बिर स्रोत, EPA
हमासका सैन्य विभागका अन्य नेताहरू भूमिगत छन्। तर हानिया कतारमा सुरक्षाकर्मीको घेरामा बस्दै आएका थिए।
इरानका नवनिर्वाचित राष्ट्रपतिले पदभार गर्ने दिन आयोजित विशेष समारोहमा सहभागी भएपछि राति इरानी भूमिमै उनी इजरेलको निसानामा परे।
इरान हमासलाई समर्थन गर्ने एउटा प्रमुख देश हो।
इजरेलले उक्त घटना आफूले गराएको स्वीकार गरिसकेको छैन।

तस्बिर स्रोत, EPA
बीबीसीका मध्यपूर्व अनलाइन सम्पादक रफी बर्गका अनुसार इरानभित्र भएको उक्त आक्रमणको छुट्टै अर्थ छ।
हमासका सैन्य विभाग प्रमुख मोहम्मद डेफलाई लक्ष्य बनाएर इजरेलले आक्रमण गरेको दुई सातापछि हानियाको मृत्यु भएको हो। दुई साताअघि गाजामा डेफको मृत्यु भएको ठानिएको छ।
"हमासका शीर्ष राजनीतिक र सैन्य नेताहरू नहुनु [इजरेलसँगको] युद्ध सुरु भएपछि व्यक्तिगत र कारबाहीको तहमा सबैभन्दा ठूलो आघात हो," बर्ग भन्छन्।
इरानमा आक्रमण गर्न सक्ने इजरेलको क्षमता

तस्बिर स्रोत, EPA
यदि इजरेल नै यो आक्रमण गरेको पुष्टि भएको खण्डमा आफ्नो "प्रधान शत्रुको नाकैमुनि" आक्रमण गर्न सक्ने उसको क्षमता र तदारुकता पनि यसले देखाउँछ।
बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, “कतारमा उनको हत्या गर्नु राजनीतिक रूपमा सम्भव थिएन। इरानमा उनको हत्या गर्नुले इजरेलको क्षमता देखाउँछ। यसको अर्थ कोही पनि सुरक्षित छैन भन्ने हो।”
अक्टोबर ७ यता इजरेलले हानियाको परिवारलाई निसाना बनाउँदै आएको थियो। इजरेली कारबाहीमा परेर उनका छोराहरू र तिनका सन्तानको मृत्यु भइसकेको छ।
तेहरानमा भएको आक्रमणका विस्तृत पक्षबारे बिस्तारै जानकारीहरू सार्वजनिक भइरहँदा त्यसको राजनीतिक परिणाम पनि देखा पर्न तालेको बीबीसीका कूटनीतिक संवाददाता पोल एडम्स बताउँछन्।
इजरेलले प्रायः विदेशमा आफूले गर्ने कारबाहीबारे टिप्पणी गर्दैन। तर अहिलेको आक्रमण गत एप्रिल महिनामा इजरेलले इरानी हवाई प्रतिरक्षा प्रणालीलाई तारो बनाएर गरेको कारबाहीकै शैलीमा भएको हुन सक्ने एडम्स ठान्छन्।
उक्त कारबाहीका क्रममा इजरेली जेटहरूले इरानी हवाई क्षेत्रबाहिरबाट रकेटहरू प्रहार गरेका थिए।
गाजामा युद्धविराम गराउने प्रयास के होला
गाजामा सम्भावित युद्धविरामका बारेमा हानियाले हमासको वार्ता टोलीको नेतृत्व गरिरहेका थिए।
हानियाको हत्याबाट गाजामा युद्धविराम सुनिश्चित गर्न र बन्धकहरूको रिहाइका लागि भइरहेका कठिन प्रयासहरूलाई क्षति पुग्न सक्ने ठानिन्छ।
गाजामा दैनिक रूपमा भइरहेका गतिविधिमा इस्माइल हानियाभन्दा पनि सैन्य कमान्डर याह्या सिन्वारको भूमिका प्रमुख हुने गर्थ्यो। तर निर्वासनमा बसिरहेका हमासका नेताको हैसियतमा कतार, अमेरिका र इजिप्टले मध्यस्थता गरिरहेका वार्ताहरूमा हानियाको भूमिका महत्त्वपूर्ण थियो।
अमेरिकी अधिकारीहरूले हालै युद्धविरामसम्बन्धी वार्ता चाँडै सफल हुने सङ्केत गरेका थिए। यद्यपि गत सप्ताहान्तमा रोममा भएको वार्ता भने निष्फल भएको थियो।
हानियाको हत्या भए लगत्तैयुद्ध विराममा अब कसरी प्रगति हुन्छ भन्न निक्कै गाह्रो भएको एडम्सको आकलन छ।
यद्यपि अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले युद्धविराम गराउने प्रयास जारी राख्नुपर्ने बताएका छन्।
यदि सबैले ठाने जस्तै यो इजरेली कारबाही हो भने किन आक्रमण गरियो भन्ने पनि प्रश्न उठ्छ। हमाससँग जोडिएका जोसुकैसँग बदला लिनेबाहेक यो आक्रमणबाट इजरेलले के प्राप्त गर्ने अपेक्षा राखेको थियो भन्ने पनि प्रश्न उठिरहेको छ।
टर्कीको विदेश मन्त्रालयले उक्त हत्याले बेन्जमिन नेतन्याहूको उद्देश्य शान्ति हासिल गर्ने नरहेको स्पष्ट भएको टिप्पणी गरेको छ।
उक्त क्षेत्रका अन्य मुलुकहरूबाट पनि त्यस्तै खालका प्रतिक्रिया आउन सक्ने ठानिन्छ।
कसले के भने
हमासले आफ्ना राजनीतिक नेता इस्माइल हानिया इजरेलले गरेको ठानिएको एउटा रकेट आक्रमणका क्रममा इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ।
इरानका राष्ट्रपतिले उनको देशले उक्त "कायरतापूर्ण कृत्यका लागि आतङ्कवादी अतिक्रमणकारीहरूले" मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार हानिया बसेको घरमा सोमबार बिहान २ बजेतिर रकेट आक्रमण भएको थियो।
उक्त आक्रमणमा हानियाका एक अङ्गरक्षकको पनि मृत्यु भएको छ। इरानले आफ्नो अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि कदम चाल्ने जनाएको छ।
रुस, चीन र टर्कीले उक्त हत्याको निन्दा गरेका छन्। कतारले त्यसलाई तनावलाई खतरनाक तहमा चर्काउन सक्ने प्रतिक्रिया दिएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले वाशिङ्टनलाई इस्माइल हानियाको हत्याबारे थाहा नभएको र त्यसमा अमेरिका संलग्न नरहेको बताएका छन्।
उक्त घटनाको अर्थ के हुन्छ आफूले भन्न नसक्ने भन्दै उनले गाजामा युद्ध विरामको अपरिहार्यतामा जोड दिए। वार्ताको मध्यस्थता गरिरहेको कतारका प्रधानमन्त्रीले हानियाको निधनले वार्तालाई धक्का लाग्ने टिप्पणी गरेका छन्।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले मध्यपूर्वमा द्वन्द्व नचर्किने आफ्नो धारणा पुनः व्यक्त गरेका छन्।
"युद्ध अवश्यम्भावी छ जस्तो मलाई लाग्दैन। म त्यसमै कायम छु। मलाई कूटनीतिका लागि सधैँ स्थान र अवसर हुन्छ जस्तो मलाई लाग्छ," फिलिपिन्स भ्रमणमा रहेका अस्टिनले सञ्चारमाध्यमसँग भने।
यूकेका भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार लर्ड पीटर रिकिट्सका अनुसार हानियाको हत्या "सो क्षेत्रमा जहाँ पनि पुग्न सक्ने इजरेलको क्षमताको शक्तिशाली उदाहरण" हो।
यसबाट इजरेलले "गाजामा जारी सैन्य कारबाही घटाउने राजनीतिक अवसर" पाउने उनको धारणा छ। "किनभने अब उसले हानियाको नेतृत्वलाई ठूलो आघात पुर्याएको भन्न पाउँछ," उनले भने।
तर अब हमासले युद्धविरामको वार्तालाई टुङ्गोमा पुर्याउने सम्भावना कम भएको भन्दै उनले यो मध्यपूर्वका लागि "निकै खतरनाक समय" भएको औँल्याएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









