पश्चिमा देशहरू आफ्ना नागरिकलाई लेबनन छाड्न आग्रह गर्दै, त्यहाँको पछिल्लो अवस्था के छ?

हिजबुल्लाहले आइतवार स्थानीय समयअनुसार मध्यरातमा उत्तरी इजरेलको बेइट हिलो सहरमा दर्जनौँ रकेट प्रहार गरेको थियो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, हिजबुल्लाहले आइतवार स्थानीय समयअनुसार मध्यरातमा उत्तरी इजरेलको बेइट हिलो सहरमा दर्जनौँ रकेट प्रहार गरेको थियो
    • Author, टम बेनेट र एडम डर्बिन
    • Role, बीबीसी न्यूज लन्डन

बेइरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध हुने "कुनै टिकट लिएर" तत्काल लेबनन छाड्न आग्रह गरेको छ।

ब्रिटिश विदेशमन्त्री डेभिड ल्यामीले त्यस्तै चेतावनी दिइसकेका छन्। उक्त क्षेत्रमा द्वन्द्व बढ्नसक्ने आकलन गरेर यूके र अमेरिकाले आफ्ना नागरिकहरूलाई सचेत गराएका हुन्।

ब्रिटिश विदेशमन्त्रीले मध्यपूर्व क्षेत्रको अवस्था "एकदमै तीव्र रूपमा बिग्रन सक्ने" बताएका छन्।

गत बुधवार तेहरानमा हमासका प्रमुख इस्माइल हानियाहको हत्याको इजरेलसँग कडा बदला लिने इरानले चेतावनी दिएको छ।

इजरेलले बेइरुतमा हिजबुल्लाह कमान्डर फुआद सुकरको हत्या गरेको केही घण्टापछि तेहरानमा हमास नेताको पनि हत्या भएको थियो।

बढ्दो त्रास

व्यावसायिक उडानका विकल्पहरू उपलब्ध भएको बताइएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लेबनन छोड्नका लागि व्यावसायिक उडानका विकल्पहरू उपलब्ध भएको बताइएको छ

इरानको समर्थन पाएको लेबननस्थित हिजबुल्लाह समूहले बदलामा इजरेलविरुद्ध व्यापक प्रहार गर्न सक्ने र त्यसविरुद्ध इजरेलले ठूलो हमला गर्न सक्ने चिन्ता बढेका छन्।

हिजबुल्लाहले आइतवार स्थानीय समयअनुसार मध्यरातमा उत्तरी इजरेलको बेइट हिलो सहरमा दर्जनौँ रकेट प्रहार गरेको थियो।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओ फुटेजमा इजरेलको हवाई प्रतिरक्षा प्रणाली आइरन डोमले ती रकेट प्रहारलाई रोकेको देखिएको छ। त्यहाँ मानवीय क्षति भएको कुनै विवरण आएको छैन।

जोर्डनको विदेश मन्त्रालयले पनि लेबननमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल उक्त देश छाड्न र त्यहाँ यात्रा नगर्न चेतावनी दिएको छ।

क्यानडाले आफ्ना नागरिकहरूलाई इजरेलको यात्रा नगर्न आग्रह गरेको छ।

उसले यसअघि नै लेबनन नजान उसका नागरिकहरूलाई भनिसकेको छ। क्यानडाले त्यस क्षेत्रमा "कुनै चेतावनीबिनै स्थिति अझ बिग्रन सक्ने" जनाएको छ।

अमेरिकी दूतावासले के भन्यो?

शनिवार अमेरिकी दूतावासले लेबननमा बस्न चाहनेहरूले "आपत्कालीन योजना बनाउनु पर्ने" र "थप समय बस्नका लागि सुरक्षित स्थानको व्यवस्थापन" गर्न तयार हुनुपर्ने बताएको छ।

दूतावासले धेरै विमान सेवा कम्पनीहरूले उडानहरू स्थगित वा रद्द गरेका तथा अधिकांश टिकटहरू बिक्री भइसकेका जनाएको छ।

तर अझै पनि "लेबनन छोड्नका लागि व्यावसायिक उडानका विकल्पहरू उपलब्ध भएको" जनाएको छ।

पेन्टागनले इरान र उसको समर्थन पाएका समूहको सम्भावित आक्रमणबाट इजरेलाई जोगाउन उक्त क्षेत्रमा थप युद्धपोत र लडाकु विमानहरू पठाइरहेको बताएको छ।

ब्रिटेनले लेबननबाट आफ्ना नागरिकहरूलाई निकाल्नका लागि अतिरिक्त सैन्य, कन्सुलर र सीमा सुरक्षा बलका कर्मचारीहरूलाई पठाइरहेको बताएको थियो।

उसले ब्रिटिश नागरिकहरूलाई "व्यावसायिक उडान चलिरहेको बेला" लेबनन छाड्न आग्रह गरेको छ।

दुई वटा ब्रिटिश सैन्य पानीजहाजहरू पहिलेदेखि नै उक्त क्षेत्रमा तैनाथ छन्।

रोयल एअर फोर्सले हेलिकप्टरहरूलाई पनि तयारी अवस्थामा राखेको छ। ब्रिटिश विदेशमन्त्रीले भनेका छन्, "यो द्वन्द्व उक्त क्षेत्रभरि फैलनु कसैको पनि हितमा छैन।"

इजरेल हिजबुल्लाह तनाव

तस्बिर स्रोत, Reuters

गाजाको अवस्था के छ?

यसैबीच गाजामा विस्थापितहरूलाई आश्रय दिइएको एउटा विद्यालयमा इजरेलले गरेको हमलामा कम्तीमा १७ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले जनाएका छन्।

इजरेली सेनाले गाजाको शेख रदवान नजिकै रहेको हमामा स्कूलमा "आतङ्ककारीहरूको कमान्ड सेन्टर"को रूपमा प्रयोग गरिँदै आएको स्थानमा हमला भएको बताएको छ। हमासले चाहिँ त्यस्तो आरोपलाई अस्वीकार गरेको छ।

यो सप्ताहन्तमा इजरेली मन्त्रीहरूलाई स्याटेलाइट फोन दिएर घर पठाइएको थियो।

कुनै कारणले देशको सञ्चार प्रणालीमा आक्रमण भएमा सम्पर्कका लागि पूर्व तयारीस्वरूप त्यस्तो गरिएको थियो।

गत एप्रिलमा इरानले इजरेलमा १७० ड्रोन ३० वटा क्रुज क्षेप्यास्त्र र कम्तीमा ११० बलिस्टिक क्षेप्यास्त्र हमला गरेको थियो।

सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा इजेरली बम प्रहारको बदलामा इरानले त्यस्तो हमला गरेको थियो।

यसपालि पनि इरानले बदला लिनका निम्ति त्यस्तै खालको हमला गर्न सक्ने धेरैले ठानेका छन्।

इरान के भन्छ?

शुक्रवारको टेलिफोन कुराकानीमा युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलसँग इरानका कार्यवाहक विदेशमन्त्री अलि बाकेरी कानीले इरानले इजरेललाई "दण्ड" दिन "निस्सन्देह रूपमा आफूमा अन्तर्निहित र वैध अधिकार" प्रयोग गर्ने बताएका छन्।

शुक्रवार इरानको सरकारी टेलिभिजनका एकजना उद्घोषकले "विश्वले असाधारण दृश्यहरू देख्ने" चेतावनी दिएका थिए।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना नागरिकहरूलाई "चुनौतीपूर्ण दिनहरू आउँदै गरेको र आफूहरूले सबै पक्षबाट धम्की पाइरहेको" चेतावनी दिएका छन्। यद्यपि उनले "आफूहरू कुनै पनि परिस्थितिका लागि तयार रहेको" पनि बताएका छन्।

इजरेलको कब्जामा रहेको गोलन हाइट्समा भएको आक्रमणमा १२ जना बालबालिका तथा किशोरकिशोरीको मृत्यु भएपछि इजरेलको हिजबुल्लाह र इरानको तनाव बढ्न सुरु भएको थियो।

इजरेल हिजबुल्लाह तनाव

तस्बिर स्रोत, Reuters

पछिल्लो तनाव

उक्त घटनामा हिजबुल्लाहको हात रहेको इजरेली आरोप छ र उसले त्यसको "गम्भीर" बदला लिने बताएको छ। हिजबुल्लाहले त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

उक्त घटनाको केही दिनपछि हिजबुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकरको हवाई हमला गरी इजरेलले बेइरुतमा हत्या गर्‍यो। त्यस घटनामा दुई बालबालिकासहित अन्य चार जनाको पनि मृत्यु भएको थियो।

त्यसको केही घण्टापछि हमासका प्रमुख इस्माइल हानियाहको इरानमा हत्या गरियो।

उनी इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको शपथग्रहण समारोहमा सहभागी हुन तेहरान पुगेका थिए।

गत बिहीवार तेहरानमा हानियाको अन्तिम संस्कार समारोहमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेइले अन्तिम संस्कारका बेला गरिने प्रार्थनाको नेतृत्व गरे।

उक्त हत्याका लागि इजरेलले ‘कठोर सजाय’ पाउने उनले त्यसअघि बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।