इजरेली सेनाले एकजना घाइते प्यालेस्टिनीलाई गाडीमा बाँधेर घुमायो

तस्बिर स्रोत, Reuters
- Author, रोबर्ट प्लमर
- Role, बीबीसी न्यूज
इजरेली सेनाले वेस्ट ब्याङ्कको जेनिनमा छापा मार्ने क्रममा एकजना घाइते प्यालेस्टिनी पुरुषलाई आफ्नो गाडीको अगाडि बाँधेर "प्रोटोकलको उल्लङ्घन गरेको" स्वीकारेको छ।
प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा भिडिओ शेअर गरेपछि उक्त घटना उजागर भएको थियो।
त्यसपछि इजरेल डिफेन्स फोर्सेस आईडीएफले आफ्ना सैनिकहरूले "प्रोटोकल" मिचेर त्यस्तो गरेको स्वीकारेको हो।
आईडीएफको एक विज्ञप्तिमा छापा मार्ने क्रममा भएको गोली हानाहानमा ती व्यक्ति घाइते भएको जनाएको छ।
सो दाबीका अनुसार गाडीमा बाँधेर लगिएका ती घाइते सन्दिग्ध व्यक्ति थिए।

तस्बिर स्रोत, Getty Images
घाइतेका परिवारले के भने?
भिडिओमा देखिएका घाइते व्यक्तिका परिवारका सदस्यहरूले उनका लागि एम्बुलेन्स माग गरिएको बताएका छन्।
एम्बुलेन्स माग गरेपछि इजरेली सैनिकहरूले घाइतेलाई लगेर जीपको बोनेटमा बाँधेका थिए।
त्यसपछि उनीहरूले गाडी गुडाएर लगेको परिवारका सदस्यहरूले बताएका छन्।
अन्ततः ती व्यक्तिलाई उपचारका लागि रेड क्रेसेन्टको जिम्मा लगाइएको थियो।
आईडीएफले उक्त घटनाको अनुसन्धान गर्ने जनाएको छ।
प्रत्यक्षदर्शीहरूले रोएटर्स समाचार संस्थासँग कुरा गर्दै उनी स्थानीय व्यक्ति भएको र उनको नाम मुजाहेद आजमी रहेको बताएका छन्।
आईडीएफले के भन्यो?
"आज बिहान [शनिवार] वादी बुर्किन क्षेत्रमा सन्दिग्ध व्यक्तिहरूलाई पक्राउ गर्ने प्रतिआतङ्कवाद अभियानका क्रममा आतङ्कारीहरूले आईडीएफ सैनिकहरूलाई गोली प्रहार गरेपछि त्यसको जबाफमा फायरिङ भयो," आईडीएफको विज्ञप्तिमा भनिएको छ।
गोली हानाहानका क्रममा एकजना सन्दिग्ध घाइते भएको र उनलाई पक्राउ गरिएको उसले जनाएको छ।
"आदेश र सञ्चालनसम्बन्धी प्रक्रियाहरूलाई उल्लङ्घन गर्दै सन्दिग्धलाई सुरक्षाबलले गाडीमा चढाउँदा बाँधेर लग्यो," आईडीएफले भनेको छ।
"घटनाको भिडिओमा देखिएको गतिविधि आईडीएफको मूल्यअनुरूप छैन। घटनाको छानबिन गरी सोहीअनुसार कारबाही गरिनेछ।"
वेस्ट ब्याङ्क र गाजामा कतिको ज्यान गइसक्यो?

तस्बिर स्रोत, EPA
गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरेलमा हमासको घातक हमलाबाट सुरु भएको इजरेल-गाजा युद्धदेखि नै वेस्ट ब्याङ्कमा पनि हिंसामा वृद्धि भएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पूर्वी जेरुसलेमलगायत वेस्ट ब्याङ्कमा भएका द्वन्द्वसँग सम्बन्धित घटनाहरूमा हालसम्म कम्तीमा ४८० प्यालेस्टिनीहरू मारिइसकेका छन्।
त्यसमा सर्वसाधारण, सशस्त्र समूहका सदस्य, आक्रमणकारीलगायत रहेका छन्।
वेस्ट ब्याङ्कमा छजना सुरक्षा बलका सदस्य सहित १० इजरेलीको पनि ज्यान गएको छ।
हमासको हमलामा गत अक्टोबरमा करिब १२ सय मानिसहरू मारिएका थिए।
त्यसयता गाजामा भएको इजरेली हमलामा परेर साढे ३७ हजार जनाभन्दा बढी मानिसहरू मारिएको हमासद्वारा सञ्चालित स्वस्थ्य मन्त्रालयले जनाएको छ।
त्यसमध्ये करिब आधाजति बालबालिका र महिला छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








