चीनमा अलपत्र छाडिएको कुकुर २५ हजार डलरमा विक्री

कुकुर

तस्बिर स्रोत, CHAOYANG DISTRICT COURT/TAOBAO

चीनमा इन्टरनेटबाट निकै चर्चित बनेको अलपत्र छोडिएको एउटा कुकुर लिलामीमा २५,००० अमेरिकी डलरमा विक्री भएको छ।

उक्त कुकुरलाई सात वर्षअघि घरपालुवा जनावरलाई तालिम दिइने एक केन्द्रमा छोडिएको थियो। तर उसका मालिक कहिल्यै फर्किएनन्।

त्यसपछि बेइजिङस्थित एउटा अदालतले उक्त आठवर्षे कुकुरलाई लिलामीमा राख्न आदेश दिएको थियो।

अनलाइनमार्फत् गरिएको लिलामीले व्यापक चासो उत्पन्न गराएको थियो।

सुरुमा ७८ डलर मूल्य तोकिएको दङ दङले ३२० गुनाभन्दा बढी मूल्य पायो। यो जापानी सिकारी कुकुर 'शिबा इनु' जातको कुकुर हो।

लिलामीको प्रक्रिया २४ घण्टामा सम्पन्न भइसक्नुपर्ने थियो।

तर ४८० जनाले किन्ने इच्छा देखाएपछि तथा लिलामी प्रक्रियाको सूचना १,६६,००० भन्दा बढी पटक हेरिएपछि उक्त प्रक्रिया पाँच घण्टा लम्ब्याइएको थियो।

क्रिप्टोकरेन्सीसँगको संयोग

शिबा इनु नाम गरेको क्रिप्टोकरेन्सीको मूल्यवृद्धिसँगै त्यो जातको कुकुरको माग पनि व्यापक रूपमा बढेको छ।

गत महिना अर्बपति एलन मस्कले आफूले पालेको शिबा इनुको एउटा बच्चाको तस्बिर सामाजिक सञ्जालमा प्रेषित गरेका थिए।

कुकुर

तस्बिर स्रोत, CHAOYANG DISTRICT COURT/TAOBAO

अलपत्र छोडिएको दङ दङका कारण प्रशिक्षण केन्द्रले घाटा बेहोर्नुपरेको थियो।

त्यसैले उसले कुकुरको मालिकविरुद्ध मुद्दा दायर गर्‍यो र शुल्क तिर्न भन्यो।

तर अदालतले समेत उसको मालिक फेला पार्न नसकेपछि दङ दङको लिलामी गरिएको हो।

कुकुर प्रशिक्षण केन्द्रले गरेको विज्ञापन र साथै प्रकाशन गरिएको भिडिओ चिनियाँ सामाजिक सञ्जाल वेबोमा भाइरल भयो। कैयौँ प्रयोगकर्ताहरूले कुकुरप्रति सहानुभूति व्यक्त गरे।

शिबा इनु छोटो रौँ अनि स्यालको जस्तो अनुहार भएको फुर्तिलो सानोदेखि मध्यम आकारको सिकारी कुकुर हो।

दङ दङ किन्ने व्यक्ति को हुन् भन्ने कुरा भने खुलाइएको छैन।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मालिकलाई छ दिन अस्पताल बाहिर कुर्ने कुकुर