भियतनाम: कोभिडको भयले १२ वटा आफ्ना कुकुरको हत्या गरिएपछि शोकमा कुकुरधनी

तस्बिर स्रोत, Pham Minh Hung
- Author, बुइ थु
- Role, बीबीसी न्यूज भियतनमीज
कोरोनाभाइरसको सङ्क्रमण फैलन थालेपछि भियतनामको एउटा जोडी लङ एन प्रान्तबाट आफ्ना कुकुरहरूलाई मोटरसाइकलमा राखेर निस्किए।
पछि उनीहरूमा कोभिड भएको प्रमाणित भयो। अस्पतालको बिछ्यौनामै रहँदा उनीहरूले आफूले घरमा पालेका १२ वटा कुकुरहरूलाई ती जनावरले कोरोनाभाइरस सङ्क्रमण फैलाउने आशङ्कामा मारिदिएको थाहा पाए।
"मेरी श्रीमती र म धेरै रोयौँ र सुत्न पनि सकेनौँ," ४९ वर्षका इट्टाका संरचना बनाउने मिस्त्री फाम मिन हङ भन्छन्।
"मलाई त्यस्तो भयो भनेर विश्वास पनि गर्न मन लागेन। मैले मेरा सन्तानको रक्षाका लागि केही गर्न सकिन," आफ्ना कुकुरका बारेमा उनले भने।
उनीहरूको पीडा सामाजिक सञ्जालको एप टिकटकमा राखिएपछि त्यसले भियतनाममा सरकारको चर्को आलोचना भइरहेको छ।
त्यस्ता खालका गतिविधि रोक्न माग गरिएका अनलाइन ज्ञापनपत्रहरूमा डेढ लाखभन्दा बढीले हस्ताक्षर गरेका छन्।
कुकुरप्रतिको प्रेमको सर्वत्र चर्चा
कोभिड-१९ को पछिल्लो लहरले भियतनामलाई महामारी सुरु भए यता सबैभन्दा बढी असर पारेको छ।
सरकारले कडा निषेधाज्ञाहरू लगाएपछि कम्तीमा १० लाख कामदारहरू जीवनयापन धौ धौ भएर ठूला शहरबाट भाग्न बाध्य भएका छन्।
त्यसमा फिम मीन हुङ र उनकी श्रीमती नुएन थी ची इम पनि थिइन्।
अक्टोबर ८ मा उनीहरू आफ्ना कुकुरहरू र तीन कुकुर र एउटा बिरालो बोकेका आफ्ना तीन आफन्तसँग २ सय ८० किलोमिटरको यात्रामा निस्किएका थिए।
आफ्ना जनावरहरूलाई दर्शाएको प्रेमका कारण भियतनाममा सामाजिक सञ्जालमा लोकप्रिय भएको एउटा जोडी आफ्ना कुकुरहरू राज्यले मारिदिएपछि शोकमा छन्।

तस्बिर स्रोत, Pham Minh Hung
उनीहरू कोभिडका घटना उच्च नभएका एक जना आफन्तको गृहनगरतर्फ जाँदै थिए।
त्यस क्रममा कैयौँ प्रत्यक्षदर्शीहरूले उनीहरूको मोटरसाइकल यात्राको भिडिओ खिचेका थिए जसमा कुकुरहरू र उनीहरूका अरू सरसामान देखिन्थ्यो।
उक्त जोडी सामाजिक सञ्जाल प्रयोगकर्ताको नजरमा लोकप्रिय बनेको थियो र धेरै जनाले उनीहरूलाई शुभ यात्राको कामना गरेका थिए।
कैयौँले कुकुरहरूलाई परिरहेको पानीबाट जोगाउन त्यो जोडीले बर्सादी प्रयोग गरेको देखेर आफूहरू भावविभोर भएको बताएका थिए। कतिपयले त उनीहरूलाई खानेकुरा र पानीको समेत बन्दोबस्त गरिदिएका थिए।
उक्त जोडीले १५ वटा कुकुरहरूसहित यात्रा सुरु गरेको थियो। तर बीच बाटोमा दुईवटा कुकुर उनीहरूले स्वयंसेवकलाई दिएका थिए।
यात्राको क्रममा सो जोडीमा कोभिड देखा परेपछि उनीहरू उपचारका लागि भर्ना भएका थिए। उनीहरूका कुकुर भने क्वारन्टीन केन्द्रमा लगिएका थिए।
तर स्थानीय अधिकारीहरूले १२ वटा कुकुर, उनीहरूका आफन्तका घरपालुवा कुकुर र बिरालो उनीहरूलाई खबर नै नगरी मारिदिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। उक्त खबर पछि अनलाइनबाट हटाइएको थियो।
ती जनावरहरूलाई कसरी मारिएको थियो प्रस्ट छैन तर आधिकारिक प्रहरी अखबारले उनीहरूलाई जलाएर मारिएको सङ्केत दिने गरी तस्बीर प्रकाशित गरेको छ।
"रोगको नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ र तत्कालै जनावरहरूलाई मार्नु अनावश्यक कदम थियो," स्थानीय अधिकारी ट्रान टान कोङले भनेका छन्।
'क्रूर कदम'
अनलाइनहरूमा कैयौँले सरकारी कदमलाई 'नृशंस' र 'हृदयविदारक' भनेका छन्।
जनवारहरूको परोपकारी संस्था फोर पअजकी सदस्य रहेकी अभिनेत्री होङ अनले सरकारी कदमलाई क्रूर भन्दै विरोध गरेकी छन्।

तस्बिर स्रोत, UGC
हालसम्म कुकुर र बिरालोबाट मानिसमा कोरोनाभाइरसको सङ्क्रमण सर्ने वैज्ञानिक प्रमाण नभएको एक जना वैज्ञानिक डाक्टर नुएन होङ भू बताउँछन्।
त्यसरी ती जनावर मार्नु गलत भएको भन्दै उनले कोभिड भएका मानिसहरूले बेला बेलामा कुकुर र बिरालोमा सङ्क्रमण सार्न सक्ने बताए।
टेक्ससमा गरिएको एउटा सर्वेक्षणमा ७६ वटा कुकुर र ३९ वटा घरका बिरालो अध्ययन गर्दा ३ वटा बिरालो र एउटा कुकुरमा कोरोनाभाइरस सङ्क्रमण पाइएको थियो।
ती जनावरमा खासै लक्षण देखिएको थिएन वा मध्यम लक्षणमात्रै देखिएको थियो र सबैलाई चाँडै निको भएको थियो।
डाक्टर नुएनका अनुसार भियतनामको जस्तो अवस्थामा जनावरहरूलाई पिँजडामा क्वारन्टीनमा राख्ने, मालिकको आफन्तसँग सम्पर्क गराउने र निको नहुन्जेल सामाजिक संस्थालाई जिम्मा लगाउने जस्ता अरू सही निर्णय गर्नुपर्छ।
'युद्धजस्तो मनस्थिति'
महामारी सुरु हुँदा विश्व स्वास्थ्य सङ्गठनबाट द्रुत प्रतिकार्य र कन्ट्याक्ट ट्रेसिङका लागि प्रशंसा पाएको भियतनामलाई कोरोनाभाइरसको डेल्टा भेरिअन्टले सताएको छ।
त्यहाँ ८ लाख ४० हजार भन्दा बढी सङ्क्रमण र २० हजार भन्दा बढी मृत्यु पूष्टि भएको छ। पछिल्लो लहरमा अधिकांश घटना देखा परेका थिए।
कैयौँ मानिसहरूलाई सङ्क्रमण फैलाएकोमा अभियोग लगाइएको र दोषी ठहर गरिएको छ। कतिपयलाई पाँच वर्षसम्म जेल सजाय सुनाइएको छ।
कैयौँले घरपालुवा जनावरहरूलाई मार्ने सरकारको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छैनन्।
एक जना विश्लेषक ली अन भन्छन्, "भियतनाम सरकारले महामारी विरुद्धको लडाइँ शत्रुसँगको युद्ध जस्तै हो भनिरहेको छ। यसको अर्थ देश अहिले युद्धमा छ। युद्धको बेला तपाईँ तथ्यमा आधारित वा मानवीय व्यवहारको अपेक्षा राख्न सक्नुहुन्न।"
फामलाई भने आफ्ना प्रिय जनवारहरू अरूबाट मारिएको सुन्दा सबैभन्दा पीडा भएको थियो।
अधिकारीहरूलाई जबाफदेही बनाउने अठोट उनको छ।
"मैले मेरा सन्तानहरू करिब ६ वर्ष हुर्काए। म मेरा बच्चाहरूका लागि निश्चयपनि न्याय चाहन्छु," उनले अस्पतालबाट भने।
ट्रान भोको थप रिपोर्टिङ्








