तस्बिरमा एउटा भाइरल गोरिल्लाको जीवन

तस्बिर स्रोत, Getty Images
रेन्जरसँग आनन्दको भाव प्रकट गर्दै सेल्फी खिचेकी एनडीआकासी नामक गोरिल्लाको निधन भएको छ।
सो तस्बिर भाइरल भएपछि धेरै जनाको प्रिय बनेकी एनडीआकासीको १४ वर्षको उमेरमा मृत्यु भएको हो।
लामो समययता बिरामी उक्त गोरिल्लालाई बच्चै छँदा एक वनरक्षकले उद्धार गरेका थिए।
टुहुरा गोरिल्लालाई संरक्षण गरिने अफ्रिकाकै सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज भिरूङ्गामा ती उद्धारकर्ता एन्द्रे बउमाको अँगालोमा एनडीआकासीको निधन भएको हो।
सन् २००७ मा सिकारीहरूले उनका आमाबुबालाई मारिदिएपछि बाउमाले दुई महिनाकी ती गोरिल्लालाई उद्धार गरेका थिए।
त्यस बेला उनी आफ्नी मृत आमासँगै टाँसिइरहेकी थिइन्।
कोही पनि आफन्त नभएकाले रेन्जर्सहरूले उनलाई जङ्गलमा पठाउन सुरक्षित नहुने निधो गरे र उनलाई बउमा व्यवस्थापक रहेको अनाथ गोरिल्लाहरू राख्ने ठाउँमा लगियो।
सन् २०१९ मा उनी र अर्को पोथी माउन्टेन गोरिल्ला एनडीइजी एक अर्का रेन्जरले सेल्फी लिइरहँदा त्यसमा अकस्मात् विभिन्न हाउभाउसहित देखा परेका थिए।

तस्बिर स्रोत, Ranger Mathieu Shamavu
उनीहरूले आफूहरूलाई हुर्काउने रेन्जरहरूको नक्कल गर्ने प्रयास गरेका एक पार्क अधिकारीले बताएका थिए।
ती रेन्जरहरू र गोरिल्ला एकदमै नजिक थिए।
सन् २०१४ मा बीबीसीसँग कुरा गर्दै बउमाले आफूले एनडीआकासीलाई आफ्नै छोरी जत्तिकै माया गर्ने बताएका थिए।

तस्बिर स्रोत, Virunga National Park
"हामी एउटै ओछ्यानमा सुत्यौँ। मैले उनीसँग खेले। उनलाई खुवाए… म आफूलाई उनको आमा भन्न सक्छु।"
अधिकांश माउन्टेन गोरिल्ला युगान्डा, रुवान्डा र कङ्गोका जङ्गली क्षेत्रमा बस्छन्।
तर जलवायु परिवर्तन, चोरी सिकारी र मानव अतिक्रमणले उनीहरूको जीवनलाई जोखिममा पारिरहेको छ।

तस्बिर स्रोत, Virunga National Park
भिरूङ्गा अवस्थित प्रजातान्त्रिक रिपब्लिक कङ्गोको पूर्वी क्षेत्र सरकार र विभिन्न सशस्त्र समूहहरू बीचको लडाइँको चेपुवामा परेको छ।
कतिपय सशस्त्र समूहहरू राष्ट्रिय निकुञ्ज भित्रै बस्छन् र जनावरहरूको सिकारी गर्छन्।
बिहीवार बाउमाले एनडीआकासीलाई जान्न पाउँदा आफूले मानव र बाँदर प्रजातिका जनावरहरू बीचको सम्बन्धबारे थाहा पाउन सकेको र त्यसले ती जनावरहरूलाई संरक्षण गर्नुपर्छ भन्ने बुझेको बताए।
"म उनलाई आफ्नो सन्तानलाई जस्तै माया गर्थे," उनले भने, "उनको रमाइलो व्यक्तित्वले प्रत्येक पटक अन्तरक्रिया गर्दा मेरो मुहारमा हाँसो ल्याउँथ्यो।"








