चिनियाँ हात्तीहरूको रोमाञ्चक यात्रा, १७ महिनापछि यसरी फर्कँदै छन् वासस्थान

तस्बिर स्रोत, Getty Images
- Author, टेसा वङ
- Role, बीबीसी न्यूज
लोपोन्मुख हात्तीको एउटा बथान १७ महिनादेखि चीनमा भौतारिँदै हिँडिरहेछ। त्यो बथानले नयाँ अनि साहसिक यात्रा तय गरेको छ।
प्राकृतिक बासस्थानभन्दा बाहिर सयौँ किलोमिटर भौतारिएपछि अन्ततः आफू बस्ने आरक्षण क्षेत्रतर्फ फर्कन थालेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
भौँतारिने क्रममा बथानका हात्तीहरू कहिले मानिसको घर भित्र पसे त केहीले यात्राको क्रममा बाटोमै छावा जन्माए। समग्रमा उनीहरूको यात्रा "द लर्ड अफ द रिङ्ग्स्"को कथाजस्तै रोमाञ्चक सुनिन्छ।
कहाँबाट सुरु भयो सिङ्गो बथानको यो यात्रा र कसरी फर्कँदै छन् उनीहरू?
दक्षिणी युनान प्रान्तको तल्लो भेगमा म्यानमार र लाओसको सीमासँगै छ - विशाल शिशौङ्बान्ना राष्ट्रिय प्रकृति आरक्षण क्षेत्र।
यो एउटा एउटा उष्णप्रदेशीय हराभरा जङ्गल जुन करिब २,१४,००० हेक्टरमा फैलिएको छ। यो जङ्गल युनानको अधिकांश लोपोन्मुख एशियाली हात्तीहरूको वासस्थान हो।
गत मार्च महिनामा यही आरक्षण क्षेत्रबाट करिब १४ वटा हात्तीहरू निस्किए र उत्तरतर्फ सोझिए।
हात्तीको बथान त्यसरी निस्किँदा सुरुमा त कसैलाई पनि नौलो लागेको थिएन किनकि त्यस क्षेत्रमा जङ्गली हात्तीहरू डुलिरहेका नै हुन्छन्। नजिकैको एक सहरमा त हात्तीलाई खाना खुवाउन चमेनागृहसमेत खोलिएको छ।
कुनै पनि हात्ती आफ्नो ठाउँ छोडेर धेरै पर जाँदैन र प्राय: केही समयमा नै आफ्नो क्षेत्रमा फर्कन्छ। यात्रामा निस्किएको यो झुण्डले भने एक महिनासम्म पनि पछाडि फर्कने छाँट नदेखाएपछि अधिकारीहरूले महसुस गरे, त्यो यात्रा सामान्य होइन।
अधिकारीहरूको अनुमान तब पुष्टि भयो जब यो वर्षको सुरुवातमा त्यो बथान गाउँमा पसेर मान्छेको घर भत्काउँदै, बाली फाँड्दै र पानी पिउँदै हिँडेको खबर सार्वजनिक भयो।
उनीहरूको सहरको गल्ली गल्ली भौँतारिएको सीसीटीभी फुटेजहरू भाइरल भएका थिए। उनीहरूको यस्तो व्यवहार र गतिविधिले विज्ञहरूलाई नै अचम्मित तुल्याएको छ।
तर कन्जरभेसन लेटर्स जर्नलमा प्रकाशन हुन लागेको एक लेखका अनुसार ती हात्तीहरू साबिकमा खाइरहेकोभन्दा बढी खाना खोज्दै हिँडेका हुन्।
प्राध्यापक अहिम्सा कामपोम-आर्सेजले नेतृत्व गरेको चिनियाँ विज्ञहरू सम्मिलित समूहले गरेको उक्त अध्ययनले त्यसो हुनुमा विभिन्न कारण देखाएको छ। हात्तीको बढ्दो सङ्ख्या कारण खानाको लागि प्रतिस्पर्धा हुनु पनि एउटा कारण बताइएको छ।
१५०,०००मानिसहरूलाई घरबाट अन्यत्र सारियो
१० लाख अमेरिकी डलर बराबरको क्षति भएको अनुमान
९७३ड्रोनको उडान सङ्ख्या
२५,०००कर्मचारी परिचालन
चीनले हात्ती संरक्षणका लागि चालेको कदम सराहनीय छ। प्रान्तमा पछिल्लो तीन दशकयता हात्तीको सङ्ख्या दोब्बर भएर करिब ३०० को हाराहारीमा पुगेको छ।
"अब हामीले यस सफलताको परिणामसँगै आएका चुनौतीहरूको पनि सामना गर्नुपर्छ। हात्तीहरूलाई हिँडडुल गर्ने ठाउँको अभाव भएको छ जसका कारण उनीहरूसँग मानिसको बस्ती, बाली, भौतिक संरचनाहरूको पर्वाह नगरी हिँड्नुको विकल्प छैन," प्राध्यापक अहिम्साले बीबीसीसँग भने।
उनी शिशौङ्बान्ना उष्णप्रदेशीय वनस्पति उद्यानका प्रमुख अनुसन्धानकर्ता हुन्।
हात्तीहरू जङ्गल छोडेर निस्किनु अघिसम्म देखिएको खडेरीका कारण पनि उनीहरूलाई आहारको अभाव भएको थियो। केहीको राय छ कि पछिल्लो दशकयता बढेको वन फँडानी र खेतीयोग्य जमिनका लागि गरिएको वन अतिक्रमणले चीनमा संरक्षित क्षेत्र बाहिर हात्तीहरूको बसोबास पातलिएको छ।
अधिकारीहरूले वनको संरक्षण बढाउने पहल गरेका छन्। तर विडम्बना त के भने संरक्षित क्षेत्रभित्र हात्तीका लागि आहारको अभाव हुन थालेको छ।
घना जङ्गलको छायाले सूर्यको किरण पर्याप्त मात्रामा जमिनमा पर्नबाट छेक्ने र हात्तीको लागि आहार हुने बिरुवा कम मात्र उम्रन पाउने प्राध्यापक अहिम्साले बताए।

तस्बिर स्रोत, CCTV
एउटा व्यापक अनि सफल काम
जब हात्तीको झुन्ड युनानको हरिया पहाड र जङ्गल हुँदै अगाडि बढ्न थाल्यो, चिनियाँ अधिकारीहरू एक विशेष कामका लागि तैनाथ भए। एक आकस्मिक कार्यदल गठन गरियो।
हजारौँ मानिसलाई एकत्रित गरेर यात्रामा निस्किएका हात्तीको बथानलाई गाउँ र सहर पस्नबाट रोक्दै अर्को बाटो लगियो।
अरु थलचरको तुलनामा हात्तीहरुलाई निकै धेरै भोक लाग्छ। यसरी निस्किएको यो बथानले हालसम्म १८० टनभन्दा बढी मकै, केरा र भूइँकटहरलगायत अन्य खानेकुरा खाइसकेका छन्।
यतिसम्म कि आहार खाने क्रममा एउटा जिज्ञासु हात्तीले गाडीको ऐना नै भाँचिदियो।
यी हात्तीहरूको निरीक्षण गर्ने ड्रोनले हात्तीहरू हिलोमा आहाल खेलेको, दुई हात्तीबीचको झगडा र छावाहरू चिप्लिएर खाडलमा खसेकोजस्ता केही रमाइला दृश्यहरू कैद गरेको छ।

तस्बिर स्रोत, CCTV
गत एप्रिलमा दुई वटा हात्ती झुन्डबाट अलग्गिए र वासस्थान फर्कने निर्णय गरे। अर्को एउटा हात्ती जुन महिनादेखि एक्लै भौँतारिन थाल्यो।
अधिकारीहरूले त्यसलाई बेहोस बनाए र प्राकृतिक वासस्थानमा फर्काए किनकि उनीहरू त्यस हात्ती एक्लै बाँच्न नसक्ने कुराले चिन्तित थिए। फर्किएका तीनवटै हात्ती भाले थिए जो प्राय: एक्लै यात्रा गर्छन्।
यात्राकै क्रममा यो बथानले नयाँ सहयात्री भेट्यो। बथानकै दुई वटा हात्तीले छावा जन्माएको दाबी गर्छन् प्राध्यापक अहिम्सा।
यो सबै भइरहँदा चिनियाँहरू सम्मोहित देखिएका थिए। युनान प्रान्तका यी एशियाली हात्तीहरूको रोमाञ्चक यात्रा राष्ट्रिय समाचार बन्यो। र गाउँलेहरूले एक झलक भए पनि ती हात्तीलाई हेर्नका लागि लाम लागे।
हात्तीहरूको हरेक कदम सूक्ष्म निगरानीमा राखिएको थियो। साथै वैज्ञानिकहरूले उनीहरूको बाटो र मलको अध्ययन गरिरहेका छन्।
यो चर्चित हात्तीको झुन्ड मकैको रक्सी पिएर मात्तिएको खबर समेत सार्वजनिक भएको थियो। जसको विज्ञहरूले खण्डन गरे।
अनि घर फर्कन बाध्य भए…

जुन महिनाको प्रारम्भमा यात्री हात्तीहरू वासस्थानबाट ५०० किलोमिटरभन्दा टाढा कुन्मिङ्ग प्रान्तको राजधानी पुगे।
यति परसम्म युनानका जङ्गली हात्ती कहिले पनि पुगेका थिएनन्। त्यहाँ पुगेपछि केही हात्ती आत्तिन थाले।
किनकि उनीहरू शरीरले सहन सक्नेभन्दा बढी चिसो ठाउँमा पुगेका थिए। यसले मानव सभ्यतासँग उनीहरूले अन्तर्क्रिया गर्नुपर्ने अवधि थपिएको थियो।
विज्ञहरूले बीबीसीलाई बताए अनुसार हात्तीहरू सहरमा भौँतारिनु र केहीबेरका लागि भुईँमा सुत्नुले उनीहरुको तनाव र थकानलाई सङ्केत गर्छ।
केही सातापछि उनीहरू दक्षिणतर्फ फर्किए र चाँडै युआन्जियाङ नदी नजिकै पुगे। जुन कुराले चिनियाँ अधिकारीहरूलाई राहत दिलायो। अधिकारीहरूका अनुसार बथान लम्किएतिर उनीहरू खोला तर्न सक्ने एउटा मात्र पुल थियो।
तैनाथ कार्यदलले हजारौँ सैनिक र कामदारहरू खटायो। उनीहरूले हात्तीलाई प्रलोभनमा पार्न ठाउँठाउँमा खाना राखे। विद्युतीय तारबार लगाए। कृत्रिम बाटो बनाए र उनीहरूलाई शीतल बनाउन गर्न सडकमा पानी छम्किए।
तर कृत्रिम बाटो पच्छ्याउन हात्तीहरू हिचकिचाइ रहेका थिए। उनीहरूले बाटो बिराएकै कारण ३० किलोमिटर हिँड्दा तय हुने यात्रा १४३ किलोमिटर लामो बन्यो।
अन्ततः अगस्ट ८ तारिखमा उक्त बथानले युआन्जियाङ नदी पार गर्यो। उनीहरू त्यतिन्जेल शिशौङ्बान्ना राष्ट्रिय निकुञ्जबाट २०० किलोमिटर टाढा थिए।
त्यहाँका स्थानीय सञ्चार माध्यमले उनीहरूको यात्राको अन्तिम चरणको यात्रा भनेर उद्घोष गरेको थियो।

तस्बिर स्रोत, Getty Images
अझै पनि यो बथान वासस्थानसम्म फर्कन्छन् भन्ने निश्चित छैन। उनीहरू वासस्थानसम्म पुगे पनि त्यहाँ धेरै समय नरहने अनुमान गरिएको छ।
आरक्षणका एक वरिष्ठ इन्जिनियरले सञ्चारकर्मीसँग भनेका छन् "उनीहरू पुनः उत्तरतर्फ हिँड्न थाल्ने लगभग निश्चितजस्तै छ।"
हात्तीहरूलाई प्राकृतिक वासस्थानमा फर्काउन लाखौँ युआन खर्च गरेपछि अधिकारीहरूले "एकीकृत संरक्षण व्यवस्थापन प्रणाली" स्थापित गर्ने बताएका छन्।
साथै वासस्थान संरक्षण र पुनर्स्थापनालाई बढवा दिने बताएका छन्। एशियाली हात्तीका लागि राष्ट्रिय निकुञ्ज बनाउने योजना पनि द्रुत गतिमा अघि बढिराखेको छ।
तर उनीहरूको वासस्थान फिर्ती केही ढिला भए पनि यी हात्तीहरूले असम्भव काम गरिसकेका छन्।
उनीहरू एउटा त्यस्तो अद्भुत यात्राको सुरुवात गरेका छन् जसले लोपोन्मुख प्रजाति मासिन सक्ने चुनौतीबारे विश्वव्यापी बहसको सुरुवात गरेको छ।










