जंगली हात्तीको संख्या बढ्दा व्यवस्थापनको चिन्ता

जंगली हात्ती
तस्बिरको क्याप्शन, जंगली हात्तीले मानवबस्ती र चिया बगानमा छिरेर उत्पात मच्चाउँछन्

विगत केही वर्षयता पूर्वी नेपालको सीमावर्ती झापामा जंगली हात्तीको संख्या बढ्दै गएपछि तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ।

वन्यजन्तुको वासस्थान र तिनले ओहोरदोहोर गर्ने क्षेत्रमा मान्छेको अतिक्रमण भएपछि हात्तीले राति बस्तीमा पसेर अन्नबाली खाइदिने र घरहरू भत्काइदिने गरेका छन्।

विगतमा हुलका हुल जंगली हात्तीहरू भारततिरबाट नेपाली भूमिमा आउने गर्थे।

जिल्ला वन कार्यालय झापाका अनुसार मेची नदीकिनारमा लगाइएको विद्युतीय तारबारका कारण हाल त्यसमा भने नियन्त्रण आएको छ।

बढ्दो संख्या

केही वर्षयता झापाकै सामुदायिक वनहरूमा जंगली हात्तीको संख्या ह्वात्तै बढेको जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदी बताउँछन्।

उनले भने, "पहिला तीन वटा मात्र थिए। अहिले ११ वटा भएका छन्। ती स्थानीय हात्ती नै हुन्।"

सुवेदीका अनुसार दक्षिणी भेगमा रहेको जलथल क्षेत्रको सामुदायिक वन, चारआलीको जंगल तथा खुदुनाबारी आसपासका वनमा जंगली हात्ती बस्ने गरेका छन्।

छावासहित ती जंगली हात्तीहरू रातको समयमा आहारा खोज्दै मानवबस्ती पस्ने गरेका छन्।

हात्ती आतंक
तस्बिरको क्याप्शन, अन्नबाली खान जंगली हात्ती घरखेत पस्छन्

"सामुदायिक वनहरू घना हुँदै गए। अन्नबाली पनि उनीहरूले मन पराउने प्रकारका छन्। त्यही कारणले झापामा हात्तीको संख्या बढेको हो," सुवेदीले भने।

द्वन्द्व

वन्यजन्तुविद्हरू हात्तीको संख्या वृद्धि हुनु सकारात्मक ठान्छन्।

तर हात्तीले अन्नबाली खाइदिएका स्थानीयवासी भने हात्तीलाई जसरी पनि लखेट्नुपर्ने बताउँछन्।

जंगली हात्ती
तस्बिरको क्याप्शन, झापाका स्थानीय वनमा जंगली हात्तीको संख्या ११ पुगेको छ

हात्ती र मान्छेबीचको द्वन्द्व बढेसँगै धेरै स्थानमा हात्तीको आक्रमणबाट सर्वसाधारणको ज्यानसमेत जाने गरेको छ।

वासस्थान संरक्षण

वन मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलका अनुसार सरकारले हात्तीले मन नपराउने वैकल्पिक बाली लगाउने, सर्वसाधारणमा चेतना जगाउने तथा क्षतिपूर्ति भराइदिने लगायतका काम सरकारले गर्ने गरेको छ।

तर वन्यजन्तुलाई कहीँ कसैले रोक्न नसक्ने हुनाले हात्ती हिँड्ने बाटोको संरक्षण र मानिसले हात्तीलाई लखेट्ने किसिमका गतिविधि बन्द हुनुपर्ने हात्ती संरक्षणमा लामो समयदेखि काम गरिरहेका विशेषज्ञ डा. नरेन्द्रमान प्रधान बताउँछन्।

"हात्तीको वासस्थानको संरक्षण नगरी हुँदैन। मानिसले अलिकति पनि विवेक पुर्‍यायो भने हात्तीबाट मानिसको ज्यान जाने क्रम ७० प्रतिशतसम्म रोकिन सक्छ," उनले भने।

हात्तीले बालीनाली नष्ट गरिदिएको खण्डमा बीमाबाट समेत त्यसको क्षतिपूर्ति लिन सकिने प्रधानले बताए।