चीनको हात्तीको बथानको लामो यात्रा: विश्वभरका वैज्ञानिकहरू अचम्मित

चीनमा जङ्गली हात्ती

तस्बिर स्रोत, Reuters

    • Author, सुरञ्जना तिवारी
    • Role, बीबीसी न्यूज

हात्ती निकै बुद्धिमान जनावर हो र तिनको दैनिकी अध्ययन गर्नेले रोचक तथ्यहरू थाहा पाएका छन्।

चीनमा लोपोन्मुख हात्तीको एउटा बथानले विश्वभरका वैज्ञानिकहरूलाई अचम्मित पारेको छ। मानिसहरू ती हात्तीको एउटा यात्राबाट चकित भएका छन्। 

हात्ती छोटो दूरी हिँड्नु अस्वाभाविक होइन तर हात्तीको एउटा बथान एक वर्षदेखि चीनभर हिँडिरहेको छ। 

अचम्मको यात्रा

ती हात्तीहरू आफ्नो वासस्थानबाट अहिलेसम्म ५०० किलोमिटर हिँडिसकेका सकेका छन्।

गत वसन्त याममा दक्षिण पश्चिम चीनको म्यान्मार र लाओस सीमा नजिकैको सिसुआनबेना राष्ट्रिय निकुञ्जबाट ती हात्तीले यात्रा सुरु गरेको बताइन्छ। 

तिनीहरू उत्तरतर्फ लागे र पछिल्ला केही महिनामा तिनले कयौँ गाउँबस्ती र सहर चहारिसकेका छन्।

तिनीहरू घरहरूका ढोका तोडेका छन्, पसलहरू फुटाएका छन्, खानेकुराहरू 'चोरेका' छन्, माटोमा खेलेका छन्, नहरमा नुहाएका छन् र जङ्गलको बीचमा सुतेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनमा जङ्गली हात्तीको झुन्डको अचम्मको ५०० किमी यात्रा

युसी सहर नजिकैको एउटा सानो बस्तीमा अन्तिम पटक देखिएका तिनीहरू फेरि दक्षिणतर्फ हिँड्न खोजेजस्तो देखिन्छ। 

तिनीहरू पुरानै ठाउँ फर्कन खोजेका हुन् अथवा तिनीहरू किन यत्रो यात्रा गरे भन्ने स्पष्ट छैन।

यो चीनमा हात्तीले गरेको ठानिएको सबैभन्दा लामो यात्रा हो। अब तिनीहरूले के गर्लान् भन्ने पनि थाहा छैन।

द्विविधामा वैज्ञानिकहरू 

वास्तविक सत्य कसैलाई थाहा नभएको सिटी युनिभर्सिटी अफ न्यूयोर्कको हन्टर कलेजमा हात्ती मनोविज्ञानसम्बन्धी सहप्राध्यापक जोस्अ प्लटनिक ठान्छन्। 

उनी भन्छन्, "यो अवश्य पनि खाना, पानी र बासजस्ता स्रोतसँग जोडिएको छ।"

"धेरै एशियाली जङ्गली हात्तीहरू बस्ने ठाउँ घना जङ्गल हुन्छ। यसले तिनीहरूको वासस्थानमा मानव अवरोध बढेको थाहा दिन्छ।" 

प्लटनिक तिनीहरूको यात्रा उक्त बथानको सामाजिक पक्षसँग जोडिएको हुनसक्ने ठान्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते

हात्तीको समाजिक पक्ष

हात्तीहरूको समाज मातृसत्तात्मक हुन्छन् जहाँ ज्येष्ठ र बुद्धिमान ढोईले सन्तानहरूलाई नेतृत्व गर्छिन्।

किशोरावस्था पार गरेपछि पुरुष बथानबाट छुट्टिएर ढोईले एक्लै यात्रा गर्न थाल्छ वा छोटो समयका लागि पुरुषहरूको अन्य समूहमा मिसिन्छ।

तिनीहरू गर्भधारण प्रक्रियाका लागि मात्रा छोटो समय छुटिन्छन्।

यद्यपि यस बथानमा तीन पुरुषसहित १६ देखि १७ हात्ती थिए। 

एक महिनापछि दुई जना पुरुषहरूले त्यसलाई छाडेका थिए भने अर्को एउटाले गत महिना मात्र बथान छाड्यो।

हात्तीहरू

तस्बिर स्रोत, Reuters

सिसुआनबेना ट्रपिकल बोटानिकल गार्डेनका मुख्य सुपरिवेक्षक तथा प्राध्यापक अहिंसा क्याम्पोस- अर्चिजले भने, "यो अस्वाभाविक होइन। तर एउटा कसरी यति लामो समय बथानमा रहन सक्यो भनेर म अचम्मित छु।"

"नयाँ परिवेश भएर पनि हुन सक्छ। जब मैले तिनीहरू गाउँ वा सहरमा यात्रा गरेको देखेँ, तिनीहरू निकै नजिक रहेर यात्रा गरेको देखिन्थ्यो, जुन तिनीहरू तनावमा रहेको सङ्केत हो।" 

हात्तीहरूको जन्ममा खुसी हुने वा मृत्युमा शोकाकुल हुने र नयाँ भूभागमा तनाव लिनेजस्तो स्वभाव मानिसहरूसँग मिल्छ। 

यात्राका क्रममा दुई हात्तीले बच्चा जन्माएको विषयले समेत अनुसन्धानकर्ताहरूलाई अचम्मित पारेको छ।

जिम्बाब्बेमा रहेको वन्यजन्तु संरक्षण संस्था गेम रेन्जर्स इन्टर्न्याश्नलकी लीजा ओलिभरले भनिन्, "हात्तीहरू आफ्ना बानी-व्यवहारसँग अभ्यस्त हुन्छन्। गर्भवती अवस्थामा उनीहरू नयाँ ठाउँमा जाने अस्वाभाविक कुरा हो।"

"त्यस्तो बेलामा तिनीहरू आफ्ना लागि सबैभन्दा सुरक्षित ठाउँ खोज्छन्।" 

ओलिभरले उनीहरू एकसाथ सुतेको चर्चित तस्बिर समेत निकै अस्वाभाविक भएको ठान्छिन्। 

"तिनीहरू पक्कै निकै थाकेका हुन सक्छन्।"

सुतेका हात्तीहरू

तस्बिर स्रोत, Reuters

स्थान अभाव

यो बसाइसराइ होइन भन्नेमा वैज्ञानिकहरू एकमत छन्। किनभने उनीहरूले निश्चित बाटो पच्छ्याएका छैनन्। 

बृहत् संरक्षण कार्यक्रमका कारण हात्तीको जनसङ्ख्या बढ्दो क्रममा रहेको देशमा चीन गनिन्छ।

चोरीशिकारीविरुद्ध गरेका कामका कारण जङ्गली हात्तीको सङ्ख्या सन् १९९० को दशकमा रहेको १९३ बाट अहिले ३०० जति पुगेको छ। 

तर सहरीकरण र वनविनासले उनीहरूको वासस्थान बिथोलिएका कारण तिनीहरूले पर्याप्त खानेकुरा सहितको नयाँ सुरक्षित घर खोजेको हुनसक्ने विज्ञहरू ठान्छन्। 

एउटा हात्तीलाई दिनमा १५० देखि २०० किलोसम्म खानेकुरा आवश्यक पर्छ। 

अहिलेसम्मतिनीहरूको यात्राले मानिसहरूसँग कुनै मुठभेड सिर्जना नगरेकोमा वैज्ञानिकहरू प्रसन्नता व्यक्त गर्छन्।

अधिकारीहरूले त्यस यात्रा पछ्याउन प्रयोग गरेका ड्रोनले उनीहरूबारे निकै विवरण सङ्कलन गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यस्तो चलाख हात्ती!