पर्यटनका निम्ति पीडित हात्ती

तस्बिर स्रोत, World Animal Protection
वर्ल्ड एनीमल प्रोटेक्सन ग्रुप नामक संस्थाले नेपाल, थाइल्याण्ड, लाओस, क्याम्बोडिया, श्रीलंका तथा भारतमा रहेका हात्ती प्रयोग हुने सयौं स्थलको अध्ययन गरेर तिनलाई दयनीय अवस्थामा राखिएको पाइएको निचोड निकालेको बताएको छ।
सेल्फीको दोष?
दशौं लाख मानिसहरु हात्तीमा सवार भएर वा उसलाई नुहाइदिएर वा थप्थपाएर त्यसको सेल्फी फोटो खिंच्न चाहन्छन्।
तर वर्ल्ड एनीमल प्रोटेक्सन ग्रुप वाप ले गरेको अध्ययन अनुसार उनीहरुको त्यस्ता चाहनाले हात्तीलाई जंगलबाट समाएर ल्याएर मनोरञ्जनका निम्ति प्रयोग गर्ने क्रम बढाएको छ।
थाइल्याण्डमा गत पाँच वर्ष यता त्यसरी प्रयोगमा ल्याइएका हात्तीका संख्या एक तिहाईले बढेको छ।
वाप अनुसन्धानकर्ताहरुले झण्डै तीन हजार हात्तीमा गरेको अध्ययनले ती मध्ये तीन चौथाईलाई अत्यन्त निर्दयी हालतमा राखिएको देखाएको छ।
कतिपय हात्तीलाई तीन मिटरभन्दा छोटो डोरीमा बाँधिएको तथा तिनलाई क्रंक्रिट भुईंमा अनि भिड एवं कोलाहल युक्त वातावरणमा उभिन वाध्य पारिएको थियो।
कडाई

तस्बिर स्रोत, World Animal Protection
करिब १६० ट्राभल कम्पनीहरुले हात्ती सवारी तथा प्रदर्शनहुने स्थलका टिकट बेच्न बन्द गरिसकेका छन्।
सन् २०१६ मा ट्रिपएडभाइजर भन्ने वेबसाइटले पर्यटकहरुलाई हात्ती सहित जंगली जनावरको प्रत्यक्ष सम्पर्कमा ल्याउने गतिविधिका टिकट नबेच्ने घोषणा गरेको थियो।
वापका एक सल्लाहकार डाक्टर ज्यान स्मिड बर्बखका अनुसार हात्तीलाई निर्दयी तरीकाले सवार तथा प्रदर्शनमा प्रयोग गर्ने क्रम बढिरहेको छ।
ती हात्तीलाई तिनको आमाको साथबाट सानैमा छुटाएर ल्याइएको हुने तथा तिनलाई बर्बर तरीकाले हुर्काइएको हुने नभुल्न उनले पर्यटकहरुलाई आग्रह गरेका छन्।
वापको यो अनुसन्धान नोभेम्बर २०१४ देखि मे २०१६ सम्म थाइल्याण्ड, लाओस, क्याम्बोडिया, श्रीलंका, नेपाल तथा भारतका त्यस्ता हात्ती प्रयोग हुने स्थलमा गरिएको हो।
करिब २२० स्थलमा तीन हजार हात्तीको अनुगमन गर्दा केवल २० हात्तीमात्र सन्तोषजनक अवस्थामा राखिएको पाइएको थियो।








