नेपाल हिउँदयामः जहाँ हिउँ साँधेर खाने र हिउँको पानीले बालबालिकालाई नुहाइदिने चलन छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, हिउँ पर्यो फुरुरु...
    • Author, कृष्णमाया उपाध्याय
    • Role, जुम्ला

अहिले देशभरि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधवार दिउँसो पनि सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्‌ गङ्गा नगरकोटीले बताइन्।

त्यसैगरी उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले वर्षा र हिमपात भएको नगरकोटीले बताइन्। उनी भन्छिन्, "हिउँदमा यसरी पानी पर्नु सामान्य नै हो।"

सुधार कहिलेबाट?

बुधवार बिहान ८ बजेसम्म सबैभन्दा बढी गोरखाको बारपाकमा पानी परेको मापन गरिएको छ। त्यहाँ २९.४ मिलिमिटर पानी परेको छ।

त्यसैगरी मनाङको हुन्डेमा २७.५ मिलिमिटर, चितवनमा २५.८ मिलिमिटर र लमजुङ २४.६ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद्‌ नगरकोटीले बताइन्।

"भोलिबाट नेपालको पश्चिमी भूभागबाट मौसममा क्रमिक रूपमा सुधार हुँदै जानेछ," उनले भनिन्।

मौसमी प्रणालीको दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाण्डूको चन्द्रागिरी डाँडा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, काठमाण्डूको चन्द्रागिरी डाँडा

हिउँ साँधेर खाने चलन

जुम्लालगायत कतिपय हिमाली जिल्लामा हिउँ परेर रोकिएको भोलिपल्ट घाम लाग्दा घरनजिक वा टाढाबाट हिउँ ल्याई साँधेर खाने चलन रहिआएको छ।

जुम्लाकी भगवती आचार्यले भनिन्, "हिउँमा नुन, खुर्सानी, चुक तथा अमिलो पदार्थ र चिनी मिलाएर राख्ने अनि घाम लागेका बेला घाममा बसेर घरपिरवार तथा साथीभाइ मिलेर खाने चलन छ।"

अहिलेभन्दा पनि फागुन-चैतमा घरदेखि टाढासम्म गएर पनि हिउँ ल्याउने र साँधेर खाने चलन रहेको उनले बताइन्।

त्यति मात्रै नभई यहाँ परेको हिउँ हवाईजहाजमार्फत् नेपालगन्ज, सुर्खेत तथा काठमाण्डूसम्म पुर्‍याउने गरेको पनि जुम्लाका अर्का स्थानीय बासिन्दा देवेन्द्रराज गिरी बताउँछन्।

साँधेको हिउँ खाँदै

उनले भने, "कसैकसैले बेच्ने गरेको पनि मैले देखेको छु। तर नेपालगन्जमा रहेका मेरा आफन्तहरूले धेरै पटक हिउँ मगाएका पनि छन्।"

त्यहाँ पुर्‍याएको हिउँ आफन्तका साथै अन्य मानिसले साँधेर खाँदा कतिपय आश्चर्यजनक ढङ्गले हेर्ने र सोध्ने गरेको उनले बताए।

जुम्लामा हिउँ परेपछि खाने मात्रै नभई बालबालिकालाई हिउँको पानीले नुहाउने चलन पनि रहेको स्थानीयवासी जानकी शाहीले बताइन्।

"चैत-वैशाखमा बच्चाहरूलाई गर्मी नलागोस् र बिरामी नपरून् भनेर अग्ला डाँडामा गएर हिउँ ल्याउने र त्यहीँ हिउँ पग्लेको पानीले नुहाउने चलन अहिले पनि रहिआएको छ,"उनले भनिन्।

गर्मी महिनामा बालबालिकालाई शीतल बनाउन नुहाउने गरेको उनी बताउँछिन्।

हिउँ

हिउँ पर्दा के-के गरिन्छ?

हिमाली जिल्लाहरू हुम्ला, जुम्ला डोल्पा, मुगु र कालिकोटमा हिउँ परेको समयमा विशेषगरी मकै, सिमी, भट्मास, गुराँस, गहतलगायत गेडागुडीको तथा सखीको खुट्टाको झोल बनाएर खाने चलन रहेको यहाँका स्थानीयवासी बताउँछन्।

चिसोको समयमा घरभित्रै बसेर आगो ताप्ने र गेडागुडी पकाएर खाने चलन पहिलादेखि नै रहिआएको जुम्लाकी ६८ वर्षीया बिजुली उपाध्यायले बताइन्।

मंसिरदेखि फागुनसम्म हिमाली जिल्लामा हिउँ पर्ने भएर आफूहरूले पहिलादेखि नै हिउँदमा आगो बाल्नका लागि दाउरा अनि खानका लागि तरकारी तथा पिठो र चामल सबै जम्मा गरेर राख्ने चलन रहिआएको उनले बताइन्।

उनका अनुसार हिउँ परेको समयमा महिलाहरूले घरभित्रै बसेर सिरक तक्ने, भेडाको ऊन छान्ने, पोते उन्ने, स्वेटर बुन्ने र बालबालिका तथा ज्येष्ठ नागरिकका लागि तातोतातो खाने कुरा बनाएर समय समयमा खाने गर्छन्।

हिउँ परेको समयमा लोककथाहरू सुनाउने रमाइलो गर्ने चलन रहिआएको उनी बताउँछिन्।

टिकटक बनाउँदै एक युवती
तस्बिरको क्याप्शन, टिकटक बनाउँदै एक युवती

यो समयमा रात पनि लामो हुने भएकाले यसो गर्नाले समय बिताउन सजिलो हुने गरेको उनको अनुभव छ।

जुम्लाकी अर्की स्थानीय बासिन्दा मनिषा शाही भन्छिन्, "आमा र बज्यैहरूले हिउँसम्बन्धी भनेका कथा र उखानहरू सुन्दा निकै आनन्द लाग्छ।"

यति बेला विशेषगरी ज्येष्ठ नागरिकलाई उखान भन्ने गरिएको उनले बताइन्।

हुम्ला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हुम्लामा भीषण हिमपात भएको छ

उनले भनिन्, "हिउँ पर्‍यो पुस, बूढाबूढी रुस, हिउँ पर्‍यो माघ, बूढाबूढी भाग। हिउँ पर्‍यो बान्ना बच्चाबच्ची तान्ना जस्ता उखान एकअर्कालाई भन्ने र रमाइलो गर्ने गर्छन्।"

हिउँ परेको समयमा जुम्लाका किसानहरू स्याउ, आरु, ओखरलगायत फलफूल खेतीमा सिँचाइ गर्नका लागि हिउँ सङ्कलन गर्ने गर्दै आएका छन्।

अहिलेको हिउँले जौ, गहुँ, उवालगातय बालीको उत्पादन राम्रो हुने भएकाले आफूहरूले हिउँ सङ्कलन गरेर राख्ने गरेको जुम्लाकी अर्की किसान भगवती आचार्य बताउँछिन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मौसमसम्बन्धी एपबारे तपाईँले जानुपर्ने कुरा