नेपाल मौसमः पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्यो, काठमाण्डू आसपासका डाँडामा पनि 'हिउँ पर्न सक्ने'

हुम्लामा हिमपात

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हुम्लामा हिमपात भएको छ

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै मङ्गलवारदेखि नेपालका अधिकांश स्थानमा चिसो बढेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतवारदेखि सुदूरपश्चिम प्रदेश हुँदै उक्त प्रणाली नेपालमा प्रवेश गरेको हो।

अहिले देशभरिका कतिपय उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको र दिनको समयमा घाम नलागेका कारण अधिकतम तापक्रम घटेको मौसमविद्हरू बताउँछन्। कतिपय स्थानमा तापक्रम झरेर शून्यमुनि माइनसको मानमा पुगेको छ।

जुम्ला, ताप्लेजुङ, जिरी र जोमसोम आदि क्षेत्रमा अहिले तापक्रम माइनसमा गएको महाशाखाले जनाएको छ।

"यो क्रम आज (मङ्गलवार) र भोलि (बुधवार) यत्तिकै रहने देखिएको छ। यसले गर्दा उच्च हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहन्छ र उच्च पहाडी अनि पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्य सम्भावना रहेको छ," महाशाखामा कार्यरत वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

तराईका जिल्लामा फाट्टफुट्ट वर्षाको सम्भावना महाशाखाले देखाएको छ।

मौसम

तस्बिर स्रोत, SCREENGRAB / Nepal Weather Forecast / TWITTER

यो प्रणाली नेपालबाट बाहिरिएपछि तराईका केही स्थानमा बाक्लो हुस्सु लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

"हिउँदयाममा सात-आठवटा सिस्टम (प्रणाली) आउँछन् पश्चिम क्षेत्रबाट। तीमध्ये हाल चौथोले प्रभाव पारेको अवस्था छ। यो प्रक्रियालाई नियमित रूपमा लिनुपर्ने हुन्छ," पौडेलले भने।

बिहीबारबाट यो प्रणाली रोकिने हुँदा क्रमशः घाम लाग्न थाल्ने र मौसम सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।

हुम्लामा हिमपात

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हुम्लामा जाडो बढेपछि घाममा बसेर परीक्षा दिँदै विद्यार्थीहरू
हिमपात

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पुस ११ देखि परेको हिमपातले मनाङका तल्लो भेगसम्म हिँउ परेपछि चिसोका कारण यहाँका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ

गत वर्ष यो समयमा तराईमा बाक्लो हुस्सु लागिसकेको भए पनि यो वर्ष भने अबका केही दिनमा मात्रै त्यस्तो अवस्था देखिन सक्ने अनुमान गरिएको छ।

मौसम बदली भएसँगै घटेको तापमानबीच काठमाण्डू आसपासका उच्च भूभागमा पनि हलुका हिमपात हुन सक्ने अनुमान गर्न सकिने बताइएको छ।

मङ्गलवार र बुधवार "चन्द्रागिरि र नगरकोटलगायत काठमाण्डू उपत्यका आसपासका डाँडाहरूमा हल्का हिमपातको सम्भावना" रहेको पौडेलले जानकारी दिए।

देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको अवस्थामा देशभरि चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ।

यो हिउँदमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी र न्यूनतम तापक्रम सरदर एवं सरदरभन्दा बढी हुने पूर्वानुमान गरिएको छ।

नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मौसमसम्बन्धी एपबारे तपाईँले जानुपर्ने कुरा