नेपाल मौसम: यसपालि हिउँदे वर्षा 'पहिलाको भन्दा बढी', यसको महत्त्व कस्तो

चन्द्रागिरिमा हिउँमा रमाउँदै मानिसहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चन्द्रागिरिमा हिउँमा रमाउँदै मानिसहरू
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

धेरै वर्षपछि नेपालमा माघ महिनामा ठूलो वर्षा भएको मौसमविद्हरूले बताएका छन्। बुधवार साँझदेखि सुरु वर्षा शनिवारसम्म हुने तर आइतवारबाट मौसममा सुधार आउने उनीहरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष हिउँदको आठौँ मुख्य वर्षाको रूपमा अहिले पानी परेको हो।

यो माघे झरीसँगै काठमाण्डू उपत्यका घेर्ने पहाडसहित उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ। बिहीवारदेखि देशैभरि सामान्यदेखि ठूलो वर्षा भइरहेको विभागले जनाएको छ।

यसपालि हिउँदको एक महिना बाँकी छँदै अहिलेसम्म सरदर ५७.१ मिलिमिटर पानी परिसकेकोले यो याममा औसतभन्दा धेरै पानी पर्ने स्पष्ट भइसकेको मौसम अधिकारीहरूले बताएका छन्।

धेरै पटक सुक्खा हिउँद

गत वर्ष नेपालमा हिउँदयाममा हुने औसत झन्डै ६० मिलिमिटर वर्षाको एकचौथाई मात्र पानी परेको थियो।

जल तथा मौसम विज्ञान विभागको जलवायु शाखा प्रमुख इन्दिरा कँडेल भन्छिन्, "सन् २००७ यता पाँचवटा वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ। यस पटक एकमहिना अघि नै सरदर वर्षा भइसकेको छ।"

नेपालमा विगत कैयौँ वर्ष हिउँदमा राम्ररी पानी पर्न नसकेको हुनाले सुक्खा भएको स्मरण गर्दै विज्ञहरूले यसपालिको हिउँदे वर्षालाई "सुखद" मानेका छन्।

सोह्र वर्षअगाडि २०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७.१ मिलिमिटर पानी परेको सरकारी विवरण छ।

नेपालमा विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर प्रत्येक वर्ष जाडोयाममा हुने वर्षालाई तुलना गरिन्छ।

तथ्याङ्कमा नेपाली हिउँद अवधिको औसत वर्षा।

किन महत्त्वपूर्ण

नेपालमा सालभरि हुने वर्षामध्ये धेरैजसो अर्थात् पाँच भागमध्ये चार भाग पानी मनसुन अर्थात् वर्षायाममा पर्ने गरेको छ।

हिउँद सुरु हुनुअघि दक्षिण एशियाका वैज्ञानिकहरूको एउटा समीक्षाले यस पटकको हिउँद पनि सुक्खा हुनसक्ने प्रक्षेपण गरेको थियो।

विभागकी इन्दिरा कँडेल भन्छिन्, "तर त्यसविपरीत यस पटक धेरै नै वर्षा भएको पाइयो।"

विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीले गराउने वर्षा नै हिउँदमा पानीको मुख्य स्रोत भएकाले यसलाई "राम्रो र नियमित प्रक्रिया" मान्नुपर्छ।

"यद्यपि यस पटक यस्तो मुख्य वर्षाको क्रम बढेको छ। पछिल्ला केही वर्षमा चार-पाँच पटक त्यस्तो वर्षा भएको थियो। यस यामको यो आठौँ वर्षा हो।"

यतिधेरै वर्षा विगत केही वर्षमा भएकामध्येको ठूलो भएको विज्ञहरू बताउँछन्।

विभागले शुक्रवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा दीपायलमा झन्डै ५३ मिलिमिटर वर्षा भएको छ भने नेपालगन्ज (३०.२ मिलिमिटर), जुम्ला (३२.१ मिलिमिटर), धनगढी (२७.८ मिलिमिटर), पोखरा (२३.६ मिलिमिटर), घोराही (२३.५ मिलिमिटर) र वीरेन्द्रनगर(२१.५ मिलिमिटर) वर्षा भएको छ।

वर्षा

तस्बिर स्रोत, RSS

कृषिमा कस्तो प्रभाव

राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रका प्रमुख टीकाबहादुर कार्कीका अनुसार खेतीपानी गर्दा सिँचाइभन्दा आकासेपानीको प्रभाव निकै सकारात्मक हुन्छ।

तर यस पटकको हिउँदे वर्षा वर्षौँपछिको ठूलो भएको बताउँदै उनले कृषिमा त्यसका राम्रा र नराम्रा दुवै असर पर्ने उनको भनाइ छ।

"बिहीवार मात्र हामीले काठमाण्डूमा २२.४ मिलिमिटर वर्षा मापन गर्‍यौँ। शनिवारसम्मै पानी परिरहने पूर्वानुमान भएकाले त्यो अझै उच्च हुन्छ," बाली वैज्ञानिकसमेत रहेका कार्की भन्छन्।

बैतडीमा बाटोबाट हिउँ पन्छाउँदै नेपाली सेना।

तस्बिर स्रोत, RSS

हिउँदमा नेपालमा धेरैतिर हुने गहुँबालीलाई यस वर्षाले राम्रो गर्ने कार्की बताउँछन्।

तर कोसेबालीमा खासगरी अहिले फूल तयार हुने बेला भएकाले मुसुरोलाई असर पार्ने बताइएको छ।

पानी लामो समय परेर निकास हुन नसकेको खण्डमा तराईमा पानीको भार सहन गर्न नसक्ने मुसुरोजस्तो बिरुवा ओइलाउने चिन्ता बालीविज्ञहरूको छ।

"आलुको दाना लाग्न लागेको अवस्था छ भने त्यसमा ढुसीजन्य रोगको समस्या हुनसक्छ," कार्कीले भने।

मौसम

तस्बिर स्रोत, RSS

अन्य असर कस्ता

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तीर्थराज अधिकारीले विश्वव्यापी जलवायु प्रवृत्तिकै असर नेपालमा समेत देखिन थालेको बताउँछन्।

अहिलेको वर्षा लामो वर्षको अन्तरालमा मौसमी प्रवृत्ति दोहोरिए जस्तो देखिएको बताउँदै त्यसमा जलवायु परिवर्तनका प्रभाव र नियमित मौसमी चक्र जोडिने उनी बताउँछन्।

"हिउँदमा थप जाडो हुने प्रवृत्ति देखिन्छ जसले गर्दा पानी परेको बेला हिमपात हुन थालेको छ। यामकै समय समेत घटेको पाइन्छ।"

यो प्रणाली सकिएपछि जाडो पनि बिस्तारी घट्दै जाने विज्ञहरूको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मौसमसम्बन्धी एपबारे तपाईँले जानुपर्ने कुरा