तापक्रम घटिरहँदा हिउँदे मौसममा चिसोबाट कसरी जोगिने?

हिउँदे मौसममा तापक्रम घट्न थालेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या समेत देखिन सक्ने भन्दै चिसोबाट जोगिन जनस्वास्थ्यविद्ले सुझाएका छन्।
जल तथा मौसम विज्ञान विभागले देशव्यापी रूपमा अझै तीन-चार दिन मौसममा सुधार नआउने र चिसो अझै बढ्ने क्रममा रहेको जनाएको छ।
विगत केही सातामा कोरोनाभाइरस सङ्क्रमण उच्च विन्दुमा पुग्ने क्रम रहँदा धेरैलाई रुघाखोकी तथा चिसोका कारण देखिने स्वास्थ्य समस्या पनि बढेको बताइन्छ।
कोरोनाभाइरसका लक्षणसँग मिल्दोजुल्दा स्वास्थ्य समस्या चिसो बढेसँगै बढ्ने हुँदा थप सतर्क हुन आवश्यक रहेको जनस्वास्थ्यविद्हरूले बताएका हुन्।
कस्ता स्वास्थ्य समस्या देखिन्छ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी चिसोबाट नजोगिए ज्यानै जान सक्ने स्वास्थ्य समस्या देखिने बताउँछन्।
उनका अनुसार नेपालमा ज्यानुअरी २५ तारिखपछि इन्फ्लुएन्जा ए र इन्फ्लुएन्जा बी फैलिने गर्छ।
डा. मरासिनी भन्छन्, "यो पनि एकदमै कडा हुन्छ। ३०० जनामा एक जनाको मृत्यु हुन्छ।"
त्यसबाहेक चिसो मौसममा रक्तचाप र मधुमेहका बिरामीमा पनि समस्या बढ्ने र त्यसले कतिपय अवस्थामा हृदयाघात वा पक्षाघात हुने सम्भावना रहन्छ।
उनले भने, "जाडो समय नेपालीको स्वास्थ्यका लागि कठिन हुन्छ। कुपोषण भएका बालबालिकाको कठ्याङ्ग्रिएर मृत्यु नै हुने गरेको छ।"
"जाडो बेलामा रुघाखोकी लाग्ने र कडा खालको निमोनिया भएर मृत्यु हुने पनि हुन्छ।"

तस्बिर स्रोत, MOH NEPAL
जाडो अझै कति दिन?
बिहीवारदेखि देशभर नै मौसममा आंशिकदेखि सामान्य बदली भइरहेको र केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहीवारदेखि पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको छ र त्यसले मौसममा परिवर्तन आएको हो।
कँडेलले भनिन्, "हिजोदेखि पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ। आजसम्म त्यसैको प्रभाव रहन्छ। भोलि बिहानबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली आउँदै छ र त्यसले पनि मौसममा बदली गराउँछ।"
"त्यसले हिमपात र वर्षा निम्त्याउने सम्भावना छ र चिसो कायमै रहन्छ।"
हिमपात र वर्षाका कारण अधिकतम र न्यूनतम तापक्रममा अझै गिरावट आउने भएकोले चिसो बढ्ने पूर्वानुमान महाशाखाले गरेको हो।
कँडेलले भनिन्, "अबको दुई-तीन दिनसम्म नै मौसममा सुधार हुने अवस्था छैन।"
"वर्षा र हिमपात सुदूरपश्चिम र कर्णाली प्रदेशमा केन्द्रित छ। तर अन्य प्रदेशमा पनि वर्षा र हिमपात हुने देखिन्छ।"
यसपछि जाडो सकिएला?
माघको पहिलो साता देखिएको चिसो केही दिन जारी रहने र यो नै यस वर्षको अन्तिम चिसो नहुने मौसमविद् कँडेल बताउँछिन्।

तस्बिर स्रोत, RSS
उनका अनुसार मौसम सफा हुँदै गए पनि न्यूनतम तापक्रम घट्न सक्ने भएकोले माघ महिनाभरि नै बिहान र बेलुका चिसो जारी रहन्छ।
महाशाखाले निकालेको बुलेटिनमा पनि देशभर चिसो अझै बढ्ने क्रम रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ।
कँडेल भन्छिन्, "अहिलेको मौसम सुधार भए पनि अब चाहिँ चिसो घट्यो भन्ने होइन। यो माघ महिनाभरि नै अलिकति सतर्क भएर बस्नुपर्छ।"

तस्बिर स्रोत, RSS
चिसोबाट कसरी जोगिने?
दिउँसो र बिहान-बेलुका देखिने न्यूनतम र अधिकतम तापक्रममा १५ डिग्री सेल्सीअसको अन्तर भयो भने मानिसहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्ने जनस्वास्थ्यविद् डा. मरासिनीले बताए।
"दिउँसो जिउ तात्ने र बिहान-बेलुका चिसो हुने हुँदा केही किसिमका भाइरस र ब्याक्टेरिया सक्रिय हुने र त्यसले खोकी लाग्ने, छाती खराब हुने र ज्वरो आउने हुन्छ," उनले भने।
त्यसैले धेरै चिसोमा बिहान घरबाट बाहिर ननिस्किन र न्यानो गरी बस्न उनी सुझाउँछन्।
तर न्यानोका लागि घरभित्र आगो बालेर बस्दा भेन्टिलेसनको व्यवस्था नभए ढोका वा झ्याल अनिवार्य खोल्नुपर्ने उनी बताउँछन्।










