जलवायु परिवर्तन: ५० डिग्री सेल्सीअसमा जीवन कस्तो होला?

प्रतीकात्मक तस्बिर।

जलवायु सङ्कट अब भविष्यको चिन्ता रहेन। विश्वका धेरै भागहरूमा यो सुरु भइसकेको छ। सन् २०२१ हालसम्मकै सर्वाधिक तातो वर्ष घोषणा भइसकेको छ।

लाखौँ मानिसहरू चरम तापक्रममा जीवनयापन गरिरहेका छन् जहाँ उनीहरूले बाढी र डढेलोको बढ्दो जोखिमको सामना गरिरहेका छन्। यहाँ पाँचजना मानिसले कसरी तापक्रमका कारण आफ्नो जीवनशैली प्रभावित भयो भनेर व्याख्या गरेका छन्।

Short presentational grey line

'हामी कैयौँ रात सुतेका छैनौँ'

मुहारको पसिना पुछ्दै एक महिला।

भारतकी शकीला बानो आफ्नो परिवारको ओछ्यान प्रायः एकतले घरको छतमा लगाउँछिन्। कतिपय रात घरभित्र निदाउनै नसक्नेगरी गर्मी हुन्छ। छत पनि पैतालाले टेक्नै नसक्नेगरी तातेको हुन्छ।

"हामीले कैयौँ रात ननिदाई काटेका छौँ र यो निकै गाह्रो कुरा हो," उनले बीबीसीसँग भनिन्।

उनी आफ्ना श्रीमान्, छोरी र तीन नातिनातिनासँग भारतको अहमदाबादस्थित झ्याल नै नभएको कोठामा बस्छिन्। उनीहरूसँग शीतल हावाका लागि एउटा मात्र पङ्खा छ।

जलवायु परिवर्तनका कारण भारतका विभिन्न सहरमा तापक्रम ५० डिग्री सेल्सीअस पुगेको छ।

विशेषतः घना बस्ती र गगनचुम्बी भवनहरू धेरै भएका ठाउँमा बढी गर्मी हुने गरेको छ।

कङ्क्रिट प्रयोग भएका संरचनाहरूले ताप सोस्छन् र प्रवाह गर्छन्। जसका कारण तापक्रममा वृद्धि हुन्छ।

शकीलाका जस्ता घरहरूमा हाल तापक्रम ४६ डिग्री सेल्सीअससम्म पुगेको छ। गर्मीका कारण उनलाई रिँगटा लाग्छ। उनका नातिनातिना पनि दाद, थकान र पखालाबाट पीडित छन्।

गर्मी भगाउनका लागि उनीहरू मोही वा कागती पानी पिउने जस्ता परम्परागत विधि अपनाउँछन्। तर ती तरिकाले हिजोआज काम गर्न छाडिसकेका छन्।

बरु उनीहरूले आफ्नो घरको छानोमा सेतो रङ्ग लगाउन ऋण लिए। सेतो सतहले सूर्यको प्रकाशलाई बढी प्रतिबिम्बित गर्छ र सेतो छानोको सेतो रङ्गले घरभित्रको तापक्रमलाई ३ देखि ४ डिग्री कम बनाउन सक्छ।

रङ्ग लगाएपछि शकीलाले फरक महसुस गरेकी छन्। अहिले कोठा केही शीतल भएको छ र बालबच्चा निदाउँछन्।

"पहिले दिउँसो निदाउनै सक्दैनथ्यो। अहिले आरामले सुत्छ," उनले निदाइरहेको नातितर्फ देखाउँदै भनिन्।

Short presentational grey line

'आगोजस्तो तातो'

सिदी फदौआ।

"म गर्मी ठाउँबाट आएको हुँ," सिदी फदौआले भने। पश्चिम अफ्रिकाको उत्तरी मौरिटानियामा गर्मीले गर्दा धेरै मानिसहरूका लागि बाँच्न र काम गर्न धेरै गाह्रो छ।

उनले थपे, " तर यहाँको गर्मी सामान्य तातो होइन। यो आगोजस्तै छ।"

चवालीस वर्षीय सिदी सहारा मरुभूमिनजिकै रहेको एउटा सानो गाउँमा बस्छन्। उनी नुनखानीमा काम गर्छन्। उनको काम निकै कठिन छ र जलवायु परिवर्तनका कारण त्यस क्षेत्र तातेकै कारण अझै बढी गाह्रो भएको छ।

"हामी यस्तो तापक्रम सहनै सक्दैनौँ," उनले भने,"हामी कुनै यन्त्र होइनौँ।"

गर्मीयामको ४५ डिग्री छल्न उनले राति काम गर्न थालेका छन्।

उनको ठाउँमा रोजगारीको सम्भावना न्यून छ। केही समय अघिसम्म गाईबस्तु पालेर खानेहरूका लागि अवस्था अनुकूल रहेन। त्यस क्षेत्रमा भेडा बाख्राका लागि चर्न घाँस नै छैन।

त्यसैले छिमेकीहरू जस्तै सिदी पनि समुद्री हावाले चिसो राख्ने तटीय नगर नौआधिबाउमा बसाइँ सर्ने योजना बनाएका छन्। स्थानीय बासिन्दाहरू विश्वको सबैभन्दा लामोमध्ये एक रेल चढेर समुद्रको किनारसम्म पुग्न सक्छन्।

"मानिसहरू यहाँबाट सरिरहेका छन्," सिदीले सुनाए।

"बीस घण्टा लामो यात्रा जोखिमपूर्ण हुन्छ। स्थानीय मानिसहरू बग्गीमा बस्छन् जहाँ उनीहरूले दिनको चर्को घाम सहनुपर्छ र रातको तापक्रम घटेर ठिहिर्‍याउने चिसो पनि।"

उनले नौआधिबाउमा माछा उद्योगमा काम पाउने आशा गरेका छन्। त्यहाँको हावाले केही राहत दिलाउन सक्छ। तर ठूलो समूह बसाइँ सरेर त्यहीँ पुगेकाले रोजगारीको अवसर उत्ति नै न्यून हुँदै गएको छ।

Short presentational grey line

'भीषण डढेलोलाई कसरी निभाउन सकिन्छ र?'

प्याट्रिक मिशेल।

कनाका बार फर्स्ट नेशनका प्रमुख प्याट्रिक मिशेलले तीन दशकअघि क्यानडा, ब्रिटिश कोलम्बियास्थित आफ्नो आरक्षनजिकै रहेको जङ्गलमा चिन्ताजनक परिवर्तनहरू देख्न थाले।

नदीहरूमा पानी कम हुन थालेको थियो।

यस गर्मीमा उनको डर सत्य प्रमाणित भयो। उत्तर अमेरिकामा गर्मीको लहर चल्यो। गत जुन २९ तारिखमा उनको गृहनगर लिटनमा तापक्रम ४९.६ डिग्री सेल्सीअस पुग्यो।

ठिक भोलिपल्ट उनकी श्रीमतीले ५३ डिग्री मापन भएको थर्मोमिटरको तस्बिर पठाइन्। अनि त्यसको एक घण्टापछि सहरमा डढेलो लाग्यो।

उनकी छोरी सेरेना आठ महिनाकी गर्भवती थिइन्। उनी आत्तिएर आफ्ना सन्तान र घरपालुवा जनावरहरूलाई कारमा राखेको बताउँछिन्।

"हामी लुगाको झोला बोकेर निस्किएका थियौँ। आगो हामीभन्दा ठिक पछाडि तीन तलाभन्दा माथिसम्म आगो दन्किरहेको थियो।"

प्याट्रिक घर जोगाउन सक्छु कि भन्ने आशाले हान्निए। उनी जङ्गलमा हुने आगलागीसँग जुध्दै हुर्किएका थिए। तर जलवायुजस्तै आगोको समेत स्वरूप फेरियो।

"अब सानोतिनो आगलागी हुँदैन। भीषण डढेलो लाग्छ," उनी भन्छन्,"अनि डढेलो कसरी सहजै निभाउन सकिन्छ र?"

परिवारले भोगेको विषम परिस्थितिका बावजुद जे भयो त्यसलाई प्याट्रिक अवसरका रूपमा हेर्छन्: हामी लिटनलाई आगामी एक शताब्दीको वातावरणका लागि पुनर्निर्माण गर्न सक्छौँ। यो चुनौतीपूर्ण विषय हो तर म आशावादी छु।

Short presentational grey line

'म सानो छँदा मौसम यस्तो थिएन'

जोय

"म सानो छँदा मौसम यस्तो थिएन," नाइजिरियाको नाइजर डेल्टामा बस्ने जोयले भनिन्। उक्त क्षेत्र पृथ्वीको सर्वाधिक प्रदूषितमध्ये एक हो र त्यहाँ गर्मी दिन र रातहरू बढिरहेका छन्।

जोय ग्यास बलेर निस्केका लप्काहरू प्रयोग गरी कन्दमूल सुकाउँछिन्। स्थानीय बजारमा लगेर बेच्छिन् र परिवार पाल्छिन्। "मेरो कपाल छोटो छ। किनकि यदि मैले कपाल लामो बनाएँ भने आगोको ज्वालाले दिशा परिवर्तन गर्दा कपालमा आगो सल्कने, विस्फोट हुने वा टाउको नै जल्ने सम्भावना धेरै हुन्छ," उनले भनिन्।

तर यो त समस्याको सानो पाटो मात्र हो। तेल उद्योगहरूले तीनलाई तेल उत्खनन गर्दा जमिनबाट निस्किने ग्यास बाल्न प्रयोग गर्छन्।

बीस फिटभन्दा अग्ला हुने यी लप्काहरू विश्वव्यापी कार्बन डाईअक्साइड उत्सर्जनका प्रमुख स्रोत हुन्। जलवायु परिवर्तनमा यी लप्काहरूको देन पनि उल्लेख्य छ।

यहाँ जलवायु परिवर्तनको प्रभाव विनाशकारी छ। उत्तरका उर्वर भूमिहरू मरुस्थल बनेका छन् भने दक्षिणमा अचानक बाढी आउन थालेको छ। त्यहाँका मानिसहरू यसअघि मौसम त्यति चरम भएको सम्झिँदैनन्।

"यहाँका अधिकांश मानिस जलवायु किन यति द्रुत गतिमा परिवर्तन भइरहेको छ भन्नेबारे सतर्क छैनन्," जोयले भनिन्,"तर हामीलाई निरन्तर बल्ने ग्यास र त्यसका लप्काहरू समस्याको स्रोत हो कि भन्ने शङ्का छ।"

उनी सरकारले ग्यासको लप्का प्रयोगमा रोक लगाओस् भन्ने चाहन्छिन् तर उनी स्वयं त्यसैमा निर्भर छिन्।

नाइजिरियामा लगभग कुनै पनि तेलको सम्पत्ति पुनः लगानी गरिएको छैन। त्यहाँ नौ करोड ८० लाख मानिस गरिबीमा बाँचिरहेका छन्। जोय र उनको परिवार तीमध्ये हुन्।

पाँच दिन काम गर्दा उनीहरूलाई चार पाउन्ड नाफा हुन्छ। भविष्यबारे उनी आशावादी छैनन्। उनले भनिन्,"मलाई लाग्छ पृथ्वीमा जीवनको अन्त्य हुँदैछ।"

Short presentational grey line

'यो ताप सामान्य होइन'

ओम नायफ।

छ वर्षअघि ओम नायफले राजमार्ग छेउको मरुभूमिमा रूख रोप्न थालेकी थिइन्। कुवेतमा सेवानिवृत्त निजामती कर्मचारी उनी बढ्दो तापक्रम र बिग्रँदो धूलोको आँधीबाट चिन्तित थिइन्।

"मैले केही अधिकारीहरूसँग कुरा गरेँ। उनीहरू सबैले बालुवामा केही रोप्न असम्भव भएको बताए," उनी सुनाउँछिन्। "उनीहरूले जमिन बलौटे र तापक्रम उच्च भएको बताए। म भने सबैलाई चकित पार्ने काम गर्न चाहन्थेँ।"

ओम मध्यपूर्वमा बस्छिन् जुन क्षेत्र संसारको अन्य क्षेत्रभन्दा द्रुत गतिमा तातिरहेको छ। कुवेतमा गर्मी असह्य भइरहेको छ - त्यहाँ सामान्यतया तापक्रम ५० डिग्रीभन्दा बढी हुन्छ।

सन् २०५० सम्म त्यहाँको तापक्रम औसत ४ डिग्रीले बढ्ने अनुमान गरिएको छ। यद्यपि कुवेतले जीवाश्म इन्धन निर्यातका कारण अर्थतन्त्र नियन्त्रित राखेको छ।

ओमले बिरुवा रोपेका ठाउँहरू सामान्य देखिन्छन् तर तिनले केही उद्देश्य पूरा गरेका छन्।

"रूखहरूमा धूलो टाँसिन्छ र प्रदूषण केही कम हुन्छ। त्यसले हावा स्वच्छ पार्छ र तापक्रम केही कम बनाउँछ," उनले भनिन्, "रूख भएका ठाउँमा आजभोलि दुम्सी र छेपारो देखिन थालेका छन्। नजिकै ताजा पानी र छहारी छ। यो निकै सुन्दर कुरा हो।"

केही कुवेतीहरूले अब सरकारसँग ठूलो मात्रामा हरित क्षेत्रको माग गरिरहेका छन्। उनीहरूको संयुक्त आशा के हो भने - कुवेत जलवायु सङ्कटविरुद्ध लाग्न तयार भएको छ।

ओमले पनि भूमिलाई सुक्खा हुन दिनबाट जोगाउनुपर्ने धारणा राखिन्।

"यो ताप सामान्य होइन," उनले कुराको बिट मार्दै भनिन्,"भूमि हाम्रो पिता हो। हामीलाई यसले धेरै थोक दियो अब हामीले यसलाई फिर्ता दिनुपर्ने दिन आएको छ।"

Short presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, समुद्रको छालले घर नष्ट पारिदियो भने हामी कहाँ जाने?