जलवायु परिवर्तन: अस्वाभाविक बाढी वा उष्णलहर के 'नयाँ वास्तविकता' बनेको हो?

तस्बिर स्रोत, Luis Sinco
- Author, म्याट म्याकग्रथ
- Role, वातावरण संवाददाता
शक्तिशाली उष्ण लहर वा विनाशकारी बाढीजस्ता मौसमको अति अवस्था अब न्यू नर्मल भनिने नयाँ वास्तविकता भएको वर्ल्ड मिटिरियोलजिकल अर्गनाइजेसन (डब्लुएमओ) ले बताएको छ।
सन् २०२१ का लागि तयार पारिएको जलवायुको अवस्था अर्थात् स्टेट अफ द क्लाइमेट नामक प्रतिवेदनले विश्व 'हाम्रै आँखाअगाडि परिवर्तन भइरहेको' जनाएको छ।
सन् २००२ यता २० वर्षको औसत तापक्रम औद्योगिक युगको औसतको एक डिग्री सेल्सियस तापक्रमभन्दा नाघ्ने क्रममा पहिलो पटक पुगेको बताइएको छ।
विश्वव्यापी रूपमै समुद्री सतह पनि सन् २०२१ मा नयाँ तहमा वृद्धि भएको उक्त अध्ययनले जनाएको छ।
संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२६ ग्लासगोमा सुरु हुन लाग्दा यी नयाँ तथ्याङ्कहरू डब्लुएमओले सार्वजनिक गरेको हो।

तस्बिर स्रोत, Mario Tama
प्रतिवेदनले तापमान वृद्धि, मौसमको चरम अवस्था, बढ्दो समुद्री सतह र समुद्रको अवस्थाजस्ता जलवायुको सूचकहरूबारेको अवस्था देखाउँछ।
यो अध्ययनले विगत सात वर्ष र यो वर्ष विवरण राखिए यताकै तातो हुने क्रममा देखिएको पत्ता लगाएको छ।
तापमानमा आएको यो वृद्धिले पृथ्वीलाई 'अज्ञात क्षेत्र' तर्फ धकेलिरहेको र त्यसले असरहरू बढाउँदै गएको उक्त प्रतिवेदनमा उल्लेख छ।
"मौसमको चरम अवस्था नयाँ वास्तविकता भएका छन्," डब्लुएमओका प्राध्यापक पेटेरी टालसले भने।

तस्बिर स्रोत, SOPA Images
प्राध्यापक टालसले यो वर्ष विश्वभरि अनुभव गरिएका मौसमका केही चरम अवस्थाबारे उल्लेख गरेका छन्।
- ग्रीनल्याण्डको चुचुरोमा पहिलोपटक हिउँको सट्टा पानी पर्यो
- क्यानडा र अमेरिकाका केही क्षेत्रमा तापक्रम झण्डै ५० डिग्री सेल्सियस पुग्यो र त्यसले त्यहाँ उष्णलहर निम्त्यायो
- दक्षिण-पश्चिम अमेरिकामा एकभन्दा बढी पटक आएका उष्णलहरका क्रममा क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम ५४.४ डिग्री सेल्सियस पुग्यो
- चीनका केही क्षेत्रमा महिनाभरमा पर्ने पानी केही घण्टाभित्रै पर्यो
- युरोपका विभिन्न भागमा पहिला कहिल्यै नदेखिएका बाढी आए र त्यसमा कयौंको ज्यान गयो अनि अर्बौँ बराबरको धन क्षति भयो
डब्लुएमओका अनुसार अर्को चिन्ताजनक कुरा भनेको विश्वव्यापी रूपमै बढ्दै गएको समुद्री सतह हो।
उक्त प्रतिवेदनले विश्वव्यापी रूपमै समुद्री सतह पनि विगत दुई सय वर्षयता अहिले ज्यादै छिटो बढ्ने क्रममा रहेको जनाएको छ।
उक्त निकायले क्यानडाको उष्ण लहर वा जर्मनीको हालैको बाढीजस्ता मौसमका चरम अवस्थाले निम्त्याउने घटनाहरू न्यू नर्मल भनिने नयाँ वास्तविकता बन्दै गएको भन्दै चेतावनी दिएको छ।
मौसमको यस्तो अवस्थाले लाखौँ मानिसलाई खतरामा राखेको उक्त प्रतिवेदनमा उल्लेख छ।









