जलवायु परिवर्तन: मान्छेकै कारण भइरहेको हो भन्ने कसरी थाहा पाउने?

जङ्गली आगो निभाउने क्रममा लागेका अग्नि नियन्त्रक

वैज्ञानिक र राजनीतिज्ञहरू जलवायु परिवर्तनका कारण हाम्रो ग्रहले ठूलो सङ्कट भोगिरहेको बताउँछन्।

तर पृथ्वीको तापक्रम बढेको भन्ने प्रमाण के छ र त्यो कसरी मानवका कारण भएको भन्न सकिन्छ?

विश्वको तापक्रम बढिरहेको छ भन्ने हामीलाई कसरी थाहा छ?

हाम्रो ग्रह औद्योगिक क्रान्ति सुरु भएयता नै तीव्र गतिमा तात्दै गएको छ।

पृथ्वीको सतहको सरदर तापक्रम सन् १८५० यता १.१ डिग्री सेल्सियसले बढेको छ।

र पछिल्ला चार दशक हरेक अघिल्लो दशकभन्दा तातो रहँदै आएको छ।

यो निष्कर्ष विश्वका विभिन्न भागमा सङ्कलन गरिएका दशौँ लाख तथ्याङ्कको विश्लेषणबाट निकालिएको हो।

जमिनमा, पानी जहाजमा र स्याटलाइटमा रहेका मौसम स्टेशनहरूमा रेकर्ड भएका तापक्रमलाई आधार बनाइएको हो।

थुप्रै स्वतन्त्र वैज्ञानिकहरूको समूह एउटै निष्कर्षमा पुगेका छन्: औद्योगिक युग सुरु र पृथ्वीको तापक्रम वृद्धि एउटै समयमा भएको छ।

अहिले वैज्ञानिकहरूले प्राचीन समयमा हुने गरेको तापक्रमको उतारचढाव पनि गणना गर्न सक्छन्।

म्याराथन पेट्रोलियम कोर्प्सको लस एन्जलस स्थित प्रशोधन केन्द्र

तस्बिर स्रोत, Getty Images

रुख काट्दा देखिने गोलो घेरा, हिउँको भित्री भाग, तालको थिग्र्यान र समुद्रका कोरलको अध्ययन सबैले उहिलेको मौसम कस्तो थियो भन्ने कुराको सङ्केत दिन्छन्।

त्यसैका आधारमा अहिलेको तातोपनबारे कुरा गर्ने हो।

वैज्ञानिकहरूको अनुमानमा एक लाख २५ हजार वर्षयता पृथ्वी यति तातो थिएन।

विश्वव्यापी तापक्रम वृद्धिमा मान्छे जिम्मेवार छ भन्ने कसरी थाहा हुन्छ?

मानव गतिविधि र तापक्रममा वृद्धिबीच महत्त्वपूर्ण सम्बन्ध उत्सर्जित हरित गृह ग्यासले देखाउँछन्।

हरित गृह ग्यासले सूर्यको तापक्रम सोस्छ र तापक्रम बढाउँछ।

वायुमण्डलमा अत्यधिक मात्रामा रहेको कार्बन डाइअक्साइड सबैभन्दा महत्त्वपूर्ण उदाहरण हो।

टर्की पनि गत ग्रीस्मकालमा जङ्गली आगोको चपेटामा परेको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, टर्की पनि गत ग्रीस्मकालमा जङ्गली आगोको चपेटामा परेको थियो

कार्बन डाइअक्साइडले नै सूर्यको ऊर्जा सोसेको हामी भन्न सक्छौँ।

स्याटलाइटहरूले पृथ्वीबाट थोरै ताप मात्र बाहिर फर्किरहेको देखाउँछन्।

र तिनको वेभलेन्थ कार्बन डाइअक्साइडले फ्याँक्ने ऊर्जाको वेभलेन्थसँग मिल्छ।

खनिज तेलको प्रयोग र रुख काट्नुले यस्तो हरित गृह ग्यासको मात्रा बढेको छ।

दुवै गतिविधि १९औँ शताब्दीयता द्रुत गतिमा भए।

र यसै समयमा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा पनि अत्यधिक बनेको पाइनु आश्चर्यजनक पनि भएन।

कार्बन डाइअक्साइड कहाँबाट आयो भनेर देखाउन सकिन्छ।

खनिज तेल उत्सर्जन गर्दा निस्कने कार्बनको निश्चित संरचना छ।

रुखका गोला घेरा र ध्रुवीय हिउँ दुवैले वायुमण्डलीय रसायनमा आएको परिवर्तनको जानकारी राख्छन्।

परीक्षण गर्दा सन् १८५० यताको कार्बन खनिज तेलबाट आएको पाइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइड

आठ लाख वर्षसम्म वायुमण्डलीय कार्बन डाइअक्साइड ३०० पार्ट्स पर मिलियनभन्दा नबढेको विश्लेषणहरूले देखाएका छन्।

तर औद्योगिक क्रान्तियता कार्बन डाइअक्साइडको मात्रा बढ्दै बढ्दै अहिले ४२० पीपीएम भएको छ।

कम्प्युटरमा गरिएका अध्ययनहरूमा मानिसहरूले ठूलो मात्रामा हरित गृह ग्यास उत्पादन नगरेको भए कस्तो हुन्थ्यो भनेर हेरिएको छ।

यदि प्राकृतिक तत्त्वहरूको मात्र भूमिका रहेको भए पृथ्वी थोरै मात्र तात्थ्यो अथवा २०औँ र २१औँ शताब्दीमा केही चिसिन सक्थ्यो।

मानव गतिविधि जोडेपछि मात्र कम्प्युटर अध्ययनले पृथ्वीको तापक्रम बढेको देखाउँछन्।

टाटा स्टील फ्याक्ट्रीबाट निस्केको धुँवा। साइकलमा चढेकी महिला आँधीमा सम्हालिन खोज्दै

तस्बिर स्रोत, Frans Lemmens

मान्छेको गतिविधिले कस्तो असर पारेको छ?

पृथ्वी तात्दै गएकाले हामी वरिपरिको वातावरणमा निकै परिवर्तन हुने ठानिएको छ।

अहिले पृथ्वीमा भइरहेका परिवर्तन र मानव गतिविधिका कारण हाम्रो वरिपरि हुन सक्ने भनी वैज्ञानिकहरूले अनुमान लगाएका कुराहरू एक अर्कासँग मिलेका छन्।

तीमध्ये केही हुन्:

  • ग्रीनल्यान्ड र एन्टार्क्टिकको हिउँको तह द्रुत गतिमा पग्लिरहेको छ
  • विश्वव्यापी समुन्द्रको तह गत शताब्दीमा २० सेमीले बढेको छ र अहिले पनि बढिरहेको छ
  • सन् १८०० यता समुन्द्रहरू ४० प्रतिशत बढी अम्लीय बनेका छन् त्यसले समुद्री जीवनलाई असर पारेको छ।
भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु परिवर्तनको बृहत् तस्बिर र त्यसको नेपालमा प्रभाव

तर के पृथ्वी विगतमा तातो थिएन र?

पृथ्वीको विगतमा थुप्रै पटक तातो समय आएको थियो।

उदाहरणका लागि करिब नौ करोड २० लाख वर्षअघि पृथ्वीको तापक्रम यति बढी थियो कि यहाँ ध्रुवीय हिउँ नै थिएन र क्यानडाको आर्क्टिक क्षेत्रमा पनि गोहीहरू थिए।

तर त्यसलाई सजिलो रूपमा लिनु हुँदैन किनभने त्यस बेला पृथ्वीमा मानिस थिएनन्।

विगतमा समुद्री सतह अहिलेको भन्दा २५ मिटरसम्म पनि बढी थियो।

मौसम सम्बन्धी प्रकोपहरू निकै बढेको पाइएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मौसम सम्बन्धी प्रकोपहरू निकै बढेको पाइएको छ

पाँचदेखि आठ मिटर बढी भए मात्र पनि अहिले संसारभरका तटीय क्षेत्रमा रहेका शहरहरू डुब्छन्।

त्यस बेला ठूलो सङ्ख्यामा विभिन्न प्रजातिहरू लोप भएका थिए।

त्यस बेला उष्ण प्रदेश त केही पनि बाँच्न नसक्ने मृत्यु क्षेत्र जस्तो थियो।

पृथ्वी तातो र चिसो विभिन्न कारणले हुने गर्छ। जस्तो कि पृथ्वीले सूर्यलाई घुम्ने कक्ष, ज्वालामुखी विस्फोट र एल निनो जस्ता अल्पकालीन मौसमी चक्रहरू।

जङ्गली आगो

धेरै वर्षसम्म कैयौँले तापक्रम वृद्धिको वैज्ञानिक आधारमाथि प्रश्न उठाउने गरेका थिए।

तर अहिले समकक्षीहरूबीच समीक्षा भएर छापिने जर्नलका लेखहरूमा सबैजसो वैज्ञानिकहरूले अहिले भइरहेको जलवायु परिवर्तनको कारकबारे सहमत देखिन्छन्।

सन् २०२१ मा प्रकाशित एक प्रमुख संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनमा 'मानव गतिविधि नै वायुमण्डल, समुन्द्र र जमिन तातिनुको कारण रहेको भन्नेमा एकमत रहेको' उल्लेख गरिएको छ।