जलवायु परिवर्तन: नेट जिरो भनेको के हो र यो कसरी हासिल गर्न सकिन्छ

तस्बिर स्रोत, Getty Images
यूके सरकारले हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विस्तृत योजना सार्वजनिक गर्दै सन् २०५० सम्ममा 'नेट जिरो'को लक्ष्य हासिल गर्ने बताएको छ।
यो घोषणा ग्लास्गोमा एउटा महत्त्वपूर्ण जलवायु परिवर्तनसम्बन्धी शिखर बैठक सीओपी २६ सुरु हुनु केही दिनअघि गरिएको हो।
सन् २०१५ मा १९७ वटा देशहरूले पृथ्वीको तापमान वृद्धिलाई १.५ सेल्सियसभन्दा कममा राखेर जलवायु परिवर्तनका खराब असरहरू नियन्त्रण गर्ने सहमति गरेका थिए।
त्यसका लागि जतिसक्दो छिटो नेट जिरो हासिल गर्नु पर्ने बताइन्छ।
तर नेट जिरो भनेको के हो? यो कसरी हासिल गर्न सकिन्छ?
नेट जिरो भनेको हो?
नेट जिरो भनेको वायुमण्डलमा हरितगृह ग्यासहरूको मात्रा थप हुन नदिनु हो।
उक्त लक्ष्य हासिल गर्न हरितगृह ग्यासको उत्सर्जन जतिसक्दो घटाउने र बाँकी रहेकोलाई सन्तुलन मिलाउनु पर्छ।
हामीले घर, उद्योग र यातायातमा इन्धन, ग्यास र कोइलाको प्रयोग गर्दा हरितगृह ग्यास उत्सर्जन हुन्छ। यसले विश्वव्यापी रूपमा तापमान वृद्धि गराउँछ।
सन् २०१५ मा भएको प्यारिस सम्झौता अनुसार १९७ वटा देशहरूले तापमान वृद्धिलाई १.५ सेल्सियसभन्दा कममा राखेर जलवायु परिवर्तनका खराब असरहरू नियन्त्रण गर्ने सहमति गरेका थिए।
विज्ञहरूले उक्त लक्ष्य पूरा गर्न सरकारहरूले सन् २०५० सम्म जति कार्बन उत्सर्जन हुन्छ, त्यति नै घटाउनुपर्ने उल्लेख गरेका छन्।

तस्बिर स्रोत, PA Media
ग्लास्गोमा सीओपी २६ शीर्ष बैठकमा कसरी त्यो दिशामा अघि बढ्ने भन्नेबारे विभिन्न देशहरूलाई आफ्ना योजना प्रस्तुत गर्न लगाइनेछ।
वायुमण्डलबाट कार्बन कसरी हटाउन सकिन्छ?
हरितगृह उत्सर्जनहरूलाई शून्यमा झार्न सकिँदैन त्यही भएर उत्सर्जनलाई सन्तुलनमा राख्ने काम गर्नुपर्छ।
लगभग सबै जसो देशहरूले कार्बन सोस्ने सबैभन्दा सस्तो विधिका रूपमा वृक्षारोपणको विधि अपनाइरहेका छन्।
तर आवश्यक रुख रोप्नका लागि पर्याप्त स्थान छ कि छैनन् भन्ने भन्ने प्रश्नहरू यथावत् नै छन्।
कार्बन कब्जा गर्न र भण्डारण गर्नका लागि प्रविधिहरू पनि सुझाइएको छ।
यसमा उपकरणहरू प्रयोग गरेर कार्बनलाई हावाबाट हटाउने र त्यसलाई ठोस पदार्थमा रूपान्तरण गरेर जमिनमुनि पुर्ने गरिन्छ।
तर यस्तो प्रविधि अझै विकास भइरहेको छ, महँगो छ र प्रमाणिक भइसकेको छैन।
यूकेले के घोषणा गरेको छ?
ब्रिटेनको हाउस अफ कमन्समा नेट जिरो रणनीति प्रस्तुत गर्दै ऊर्जामन्त्री ग्रेग हेन्ड्सले निम्न प्रतिबद्धता जनाए:
- विद्युतीय सवारीसाधन र तिनका चार्ज केन्द्रका लागि ६२० मिलियन पाउन्ड अनुदान उपलब्ध गराउने र पेट्रोलबाट नवीकरणीय ऊर्जा प्रयोग गर्ने चरणमा पुग्न थप ३५० मिलियन पाउन्ड अनुदान
- घरहरूमा कम कार्बन निष्कासन गर्ने हिट पम्पहरू जडान गर्न ५,००० पाउन्डसम्म अनुदान
- साना परमाणु रिआक्टर विकासका लागि १२० मिलियन पाउन्ड
- वृक्षारोपणका लागि ६२५ मिलियन पाउन्ड
- कार्बन सोस्ने विधि र भण्डारण हबहरूमा थप लगानी
यूके सरकारले सन् २०३० बाट नयाँ पेट्रोल तथा डिजेल कारहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ र सन् २०३५ सम्ममा यूकेमा सबै ऊर्जा विद्युत् नवीकरणीय हुनेछ।
विपक्षी लेबर पार्टीले उक्त योजना पर्याप्त नभएको प्रतिक्रिया दिएको छ।
अरू देशहरूले के गरिरहेका छन्?
जलवायु परिवर्तनसँग जुझ्न विश्वव्यापी प्रयास आवश्यक रहन्छ भन्ने कुरा आम रूपमा नै स्वीकार गरिएको छ।
त्यही भएर नेट जिरो हासिल गर्ने उद्देश्यले सबै देशहरूले एउटै दिशामा कदम चाल्दा अर्थ राख्छ।
१३२ देशहरूले सन् २०५० अघि नै नेट जिरो हासिल गर्ने बताइरहेका छन्।
विश्वको सबैभन्दा ठूलो कार्बन उत्सर्जनकर्ता चीनले सन् २०६० सम्म आफूले 'कार्बन न्युट्रल" अर्थात् जति कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ त्यति नै मात्रामा कार्बन डाइअक्साइड वातावरणबाट सोस्ने अवस्था बनाउने बताएको छ।
तर उसले कसरी त्यो विन्दुसम्म पुग्ने खुलाएको छैन।
रुस, भारत र इन्डोनेसिया जस्ता विश्वका केही सबैभन्दा बढी जनसङ्ख्या भएका देशहरूले नेट जिरोबारे केही प्रतिबद्धता जनाएका छैनन्।
नेट जिरोलाई लिएर के समस्या छन्?
कतिपय देशहरूले कसरी नेट जिरो हासिल गर्छन् भन्नेमा विवाद छ।
उदाहरणका लागि एउटा देशले बढी ऊर्जा चाहिने स्टिल उद्योग बन्द गरेर उत्सर्जन कम गराउन सक्छ।
तर यदि त्यही देशले अर्को राष्ट्रबाट स्टिल झिकाउने निर्णय गर्यो भने उसले आफ्नो कार्बन उत्सर्जन पनि उक्त देशलाई हस्तान्तरण गर्छ।
त्यसको अर्थ हरित गृह ग्यासको उत्सर्जन घट्दैन।
धनी देशहरूले गरिब देशहरूलाई नवीकरणीय ऊर्जाहरू प्रयोग गर्न लगानीहरू गरिदिएर आफ्नो उत्सर्जन घटाउन सक्छन्।
तर त्यसलाई देशभित्र थप कदम चाल्नुको सट्टा अघि बढाइएका गतिविधिका रूपमा कतिपयले लिने गरेका छन्।












