जब भारत पेलेको प्रेममा पर्यो र बैरागियो

तस्बिर स्रोत, SATYEN SEN
के तपाईँ आफूलाई 'महामहिम' भनेर सम्बोधन गरियोस् भन्ने चाहनुहुन्छ, मिस्टर पेले? यो प्रश्न महान् फुटबल खेलाडीलाई कोलकाताका एक पत्रकारले सोधेका थिए।
यी महान् खेलाडी प्रख्यात खेलाडीहरूले भरिएको टीम न्यूयोर्क कोज्मससँग खेल खेल्न ४५ वर्षअगाडि तीनदिने भ्रमणमा कोलकाता (त्यतिबेला कलकत्ता भनिन्थ्यो) पुगेका बेला यो प्रश्न सोधिएको थियो।
ब्रजिलका यी प्रख्यात खेलाडी त्यतिबेला ३७ वर्षका थिए। यो घटनालाई उद्धृत गर्दै ‘हिन्दुस्तान स्ट्यान्डर्ड’ पत्रिकाले लेखेको छ, ‘‘पेले पहिले मुस्कुराए र त्यसपछि ठूलो स्वरले हाँसे।’’
यो सेप्टेम्बर २४, १९७७ को कुरा हो। त्यसको एक दिनपछि उनको टोलीले भारतको चर्चित र पुरानो फुटबल क्लब मोहन बगानसँग खेल्दै थियो।
पेलेको टोलीको पहिलो खेल प्रख्यात ईडन गार्डन रङ्गशालामा हुँदै थियो र फुटबललाई मन पराउने सहर कोलकातामा उत्साह चरम सीमामा थियो।
हिन्दुस्तान स्ट्यान्डर्डका अनुसार मोहन बगानले त्यति बेला पेले र उनको क्लबका खेलाडीलाई बोलाउन १७ लाख भारतीय रुपैयाँ खर्च गरेको थियो ।
पेले र उनको टोलीलाई सहरका उन्मत्त फ्यानहरूबाट जोगाउन ३५,००० प्रहरीको व्यवस्था गरिएको थियो।खेलको टिकट ५ रुपैयाँ देखि ६० रुपैयाँसम्म बिक्री भएको थियो ।

तस्बिर स्रोत, Getty Images
धेरै पत्रिकाहरूले उनका लागि "किङ पेले" र "सम्राट" लेखेका थिए।
'हिन्दुस्तान स्ट्यान्डर्ड'ले निकै उत्साहपूर्वक लेखेको छ, "निरर्थक वा अङ्ककारी हुनु त परै जाओस् निर्जज्ज नभईकन भन्ने हो भने पनि पेलेले आफूलाई लियोनार्दो दा भिन्ची र बेटोभनलगायतका इतिहासका सबै अन्य महान् व्यक्तित्वहरूसँग तुलना गर्न सक्छन्। पारखीहरूका लागि पेलेको खेल लियोनार्दो दा भिन्चीको चित्र मोनालिसा वा बेटोभनको ‘नाइन्थ सिम्फनी’ जत्तिकै सुन्दर र रमाइलो छ।"
पेलेबारे कोलकातामा ठूलो उत्साह थियो।
चियापसलमाथि राखिएको एउटा ‘बिलबोर्ड’मा पेले कलकत्ता आउनु अविश्वसनीय रहेको लेखिएको थियो।
एउटा स्थानीय पत्रिकाले प्रथम पृष्ठमा ग्राफिक्स प्रकाशन गरेको थियो। तिनमा पेले कसरी खेल्छन् भनेर व्याख्या गरिएको थियो।
पेलेको नाम ‘हेल्थ ड्रिङ्क’को विज्ञापनमा छापिएको थियो। खेल हेर्ने ‘चिट्ठा’ पाउन लामो लाइन लागेको थियो।
तर एक ज्योतिषीको 'भविष्यवाणी' ले परिस्थिति बिगार्यो। उनले पेले बिरामी पर्ने र खेलको सम्पूर्ण अवधि खेल्न नसक्ने भनिदिएका थिए।
टोकियोबाट एअर इन्डियाको विमान चढेर पेले कोलकत्ता आइपुग्दा उनको टोली एशियाको दुई हप्ता लामो 'सद्भावना यात्रा' को अन्तिमतिर थियो। यसअघि उक्त टोलीले जापान र चीनको भ्रमण गरेको थियो ।
सेप्टेम्बर २२ मा मध्यरातमा पेले कोलकाता पुग्दा सहरमा उत्साह थियो।
पत्रिकाहरूले विमानस्थलभित्र र बाहिर जनसागर नै देखिएको र उनीहरूले कोलाहल गरेको लेखेका छन्।
‘‘विमानस्थलबाहिर रातको समयमा मैले यति ठूलो भिड कहिल्यै देखेको थिइनँ। प्रशंसकहरू सहरका सबै भाग अनि आसपासका क्षेत्रहरूबाट आएका थिए,’’ सर्वाधिक बिक्री हुने बङ्गाली भाषाको 'आनन्द बजार' पत्रिकामा एक संवाददाताले लेखेका छन्।
सुरक्षाव्यवस्था उल्लङ्घन गर्दै प्रशंसकहरूको एउटा समूह बोइङ ७०७ विमान तर्फअघि बढेको थियो।
पेले विमानबाहिर निस्किए। उनले औलाले ‘भी’ सङ्केत बनाए र मानिसहरूको भिड देखेपछि फेरि विमानभित्र पसे।

तस्बिर स्रोत, Getty Images
प्रहरीले भिड नियन्त्रण गरेपछि उनी पत्नीसहित विमानबाट ओर्लिए। उनको टोलीका अरू सदस्य पनि ओर्लिए।
त्यसपछि उनीहरू टर्मिनल भवनमा पुगे जहाँ पेलेले पत्रकारहरूलाई भने: “म थाकेको छु। मैदानमा भेटौँला।”
विमानस्थल अस्तव्यस्त हुने क्रम भने जारी नै रह्यो। प्रहरीले लाठीचार्ज नै गर्नुपर्यो। विमानस्थल बाहिर पनि हजारौँ प्रशंसक पार्किङस्थलनजिकै कुरिरहेका थिए। पेले निस्कन लागेको हल्ला चल्नासाथ उनीहरू खोजीमा यताउता दौडिएको देखिएको पत्रिकाहरूले उल्लेख गरेका छन्।
प्रहरीले पेले र कोज्मसका खेलाडीलाई विमानस्थलबाट बस चढाएर कोलकाता सहरको बीचमा रहेको एउटा विलासी होटलमा लगेका थिए। होटेलको भुइँतल्ला र बाहिर पनि प्रशंसकहरूको भिड लागेको थियो।
पत्रिकाहरूका अनुसार पेलेले आफ्नी श्रीमतीसँग अर्को दुई दिनसम्म अधिकांश समय होटेलमै समय बिताए। नजिकैको अर्को कोठामा “अङ्गरक्षकको ठूलो टोली” तैनाथ थियो।
उनी अमेरिकी दूतावास र मोहन बगानले आयोजना गरेको दुईवटा भोजमा मात्र सहभागी भएका थिए।
उनकी श्रीमती रोजमेरीले सञ्चारमाध्यमसँग भनिन्, "हामी प्रेमको किल्लामा थुनिएका छौँ।"

तस्बिर स्रोत, Getty Images
सप्ताहान्तमा हुन लागेको खेल खेल्न गए। एक स्थानीय पत्रिकाका अनुसार मैदान ओसिलो र भिजेको भए पनि ९० मिनेट पूरै समय खेल्ने वाचा उनले गरेका थिए।
‘बेअरफुट टु बुट्स: द मेनी लाइभ्स अफ इन्डियन फुटबल’का लेखक नोवी कपाडियाले भने आफ्नो किताबमा अलि फरक रूपमा उक्त घटनालाई व्याख्या गरेका छन्। उनले लेखेका छन्, “चिप्लो मैदानका कारण पेलेले खेल्न झन्डै अस्वीकार गरे। तर प्रहरीले उनीले नखेले भिड उग्र हुने र मोहन बगानका अधिकारीहरूलाई कुटपिट गरी मार्ने सक्ने भन्दै फकाउन थाले। यसपछि पेले हिचकिचाउँदै खेल्न त थाले तर पूरै खेलमा उनी निकै सतर्क देखिए।”
धेरै विवरणहरूका अनुसार खेलको अन्त्य भने सोचेभन्दा परक हुन पुग्यो।
पेलेले गोलपोस्टमा केही शट प्रहार गरे तर सफल हुन सकेनन्। उनले आफ्नो स्वाभाविक लयमा देखा परेनन्।
मोहन बगान टोली भने जोसले भरिएको थियो। एक साताअघिको वर्षाले मैदान हिलो बनाएको भए पनि घरेलु टोलीले पूर्ण जोसका साथ खेलिरहेको थियो।
खेल दुई गोलको बराबरीमा सकिएको थियो र पेलेले मैदान छाड्दा जताततै मौनता थियो। तर जब मोहन बगानको टोली बाहिरिँदै थियो रङ्गशाला दर्शकहरूले तालीले गुन्जियो।

तस्बिर स्रोत, Getty Images
पेलेप्रति कोलकाताको प्रेम केही फिक्का हुन सुरु भयो।
एउटा पत्रिकाको शीर्ष समाचारमा लेखिएको थियो, "यो स्पष्ट छ कि पेले बूढा भए।"
लोकप्रिय बङ्गाली पत्रिका आनन्द बजारका प्रख्यात खेललेखक मोती नन्दीले लेखे, "पेलेलाई कोलकाता बोलाइएको थियो ताकि हाम्रा युवा फुटबलरहरूले उहाँबाट यस खेलको बारेमा केही सिक्न सकून्।आयोजकले पनि त्यस्तै भनेको थियो। तर उनीहरूले पेलेबाट धेरै केही नगरी ९० मिनेट मैदानमा कसरी बस्ने भन्ने सिकेका थिए।”
पेलेप्रतिको उन्माद चाँडै समाप्त भयो। उनको होटलबाहिर भिड कम हुन थाल्यो।
एक निराश प्रशंसकले सत्तारूढ कम्युनिस्ट सरकारका एक मन्त्रीलाई "नक्कली पेलेलाई कोलकाता ल्याइयो" भनेर आरोप लगाए।
एक कम्युनिस्ट सांसदले तिनै मन्त्रीलाई ‘‘खेलको टिकटको पैसा फिर्ता गर्न” भने।
पेले आइतवार राति न्यूयोर्क फर्किँदै गर्दा विमानस्थलमा भिड थिएन । एउटा पत्रिकाले शीर्षकमा लेखेको थियो, “राजाको निराशाजनक प्रस्थान”।
वरिष्ठ पत्रकार सन्तोष कुमार घोषले पेले र कोज्मसमा खर्च भएको रकमको एक अंश सहरका धेरै सडकलाई सुन्दर बनाउन पर्याप्त हुन्थ्यो भन्ने टिप्पणी गरेका थिए।
पेलेको यो खेलको बारेमा टिप्पणी गर्दै प्रसिद्ध खेल टिप्पणीकार अरिजित सेनले भने, "कोज्मसका खेलाडीहरूले आफ्नो क्षमताको एकचौथाइभन्दा बढी प्रदर्शन गरेनन्। खेलमा समय बिताएर उनीहरू सन्तुष्ट थिए।”
"उनीहरूको उद्देश्य पूरा भएको थियो। गरिब भारतीयहरूको मेहनत गरेर कमाएको पैसाले उनीहरूको झोली भरिएको थियो। "








