नामिबियालाई हराउँदै नेपालको लगातार तेस्रो जित

नेपाली क्रिकेट टिम

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

आइसीसी विश्वकप लीग-२ शृङ्खलामा नेपालले नामिबियाविरुद्ध दोस्रो जित हासिल गरेको छ।

यससँगै काठमाण्डूमा जारी आइसीसी विश्वकप लीग-२ त्रिकोणात्मक शृङ्खलामा नेपालले लगातार तीन खेलमा जित हासिल गरेको हो।

ती सबैमा नेपालले दोस्रो ब्याटिङ गरेर ठूलो लक्ष्य पछ्याउँदै सफलता हासिल गरेको हो।

शनिवार कीर्तिपुर क्रिकेट मैदानमा पनि नामिबियाले प्रस्तुत गरेको २७५ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालले अन्तिममा चौका प्रहार गर्दै २७८ बनायो।

नामिबियाले पूरै ओभर खेलेर दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभर तीन बलमा पूरा गर्यो। 

नामिबियाले पहिलो ब्याटिङ गर्दै ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।

जवाफमा नेपालले ब्याटिङ गर्दै सात खेलाडी गुमाएर तीन विकेटको जित हासिल गर्‍यो।

रोमाञ्चक जवाफी ब्याटिङ गरिरहेको नेपालले अन्तिम तीन ओभरमा तीन विकेट गुमाएको थियो।

एक दिन अगाडि मात्र खेलिएको खेलमा पनि नेपालले स्कटल्यान्डले दिएको २७५ रनकै लक्ष्य पार गरेको थियो।

शनिवारको दिन दर्शकले भरिभराउ कीर्तिपुरको मैदानमा ओपनर आशिफ शेख, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ‍‍र कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरेका थिए।

लीग-२ को शीर्ष तीन स्थानमा रहेको नामिबियाले यसअघि खेलेका तीन खेलमा नेपाललाई पराजित गरेको थियो। एक खेल वर्षाका कारण अवरुद्ध हुन पुगेको थियो।

जितसँगै नेपालको २७ खेलबाट २४ अङ्क बनेको छ।

जितसँगै नेपाली टोली विश्वकप लीग-२ को शीर्ष पाँचमा उक्लिने बाटोमा अगाडि बढेको छ। पाँचौँ स्थानमा रहेको यूएईको २७ अङ्क छ।

कीर्तिमान

क्रिकेट

नेपालका ओपनर कुशल भुर्तेल १ रन बनाएर आउट भए।

नामिबियाका बलरहरूले त्यसको ६ ओभरमा कसिलो बलिङ र फिल्डिङ गर्दै नेपाली ब्याट्सम्यानहरुलाई खुलेर खेल्न दिएका थिएनन्।

तर जब शेख र मल्लको ब्याटिङ खुल्न थाल्यो, स्कोर बोर्डमा धमाधम रन जोडिन थालेको थियो।

यी दुईले सँगैसँगै जसो अर्धशतक पूरा गरे।

पहिलो विकेट ९ रनमा गुमाएको नेपालको दोस्रो इनिङ्स १४८ रनसम्म चलेको थियो।

त्यसबेलासम्म नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी बनिसकेको थियो।

मल्ल २६.१ ओभरमा आउट हुँदा १३९ रनको कीर्तिमानी साझेदारी बनेको हो।

घरेलु मैदानमा नेपालले पाँच दिन अगाडि मात्र बनाएको १३३ रनको कीर्तिमानी साझेदारीलाई आशिफ-ज्ञानेन्द्रले तोडेका छन्।

त्यो साझेदारी पनि कुशल भुर्तेल र रोहित पौडेलले नामिबियाविरुद्ध नै बनाएका थिए।

दोस्रो विकेटको लागि पनि यो उच्च साझेदारी हुने नै भयो।

यहाँनिर अर्को रमाइलो तथ्य के छ भने यसअघि दोस्रो विकेटको उच्च रनको साझेदारी आशिफ-ज्ञानेन्द्र (१२२ रन) कै नाममा थियो।

ज्ञानेन्द्र मल्लले ६५ रन जोडे। जसका लागि उनले ७४ बल खेलेर पाँच चौका र ३ छक्का प्रहार गरेका थिए। शेख भने ८१ रन बनाएर आउट भए।

उनले ८ चौका र २ छक्का प्रहार गरे। त्यसपछि रन बटुल्ने जिम्मा लिएका कुशल मल्ल र कप्तान रोहित पौडेलले रन लिने क्रमलाई गति दिए।

मल्लले ६ चौका र ४ छक्काको मद्दतमा ६५ रन बनाए। यो उनको एक दिवसीय तर्फको तेस्रो अर्धशतक हो।

चुनौतीपूर्ण लक्ष्य

नेपाली क्रिकेट समर्थक

तस्बिर स्रोत, CAN

टस हारेर पहिलो ब्याटिङ पाएको नामिबियाले चुनौतीपूर्ण स्कोर जोडेको थियो।

दिनको सुरुआतमा लेग स्पिनर सन्दीप लामिछानेले नामिबियाका प्रमुख तीन खेलाडीलाई आउट गरेपछि नामिबिया दबाबमा परेको थियो।

टोलीले ३८ ओभरसम्म ५ विकेट गुमाउँदा १३८ रनमात्र जोडेको थियो।

तर छैटौँ नम्बरमा आएका जेन ग्रीनले अविजित ७५ रन तथा पिकी या फ्रान्सले ४९ रन जोडेपछि नामिबियाको स्कोर सुधारियो।

अर्को एक विकेट करण केसीले लिए। दुई खेलाडी भने रन आउट हुन पुगेका थिए।

करण केसीले अन्तिम ओभरमा २५ रन दिएका थिए।

नेपालले अब शृङ्खलाको अन्तिम खेलमा मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ।