आमाको अचारको स्वाद जसले अस्ट्रेलिया पुगेका छोरालाई नेपाल फर्कायो

तस्बिर स्रोत, PRAKASH PANDEY
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
करिब तीन वर्षअघिसम्म प्रकाश पाण्डेले आफ्नी आमाको मुहार- अस्ट्रेलियाको कुनै पसल वा भान्साको एउटा कुनामा देख्थे। त्यहाँ उनी पीआर, विदेशमै स्थापित हुने रहर, सन्तानलाई राम्रो वातावरणमा हुर्काउने चाहना अनि भविष्यका लागि खर्चिएको समय र रकमको तालमेल मिलाउन बाध्यहरूको भिडमा कतै रुमलिएका थिए।
त्यही दौडधुपबीच एक दिन रासन लिन मार्टमा पुग्दा उनी एउटा अचारको बट्टा नियालिरहेका थिए। अचानक एक जना भारतीय मूलका व्यक्तिले उनीसँग भने- ‘लैजानूस भाइ। नेपालको अचार हो। साह्रै मिठो छ। राम्रो बिक्री भइरहेको छ।‘
जवाफमा उनी फिस्स हाँसे र भने- ‘यो मेरै आमाको अचार हो।‘
उनलाई सुझाव दिने मानिसले अविश्वास मिश्रित लवजमा पुनः सोधे- ‘त्यसो भए तिमी चाहिँ यहाँ के गरिरहेका छौ?’
उनलाई भरथेग उत्तर दिएर फर्किए पनि त्यो प्रश्नले पाण्डेलाई लखेट्न छाडेन। त्यसबारे धेरै सोचे र एक दिन श्रीमती गोमा शर्मासँग भने- ‘हामी नेपाल फर्किऊँ।‘
करिअर बनाउन अस्ट्रेलिया पुगेकी शर्माले नेपालमा पढेको विषय र पेसा त्यागेकी थिइन्। त्यहाँ नर्सिङ क्षेत्रमा शून्यबाट सुरु गरेर स्थापित भइसकेकी उनलाई श्रीमानको अप्रत्याशित प्रश्नले झस्कायो। तर, प्रस्ताव सोझै नकार्न सकिनन्।
उनीहरूले महिनौँ एक अर्कासँग विमर्श गरे, परिवारसँग सल्लाह गरे। नेपाल फर्किएर आफ्नी आमाको अचार व्यवसायमा साथ दिने योजनाबारे साथीभाइलाई समेत सुनाए।
“कतिपयले हाँसेर उडाए। अनि कतिपयले यहाँ सेटल हुन लागेको मान्छे किन त्यो धुलो माटोमा फर्किन लागेको? अचार बेचेर कति कमाउँछौ? भनेर प्रश्न गरे,” पाण्डेले आफू अन्योलमा रहँदाको त्यो क्षण सम्झिए।
कति कमाइन्छ वा कहाँ पुगिन्छ भन्ने उनलाई पनि यकिन थिएन। तर, उमेर ढल्कँदै जाँदा व्यवसाय बढाउँदै लगेकी आफ्नी आमा र आफ्नो परिवार सँगै हुन आवश्यक ठाने। त्यो निचोडलाई बलियो मौका दियो कोरोनाभाइरस महामारीले। महामारी चरम उत्कर्षमा पुग्दा उनी सामूहिक रूपमा चार्टर्ड गरिएको विमानमार्फत् नेपाल आए।


परिवारलाई एक बनाएको व्यवसाय
सन् २०१३ मा अस्ट्रेलिया गए पछिको उतारचढावबारे सुनाउँदै गर्दा पाण्डे परिवार काठमाण्डूस्थित नेपाल अचार उद्योगको कार्यालयमा थियो। उनीहरूले भोगेको घटनाक्रम र सँगालेको अनुभव एक अर्कासँग सम्बन्धित छन्। त्यसैले छोराबुहारीले आफूहरूको भोगाइ सुनाउँदै गर्दा, मौका मिल्नासाथ लोलीमा बोली मिलाइहाल्थिन् सङ्गीता पाण्डे।
सङ्गीता अर्थात् प्रकाश पाण्डे र उनका दुई दाजुहरूकी आमा अनि “आमाको अचार”की संस्थापक।
“मैले त तिमीहरूलाई जहाँ राम्रो हुन्छ त्यहीँ बस, आमालाई सघाउन आएको भन्छौ भने नआउ भनेकी हुँ। भविष्यबारे सोच्न सुझाव दिएकी थिएँ। किनकि यहाँ आएर राम्रै हुन्छ भन्ने थिएन। सधैँ उनीहरूले पछुताउन नपरोस् भन्ने लाग्थ्यो,” यति बोलेर उनी केहीबेर चुप लागिन्।
र, छेउमा उभिएको नातिलाई आफूतर्फ तान्दै भनिन्,”मुखले नआऊ भने पनि मनमा माया छ। यिनीहरू नेपाल फर्किएर मेरा छोराबुहारीले मलाई सबैभन्दा सुन्दर उपहार दिए। मैले उद्योगको केही जिम्मेवारी उनीहरूलाई सुम्पिएँ।”
पाण्डेले आमाको व्यवसायको बजार प्रवर्द्धन र निर्यातको पाटो सम्हाल्न थाले। उनले सोचेका थिएनन्, वर्षौँअघि आमाले रहरै रहरमा सुरु गरेको उद्योगको प्रबन्ध निर्देशक बन्छु भन्ने जुन उद्योगलाई उनले कुनै बेला “पत्याएका” समेत थिएनन्।
“आमाले एकदम मिठो अचार बनाउनु हुन्थ्यो। हामीले तारिफ गर्थ्यौँ। त्यति बेला आमा दङ्ग पर्दै भन्नुहुन्थ्यो ‘अब म अचार बनाएर बेच्छु।’ लाग्थ्यो- रहर पूरा गर्न स्थानीय पसलहरूमा बेच्नु होला। तर, यति ठूलो उद्योग बन्ला भन्ने सोचेकै थिइनँ,” प्रकाशले सम्झिए।
अहिले आमाको करिब २५ थरिका अचार नेपालका ठूला सुपर मार्केटहरूमा भेटिन्छन्। तर, यहाँ पाइने अचारहरू कुल उत्पादनको १० प्रतिशत मात्र हो। आफ्ना ९० प्रतिशत उत्पादनको बजार जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपेली राष्ट्रहरू भएको उनी बताउँछन्।
भान्साबाट सुरु भएको कथा

तस्बिर स्रोत, PRAKASH PANDEY
करिब १२ वर्षअघि सङ्गीताका श्रीमान् युनाइटेड ब्याङ्क अफ इन्डियाबाट सेवा निवृत्त भएर नेपाल फर्किए। त्यसपछि जेठो र माइलो छोराको विवाह गराइदिए। कान्छो छोरो पनि चाँडै बिदेसिने तयारीमा थिए।
हुर्किएका छोराहरू “आ-आफ्नो कामधन्दामा व्यस्त हुन थालेपछि” सङ्गीताको दैनिकी प्राय एकान्तमा सुस्त बित्न थाल्यो। त्यसरी दिनभरि केही नगरी बस्दा आफूलाई छटपटी महसुस हुन थालेको उनी सम्झन्छिन्।
श्रीमान् नेपाल फर्कनुभन्दा ६ वर्षअघि उनले बुटवलमा अचार बनाउने तालिम लिएकी थिइन्। छोराबुहारी हुन् वा अन्य आफन्त र छरछिमेकले उनले बनाएको अचारको निकै प्रशंसा गर्थे। आफ्नो त्यही सिप र स्वादलाई व्यावसायिक ढङ्गमा अगाडि बढाउने जुक्ति परिवारमा सुनाएको क्षणबारे भनिन्: “छोराहरूलाई आमाको केही दिनको रहर भन्ने लागेको थियो। श्रीमान्ले गाह्रो हुन्छ नगर भन्नुभयो। आमाबुवाले पनि आराम गर्ने उमेरमा कामको कुरा सुनाउँदा निको मान्नु भएको थिएन।”

तस्बिर स्रोत, PRAKASH PANDEY
तर, उनको अठोट र हुटहुटीको अघिल्तिर कसैको केही लागेन। पहिलो पटक श्रीमान्ले नै दश किलो खुर्सानी किनेर ल्याइदिए। त्यस चरणको अचार आफन्त र साथीभाइलाई बेचिन्। उनीहरूबाट प्राप्त प्रतिक्रियाले सङ्गीताको रहर पूरा त गर्यो नै उनलाई थप मात्रा बनाउने र बजारमा पुर्याउने हौसला दियो।
“पसलमा बेच्न त उद्योग दर्ता गर्नुपर्यो। अचार सिल गर्नुपर्यो अनि नाम दिनुपर्यो। यी प्रक्रियामा मलाई जेठो छोराले सघायो। घरेलु उद्योगमा दर्तादेखि लेबल बनाउने काम उसैले गरिदिएको हो,” उनले व्यवसायमा लम्कँदै गर्दाको क्षणबारे बताइन्।
यद्यपि, लेबलमा प्रयोग नाम र चित्रको प्रसङ्ग सोझै आमाको कला चेतसँग जोडिएको बताउँछन् प्रकाश।
“सबैले आमाको अचार मिठो छ भनेको सुन्दा आनन्द लाग्थ्यो। त्यसैले नाम नै त्यही जुराएँ। लोगोमा चाहिँ आफ्नै फोटो राख्न मन थियो। मिल्दैन रहेछ। त्यसैले ठूलो छोराले चित्रको प्रयोग गरिदियो,” उनले सुनाइन्।
अहिले उत्पादन प्रवर्द्धनका लागि देश विदेश पुग्ने प्रकाशले- आमाले जुराएको त्यही नाम र चित्रले मानिसलाई स्वादसँग मात्र नभई भावनात्मक रूपमा जोडेको महसुस गरे।
स्थानीय बजार हुँदै दर्जनौँ देश
अचारहरू स्थानीय मार्टहरूमा पठाउन थालेको डेढ वर्षपछि अचानक आएको एउटा फोन सम्पर्कले सङ्गीताको व्यावसायिक उडानलाई फरक उचाइ दिएको उनी बताउँछिन्। एक जना व्यक्तिले उनले बनाएको अचार चाखेको र आफूले त्यसलाई अमेरिका पठाउन चाहेको बताएका थिए।
“कसैले एक्कासि २५ कार्टुन अचार दिन सक्नुहुन्छ? भनेर प्रश्न गर्दा त मेरो आँखाबाट खुसीको आँसु नै झर्यो। सक्छु कि सक्दिनँ होला भन्ने द्विविधाबीच प्रस्ताव स्वीकार गरेँ,” उनले पहिलो पटक अन्तर्राष्ट्रिय बजार पाउनुको खुसी साटिन्।
“व्यवसायमा लागेपछि मिठो कुरा बिक्छ भन्ने थियो। तर विदेश नै जाला भन्ने थिएन। मैले झुटो बोलेको होइन तर संसार नै जितेजस्तो लाग्यो।“
त्यसपछि हरेक महिना अचारको माग बढ्दै गयो। त्यतिन्जेल कान्छो छोरा प्रकाश पनि विवाह गरेर विदेश गइसकेका थिए। त्यसैले आफूलाई सघाउन अर्को एक जना महिलालाई रोजगारी दिएकी थिइन् जुन समय क्रममा पर्याप्त भएन। किनकि अस्ट्रेलिया, जापान अनि युरोपबाट माग ह्वात्तै बढ्यो।
छोराहरूबिना ठूलो महसुस भएको भान्सा साँघुरियो। घरको रित्तो दोस्रो तलाभरि अचारका सामग्री असरल्ल हुन थाले। त्यतिले पनि पुगेन, भुईँ तलामा बसेका बहालवालालाई कोठा छोड्न आग्रह गर्नुपर्यो। सन्तान गएपछि रित्तिएको घर पुन: भरिभराउ हुन थाल्यो।
माग र बजारसँगै कामदार बढे। घरमा सीमित उद्योग, बालुवाटारमा भाडामा लिएको एक रोपनी जग्गामा सर्यो। त्यहाँ ४ वर्ष अचार उत्पादन गरेपछि प्रकाश र गोमा छोरा लिएर फर्किएका हुन्।
प्रकाशले सक्रिय रूपमा अचार निर्यात तथा घरेलु बजारमै बिक्री तथा वितरणको पाटो अङ्गाले। माग बढ्यो र थप फराकिलो ठाउँ खोज्दै चन्द्रागिरि नगरपालिकामा उद्योग सारे।


अहिले सङ्गीता, उनका श्रीमान्, दुई छोरा र बुहारीबाहेक ५२ जना स्थायी कर्मचारी छन्। डल्ले खुर्सानीको मौसममा करिब २०० जना मानिस त्यहाँ दैनिक ज्यालामा काम गर्न आउने उनले बताइन्।
“थुप्रै मान्छे काम खोज्दै आउँथे। मैले क्षमता अनुरूप ठाउँ दिएकै छु। तर सबैलाई सकिँदैन रहेछ,” उनले खिन्नता व्यक्त गरिन्। यद्यपि, कसैको रोजगार नगुमोस् भन्ने हेतुले नै आफूले अहिलेसम्म कुनै ठूला उपकरणहरूको प्रयोग नगरेको उनी बताउँछिन्।
“मशिनले मान्छेको हातको स्वाद बिगार्छ कि भन्ने डर पनि हो। म त्यो जोखिम मोल्न चाहन्नँ। खर्च कम र आम्दानी बढी हुन्थ्यो होला तर म गुणस्तर र १२ वर्ष पहिलेको स्वाद कायम राख्नुमा केन्द्रित छु।”
उनले यति भनिरहँदा गोमा बोलिन्,”अब त्यो चुनौती आमाले मसँग पनि बाँड्नु भएको छ। उहाँले अचारको रेसिपी मलाई पनि दिनु भएको छ। अहिले अचार बनाउन चाहिने मसला बनाउँदै गर्दा लाग्छ- उहाँले वर्षौँ लामो तपस्याको फल मलाई सुम्पनु भयो।“

तस्बिर स्रोत, PRAKASH PANDEY
स्वाद र गुणस्तर जोगाउने चुनौती
समय कटाउन सुरु गरेको यस कामले सङ्गीतालाई बेफुर्सदिलो बनाएको छ। उनी मसला बनाएको प्रक्रिया हेर्ने, चाख्ने र सिकाउने काम गर्छिन्। त्यसका अतिरिक्त दर्जनौँ मानिस भेट्न आउँछन्, फोन गर्छन्, कार्यक्रमहरूको निमन्त्रणा उत्तिकै। व्यस्तताका बाबजुद छोराहरू र बुहारीले आफूले जोगाइरहेको स्वाद र गुणस्तरमा ध्यान दिऊन् भन्नेबारे उनी उत्तिकै सतर्क सुनिन्छिन्।
“गर्दागर्दै उद्योग ठूलो भयो। अब जस्तो भए पनि धेरै उत्पादन गर्नु पर्छ, पैसा कमाउनु पर्छ भन्ने कहिल्यै सोच आएन। गुणस्तरीय बनाएपछि पैसा आफै पछाडि लागेर आउँदो रहेछ। अगाडि हेर्ने नै होइन। म उनीहरूलाई सधैँ यही भन्छु,” अभिभावकत्व झल्किने बोलीमा उनले भनिन्।
त्यति बेला आमालाई विश्वस्त बनाउन प्रयास गर्दै प्रकाशले पनि आमाको अचारको गुणसँगै स्वादको निरन्तरता र आम उपभोक्ताले गरेको विश्वास कायम राख्न प्रयासरत रहेको जिकिर गरे।
पहिले आमाले उनलाई सधैँ “आफ्नो लागि राम्रो निर्णय गर्न” सुझाइन्। अहिले प्रकाशलाई आफूले नेपाल फर्किएर “सही निर्णय” गरेको महसुस भएको छ।
उनीहरू आउने दिन सङ्गीता स्वयं विमानस्थल पुगेकी थिइन्, छोरा बुहारीको लागि आफैले उपहार किनिदिएको गाडी लिएर। “मैले अचार नबेचेको भए कहाँ किनिदिन सक्थेँ र?,” सङ्गीताको प्रश्नले उनको जीवनमा भएको आर्थिक सफलताबारे प्रस्ट जवाफ दिन्छ।

तस्बिर स्रोत, PRAKASH PANDEY
अहिले प्रकाश अस्ट्रेलियामा कसैको भान्सा वा पसलमा आमाको चित्र अङ्कित अचार देख्दा भिडिओ कल गरेको सम्झन्छन्। अहिले आफू ती अचारहरू विदेश पठाउन खटिँदाको सन्तुष्टिसँग तुलना गर्छन् र भन्छन्,”हामीले सही समयमा आवश्यक निर्णय लियौँ। सायद, छोरा स्कुल जान थालेको भए हामी त्यहीँ अल्झन्थ्यौँ।”
आफ्नो छोराले नेपालमा पाठ्यक्रमको पढाइबाहेक सामाजिक रूपमा धेरै कुरा सिकिरहेको गोमाको अनुभव छ। यसरी पाण्डे परिवारलाई अचारले धेरै थोक दियो। सबै उपलब्धिहरू भन्दा माथि छरिएको परिवारलाई एकै ठाउँमा ल्याइदियो।
प्रकाश र गोमालाई आज पनि अस्ट्रेलियामा रहेका साथीहरूले फोन गर्छन्। तर अहिले उनीहरू प्रश्न सोध्दैनन्। प्रकाशले आफ्नी आमासँग मिलेर विस्तार गरिरहेको बजारबारे बुझेका उनीहरू भन्छन्- “त्यहाँ त धुवाँ र धुलोबाहेक धेरै थोक रहेछ।”








