मानव दूध ब्याङ्क: स्तनपानबाट वञ्चित शिशुहरूलाई 'अर्की आमा'को दूध

तस्बिर स्रोत, Seema Nepal
आजभोलि अरू कसैको काखे बच्चा बोक्नु पर्दा सीमा नेपाललाई मानसिक आघातले छोप्छ। फरक किसिमको डर र ग्लानिबोधले उनलाई निकै गाह्रो बनाउँछ।
अरूको छोराछोरी देख्दा आफ्नी तीन वर्षीय छोरीबारे तर्कना उठ्ने उनी सुनाउँछिन्।
"मैले आफ्नी छोरीलाई पर्याप्त प्रेम र समय दिन नसकेको महसुस हुन्छ। आफ्नो दूध खुवाउन नसकेको सम्झिँदा मानसिक तनाव बढ्छ," उनले बीबीसीसँग भनिन्।
शल्यक्रियामार्फत् कपनकी २६ वर्षीया सीमाकी छोरी जन्मिइन्। तर, शरीरमा लगाएको टाँकाको चोटका कारण छोरीलाई काखमा लिएर आफ्नो दूध खुवाउन सकिनन्। स्वास्थ्य जटिलताकै कारण स्वास्थ्यकर्मीहरूले पनि बच्चालाई केही दिन फर्मुला दूध खुवाउन सुझाव दिए।
उनले ठानेकी थिइन्- घर फर्किएपछि आराम हुन्छ। घाउ पुरिँदै जान्छ। छोरीलाई बोक्न पाउँछु, आफ्नो दूध खुवाउन सक्छु।
तर, त्यसो भएन। सीमाकी छोरीले आमाको स्तनपान गर्न सकिनन्। आक्कलझुक्कल तान्न खोज्दा सीमाको दूध आएन।
"मेरो शरीरको चोट त ठीक हुँदै गएको थियो तर जब छोरीलाई दूध खुवाउन सकिनँ तब म मानसिक रूपमा बिरामी पर्दै गएँ," उनले आफ्नो पीर सुनाइन्।
उनले भर्खरै जन्मिएको बच्चालाई आमाको दूध अत्यावश्यक हुन्छ भन्ने सुनेकी थिइन्। त्यसैले पम्प गरेर आफ्नो दूध जम्मा पार्ने र छोरीलाई खुवाउने प्रयास गरे पनि दूध पर्याप्त आएन। यसैका कारण आफूले सामाजिक र मनोवैज्ञानिक दबाव भोग्नु परेको उनी बताउँछिन्।

तस्बिर स्रोत, Binita Dahal/BBC
"मानिसहरू ठान्थे, मैले दूध खुवाउन चाहिनँ। कति पटक त जबरजस्ती खुवाउन खोजेँ। त्यस्तो बेला छोरी रुन्थी अनि आफैलाई माया लाग्थ्यो," उनले त्यो समय सम्झिइन्।
"आमा भएर दूध खुवाउन नसक्नुले गर्दा मानिसहरूले मलाई अपूर्ण महसुस गराए।"
छोरीको उमेर बढ्दै गयो। फर्मुला दूध र अन्य खानेकुरा खाएर हुर्किँदै छिन्। सँगै सीमाको आघात गहिरो बन्दै गयो। दूध नआउनु वा छोरीले चुस्न नसक्नुलाई उनले आफ्नो कमजोरी ठानिन्।
आजभोलि छोरी बिरामी हुँदा "स्तनपान गराउन नसक्नु"लाई कारण मान्छिन् उनी। उनकी छोरीलाई नियमित कब्जियतको समस्या छ। छोरीलाई पटक पटक गाह्रो हुँदा उनलाई लाग्थ्यो- आफ्नो नभए अरू कुनै आमाको दूध खुवाउन सकेको भए पौष्टिक आहार पुग्थ्यो कि?
यस्ता प्रश्न र अन्योलहरूले गिजोल्ने उनी एक्ली आमा भने होइनन्।
आमाको दूधबाट वञ्चित
परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा वार्षिक २२,००० भन्दा बढी बालबालिका जन्मन्छन्। तीमध्ये १४ प्रतिशत शिशु समय अगावै जन्मिने र केहीको स्वास्थ्यमा गम्भीर किसिमको समस्याहरू देखिने बताउँछिन् अस्पतालकी बाल रोग विशेषज्ञ डा. कल्पना सुवेदी। उनका अनुसार विविध जटिलताका कारण वार्षिक ४० प्रतिशत शिशुले आफ्नी आमाको स्तनपान गर्न नसक्ने वा नपाउने स्थिति सिर्जना हुन्छ।
"आमाको दूध नआउँदा वा बच्चाले तान्न नसक्दा बाहिरको दूध खुवाउनु पर्ने हुन्छ। जुन पौष्टिक रूपमा पूर्ण हुँदैन र बच्चालाई पनि पचाउन गाह्रो हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले पनि सकेसम्म आमाकै दूध खुवाउन सुझाव दिन्छ," डा. सुवेदीले भनिन्।
"सकेसम्म बच्चाले आफै तानेको राम्रो। सकेन भने आमाको दूध तानेर खुवाउनु पर्छ। तर, आमामै समस्या भयो भने?"

तस्बिर स्रोत, Dr. Kalpana Subedi
आफूहरूले त्यस्ता समस्याको समाधान खोज्न थालेको र मानव दूध ब्याङ्कको अवधारणा बनाएको उनले सुनाइन्। जुन ब्याङ्कले गाई भैँसीको वा बोतलको दूध खान बाध्य शिशुहरूलाई मान्छेको दूध खुवाउने वातावरण सुनिश्चित गर्छ।
यस ब्याङ्कमा सक्ने र दान गर्न चाहने आमाहरूको दूध सङ्कलन गरिने र आवश्यक परेका शिशुहरूलाई खुवाइने डा. सुवेदीले जानकारी दिइन्।
'अमृत कोष' को शुभारम्भ
पौष्टिक तत्त्व र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने भएकाले कतिपयले आमाको दूधलाई "अमृत"सँग तुलना गर्छन्। त्यसैले थुप्रै आमाहरूको दूध सङ्कलन गरिने यस ब्याङ्कको नाम "अमृत कोष" तय गरिएको प्रसूति गृहका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बीबीसीलाई बताए।
उनका अनुसार विभिन्न तथ्याङ्कहरूले बच्चा जन्मिएको एक घण्टाभित्रै उसलाई आमाको दूध खुवाउन सके नवजात शिशु मृत्युदर २२ प्रतिशतभन्दा कम गर्न सकिन्छ। त्यस्तै बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र खुवाउँदा उक्त दर ३२ प्रतिशत कम गर्न सकिन्छ।
"पहिलो प्रयास त सम्बन्धित बच्चाकै आमाको दूध तान्न लगाउने, तान्न नसके अन्य माध्यमबाट तानेर खुवाउने प्रयास हुन्छ। आमाको दूध उत्पादन नभएको वा खुवाउन नसकिने अवस्थामा अर्की सुत्केरी महिलाको दूध खुवाउने प्रयास हो," उनले योजना सुनाए।
"आवश्यकता र खेर जाने दूधको सन्तुलन र व्यवस्थापनको लागि यो कदम उठाएका हौँ।"
गत वर्ष सुरु भएको योजनाका लागि प्राविधिक सहयोग युनिसेफ नेपालले र आर्थिक सहयोग नेपाल सरकारले गरेको छ। वृहत् स्तनपान व्यवस्थापन केन्द्र अन्तर्गत मिल्क ब्याङ्क आउँदो भदौमा उद्घाटन हुँदैछ।
एउटी आमाको दूध अर्की आमाको बच्चालाई
आफ्नै आमाको दूध उपलब्ध नभएको अवस्थामा अर्की आमाको प्रयोग गर्नुलाई चिकित्सकहरू प्राथमिक विकल्पको रूपमा व्याख्या गर्छन्।

तस्बिर स्रोत, Dr. Kalpana Subedi
समान मत राख्छिन् स्त्री रोग विज्ञ डा. गीता गुरुङ पनि। उनी भन्छिन्,"गाईको दूध वा अन्य दुग्ध पदार्थ मान्छेको बच्चाको लागि बनेको होइन। त्यो बाक्लो हुन्छ र पचाउन सक्दैनन्। त्यसले रोगविरुद्ध लड्ने क्षमता विकास गर्दैन।"
तर, दूध खुवाउने वा दान गर्ने महिलालाई कुनै रोग, सङ्क्रमण छ भने त्यो अवस्थामा उनको दूध अरूको बच्चालाई खुवाउनु ठीक नहुने बताउँछिन् बालरोग विज्ञ कल्पना सुवेदी।
"ती महिलाको आफ्नै बच्चामा एन्टिबडी विकास हुने भएकाले समस्या हुँदैन तर अरू बच्चालाई उनको दूध दिन मिल्दैन," उनले भनिन्।
त्यस्तै नियमित औषधि र मादक पदार्थ सेवन गर्ने महिलाको पनि दूध सङ्कलन गर्न नमिल्ने बताइएको छ। "दूध सङ्कलन गर्नुअघि सम्बन्धित महिलाको स्वास्थ्यस्थिति जाँच गरिन्छ। उनले सेवन गर्ने औषधि दूधबाट जाँदैन भने मात्र त्यो दूध अन्य बच्चाको लागि जम्मा गरिन्छ।"
कसरी हुन्छ दूधको भण्डारण?
कुनै पनि आमाबाट दूध निकाले पछि त्यसलाई २४ घण्टासम्म सामान्य चिस्यानमा भण्डारण गर्न सकिने जानकारहरू बताउँछन्। अर्थात् कुनै आमाबाट निकालेको दूध सामान्यतया एक दिनका लागि दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गरिन्छ।
यदि उक्त दूधलाई फ्रिजमा राख्ने वातावरण नभएको खण्डमा अति गर्मी स्थानमा चारदेखि छ घण्टाभित्र त्यसको प्रयोग गरिनु पर्छ।
चौबिस घण्टाभन्दा बढी समयका लागि भने सङ्कलित दूधलाई -२० डिग्री सेल्सियसमा राख्नु पर्ने डा. सुवेदीले बताइन्।
"त्यसरी राख्दा दूधमा भएको पौष्टिक तत्त्व नष्ट हुँदैन।"
अस्पतालमा भएको उपकरणमा प्रशोधन गर्न एक पटकमा सत्र सय मिलिलिटर दूध आवश्यक पर्छ। त्यसैले स्तनपान उपलब्ध नहुने अधिक शिशुहरू लाभान्वित हुन हालका लागि पर्याप्त दूध सङ्कलन नै प्रथम चुनौती भएको उनी बताउँछिन्।
अन्य चुनौती कस्ता?

तस्बिर स्रोत, Binita Dahal/BBC
नेपालको निम्ति यो नौलो अवधारणा भएकाले सबैले आफ्नो दूध सहजै दान नगर्ने वा आफ्नो बच्चालाई अरूको दूध खुवाउन नचाहने जस्ता समस्या देखिन सक्ने ठानिएको छ।
सीमा नेपाल भन्छिन्, "हामीजस्तो समस्या भोगेको र मिल्क ब्याङ्कबारे थाहा भएकाहरूले सहजै स्वीकार्न सकौँला तर हाम्रो समाजमा अझै पनि परम्परावादी सोच हाबी छ। त्यसैले बच्चालाई अरूको दूध दिनबाट आफन्तले नै रोक्न सक्छन्।"
आम मानिसलाई यसबारे स्पष्ट नपारेसम्म मानव दूध ब्याङ्क स्थापित हुन गाह्रो हुने उनको धारणा छ।
कस्तो अवस्थामा आमाको दूध आउँदैन?
स्त्रीरोग विज्ञ डा. गीता गुरुङका अनुसार सुत्केरी हुँदा उच्च रक्तस्राव भएका, कुनै किसिमको सङ्क्रमण भएका वा प्रसव वेदनापछि गम्भीर बिरामी भएका महिलाहरूले आफ्नो बच्चालाई स्तनपान गराउन कठिन हुन्छ।
शल्यक्रिया प्रक्रियाबाट सन्तान जन्माएकाहरूलाई पनि टाँकाका कारण केही कठिन हुन सक्ने उनले बताइन्।
"तर आमामा अरू स्वास्थ्य समस्या छैन भने स्वास्थ्यकर्मी वा परिवारका सदस्यको सहयोगमा स्तनपान गराउन सकिन्छ," उनले भनिन्।
उनले प्राय रोग लागेका महिलाहरूको दूध उत्पादन नहुने जानकारी दिइन्। कतिपय स्थितिमा सुरुवाती दिनहरूमा बच्चाले दूध नतानेको अवस्थामा सुत्केरी महिलाको दूध उत्पादनमा ह्रास आउने बताइन्।
डा. गीताले भनिन्,"नवजात शिशु आमाको दूध मात्र खाएर पनि बाच्न सक्छ। बच्चाले दूध नखाएको अवस्थामा आमाको दूध गानिने, सुन्निने, पीप जम्ने र सङ्क्रमण हुनेजस्ता समस्या देखिन सक्छ।"
उस्तै परिस्थितिको सामना गरेकी सीमा भन्छिन्,"स्तनपान गराउन नसक्नु र त्यसका कारण भोग्नु परेको कठिनाइहरूले आज पनि गलाउँछ। मिल्क ब्याङ्कले गर्दा मैलेजस्तो परिस्थिति अरूले भोग्नु पर्दैन भन्ने लागेको छ।"
"समाजले त अझै पनि दूध खुवाउन नसक्नुलाई आमाकै कमजोरी ठान्ला तर कुनै अर्की आमाको दूध खुवाउनुले बच्चाको स्वास्थ्यलाई राम्रो गर्छ भन्ने आशा छ।"























