कोरोना भाइरस: आमाबाट शिशुमा कोभिड-१९ सर्ने सम्भावना ‘कम’

तस्बिर स्रोत, Getty Images
एउटा सानो अध्ययन अनुसार सावधानी अपनाइएको खण्डमा कोभिड-१९ लागेका गर्भवती आमाबाट शिशु जन्मँदा कोरोनाभाइरस नसर्ने देखिएको छ।
न्यूयोर्कको तीनवटा अस्पतालमा जन्मिएका १२० शिशुमध्ये कसैमा पनि सङ्क्रमित आमाबाट कोरोनाभाइरस सरेको पाइएन।
दुई सातासम्म ती आमा र शिशु एकै कोठामा रहेका र शिशुलाई स्तनपान गराइएको थियो। त्यसपश्चात् पुन: गरिएको परीक्षणमा पनि ती शिशुमा सङ्क्रमण पाइएन।
विज्ञहरूले यो नतिजालाई आशलाग्दो भन्दै थप व्यापक अध्ययन गरिनुपर्नेमा जोड दिएका छन्।
'निकट सम्बन्ध'
सङ्क्रमित गर्भवती आमाबाट तथा स्तनपान गराउने सङ्क्रमित आमाबाट शिशुहरूमा कोभिड-१९ शिशुहरूमा सर्छ कि सर्दैन भन्ने बारे पर्याप्त आँकडा उपलब्ध छैनन्।
त्यसैले गर्भवती महिला तथा नवजात शिशुका आमाहरूलाई दिइने सुझाव थरीथरीका छन्।
यूकेमा रोयल कलेज अफ अब्स्टेट्रिसियन्स तथा गाइनेकोलोजिस्टले आमाहरूलाई नवजात शिशुसँग रहन वा स्तनपान गराउन चाहे गर्न सल्लाह दिएको छ, तर त्यसो गर्दा उचित सावधानी अपनाउन पनि भनिएको छ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले पनि कोभिड-१९ सङ्क्रमणको सम्भावित जोखिमको तुलनामा स्तनपानका फाइदा निकै धेरै रहेको जनाएका छ।
यसबीच अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोलले नवजात शिशुलाई केही समय आमाभन्दा छुट्टै राख्न सल्लाह दिएको छ। आफ्नो दूध झिकेर शिशुलाई दिन सकिने उसले उल्लेख गरेको छ।
तर यो अध्ययनमा भने आमा तथा शिशुलाई एउटै कोठामा रहन र स्तनपान गराउन दिइएको थियो।
तर आमाहरूले अनुहारमा मास्कको प्रयोग गरेका थिए तथा पटकपटक हात धोएका थिए। शिशुहरूलाई आमाको खाटभन्दा दुई मिटर पर साना खाटमा राखिएका थिए।
त्यसो गर्दा अध्ययनकर्ताहरूले यस्तो पाए:
- सबै १२० शिशुको जन्मपश्चात् नाकबाट स्वाब झिकेर परीक्षण गर्दा सङ्क्रमण भएको पाइएन।
- एक सातापश्चात् ८२ शिशुको पुन: परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पाइएन। तीमध्ये ६८ शिशु सङ्क्रमित आमा बसेकै कोठामा राखिएका थिए। तीन चौथाइभन्दा धेरै शिशुहरूलाई तिनको आमाले स्तनपान गराएका थिए।
- जन्मिएको दुई सातापश्चात् ७२ शिशुको फेरि गरिएको परीक्षणमा पनि सङ्क्रमण पाइएन।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

अध्ययनकर्ताहरूका अनुसार १२० मध्ये एक तिहाइ शिशुको पुन: परीक्षण हुन पाएन किनभने तिनका आमाबुवाले महामारीको समयमा तिनलाई अस्पताल ल्याउन रुचाएनन्।
सो अध्ययनकी नेतृत्वकर्ता डा. क्रिस्टिन साल्भाटोरले भनिन्, "हामी आशा गर्छौँ यो नतिजाले आमाहरूलाई तिनले शिशुलाई कोभिड-१९ सार्ने सम्भावना अत्यन्त थोरै रहेको कुरामा आश्वस्त पार्ने छ।"
"तर यकिन जानकारीका लागि योभन्दा व्यापक अध्ययन हुनुपर्छ।"
यूकेमा गर्भवतीहरूमा भएका कोभिड-१९ का बारे राष्ट्रिय सर्वेक्षणको नेतृत्व गर्दै आएकी प्राध्यापक मारियन नाइटका अनुसार यो अध्ययनले केही आश्वासन प्रदान गर्नुका साथै विद्यमान निर्देशिकालाई पनि समर्थन गरेको छ।
उनले भनिन्, "यूकेमा कोरोनाभाइरस सङ्क्रमित एक हजारभन्दा धेरै गर्भवती महिलाले शिशुलाई जन्म दिएका छन्। केवल १-२ प्रतिशत शिशुलाई मात्र भाइरस सरेको छ। अनि सङ्क्रमणले ती शिशुलाई धेरै गम्भीर बिरामी गराएको पनि पाइएन।"
"अमेरिकामा गरिएको यो सानो अध्ययनले पनि मास्क लगाउने जस्ता साधारण सावधानी अपनाए आमाबाट शिशुमा सङ्क्रमण सर्ने थोरैमात्रै सम्भावना भएको देखाउँछ।"
यो अध्ययन ल्यान्सेट चाइल्ड एन्ड एडोलिसेन्ट हेल्थ नामक जर्नलमा प्रकाशित गरिएको छ।








