कोरोना भाइरस: चमेराको अध्ययनले कसरी भाइरसको उपचार पत्ता लगाउन सहयोग पुग्न सक्छ

चमेरो

तस्बिर स्रोत, OLIVIER FARCY

    • Author, हेलन ब्रिग्स
    • Role, बीबीसी पर्यावरण संवाददाता

वैज्ञानिकहरूले छ प्रजातिका चमेराको आनुवंशिक संरचनाको गुह्य पत्ता लगाएका छन्।

जीवनसूत्र मानिने आनुवंशिक संरचनामा चमेरालाई घातक भाइरसबाट जोगाउने "असाधारण प्रतिरोध क्षमता" भएको सङ्केत पाइएको छ।

अनुसन्धानकर्ताहरू यो जानकारी प्रयोग गरी चमेराहरूले कसरी आफू बिरामी नपरी कोरोनानाभाइरस बोक्छन् भन्ने रहस्य पत्ता लगाउन सकिने अपेक्षामा छन्।

उनीहरूका अनुसार यसबाट अन्ततः मानवजातिलाई स्वस्थ राख्न र भविष्यमा सम्भावित महामारीबाट जोगाउन कुनै उपाय फेला पार्न सकिन्छ।

यूनिभर्सिटी कलेज डब्लिनमा प्राध्यापन गर्ने एमा टीलिङले चमेराको आनुवंशिक संरचनामा "अनुपम प्रतिरक्षा प्रणाली" देखिएको बताइन्।

प्रकृतिमै उपचार

अनि चमेराले कसरी आफू सङ्क्रमित वा पीडित नभई भाइरस बोक्न सक्छ भन्ने पत्ता लगाउन सकियो भने त्यसले कोरोनाभाइरसजस्ता विषाणुले गराउने रोगको उपचार खोज्न सहयोग गर्न सक्छ।

"चमेरामा भाइरस सहन सक्ने शक्ति प्रदान गर्ने प्रतिरोधी प्रतिक्रियाको नक्कल गर्न सकियो भने तपाईँ प्रकृतिमै उपचार फेला पार्न सक्नुहुन्छ," टीलिङले बीबीसी न्यूजलाई भनिन्।

चमेरो

तस्बिर स्रोत, DANIEL WHITBY

प्राध्यापक टीलिङ "ब्याटवनके" (Bat1K) परियोजनाकी सहसंस्थापक हुन्।

यो परियोजनाले १,४२१ प्रजातिका चमेराको आनुवंशिक संरचनाको गुह्य पत्ता लगाउने लक्ष्य राखेको छ।

कोभिड-१९ चमेराबाट सुरु भएर अन्य कुनै जनावरबाट मानिसमा सरेको मानिन्छ। बीचको जीव कुन हो भन्ने पत्ता लागेको छैन।

सार्स, मेर्स र इबोलाजस्ता अन्य थुप्रै रोगहरू पनि यसरी नै मानिसमा सरेको मानिन्छ।

संरक्षणकर्ताहरूले चमेरालाई यसका लागि दोषी मान्न नहुने बताइरहेका छन्। प्राकृतिक अवस्थामा छोड्ने हो भने चमेराले मानव स्वास्थ्यमा जोखिम ल्याउँदैन भन्ने उनीहरूको तर्क छ।

चमेरालाई प्राकृतिक चक्रको सन्तुलनका लागि पनि महत्त्वपूर्ण छन्। तिनले फलबाट निस्केका बीउ फैलाउने र राति लाखौँ टन कीरा खाने गर्छन्।

अध्ययनले के देखायो?

अध्ययनकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले नयाँ प्रविधि प्रयोग गरेर चमेराको आनुवंशिक संरचना पत्ता लगायो।

अन्य ४२ जीवसँग चमेराको आनुवंशिक संरचना तुलना गरेर वैज्ञानिकहरूले यो स्तनपायी जीन कोसँग नजिक छ भन्ने पत्ता लगाए।

चमेरा, कुकर र बिरालोजस्ता मांसाहारी प्रजाति सालक र ह्वेलको वर्गमा पर्छन्।

ती जीव र चमेरामा भएको अनुवंशिक भिन्नता नै तिनको अद्वितीय क्षमता पत्ता लगाउन सहायक हुने उनीहरूको भनाइ छ।

यो अध्ययन नेचर जर्नलमा प्रकाशित भएको छ।