कोरोना भाइरस: चीनले वन्यजन्तुको व्यापारमाथि लगाएको प्रतिबन्धले किन काम नगर्न सक्छ?

तस्बिर स्रोत, EIA
- Author, नवीन सिं खड्का
- Role, वातावरण संवाददाता, बीबीसी विश्व सेवा
चीनले वन्यजन्तुको मासुको व्यापारमाथि स्थायी रूपमा प्रतिबन्ध लगाए पनि त्यो त्यति धेरै प्रभावकारी नहुने संरक्षणविद्हरूले बताएका छन्। किनभने चीनले अझै पनि औषधि, कपडा र गहनाका लागि प्रयोग हुने वन्यजन्तुका सामग्रीको व्यापारमाथि रोक लगाएको छैन।
यी छुटका कारण देखिएका प्रतिबन्धका छिद्रको अर्थ जङ्गली जनावरको मासुको किनबेच अझै पनि सम्भव भएको उनीहरू बताउँछन्।
मासुको किनबेचमाथि गत फेब्रुअरीमा प्रतिबन्ध लगाइएको थियो जब अहिले महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण वुहानको मासु बजारबाट सुरु भएको आशङ्का गरिएको थियो।
यी छुट दिइनुको अर्थ अझै पनि जनावरहरूका मासु कालोबजारी गरिन्छ भन्नेप्रति चिन्ताहरू व्यक्त भएका छन्।
परम्परागत औषधिमा विश्वास
प्रतिबन्ध लगाइए पनि परम्परागत चिनियाँ औषधिमा प्रयोग गर्न सकियोस् भनेर सालक र चितुवाजस्ता संरक्षित जनावरहरूको व्यापारमा भने अनुमति दिइएको छ।
"थुप्रै वन्यजन्तुका उत्पादनहरूले दिने फाइदाबारे वैज्ञानिक पुष्टि भइनसकेको भए पनि मानिसहरूको विश्वास भने दह्रो छ," बर्डिङ बेइजिङका संस्थापक तथा चीनस्थित वन्यजन्तु संरक्षणका परामर्शदाता टेरी टाउनजेन्डले भने।
"उदाहरणका लागि, मलाई थाहा छ एउटा एकदमै शिक्षित परिवारमा दुई सन्तान थिए। एउटामा प्रजननसम्बन्धी समस्या थियो र अर्को वन्यजन्तु संरक्षणमा काम गर्थ्यो।
"प्रजननसम्बन्धी समस्या हुनेले समस्या समाधानको अन्तिम उपायस्वरूप सालकको खबटा प्रयोग गर्यो जबकि उसलाई राम्ररी थाहा थियो कि त्यसमा पर्याप्त वैज्ञानिक प्रमाण छैन।"
परम्परागत औषधिका लागि उच्च माग भएका कारणले सालक चीनमा लगभग लोप हुने अवस्थामा पुगिसक्यो र त्यो विश्वमा एकदमै तस्करी हुने जनावरमा पर्छ।

तस्बिर स्रोत, Hope/Jenny Tang
अनुसन्धानले के पत्ता लगाएको छ भने सालकमा ती भाइरसहरू हुन्छन् जसका कारण कोभिड-१९ हुने सम्भावना ज्यादा हुन्छ।
'नेचर' जर्नलमा प्रकाशित अध्ययनले के स्पष्ट पारेको छ भने अहिले जारी महामारीमा जनावरको भूमिका छ भन्ने पुष्टि भएको छैन।
भुत्लाका लागि पशुपालन
सन् २०१७ मा चाइनिज एकेडेमी अफ इन्जिनियरिङले गरेको एक अनुसन्धान अनुसार चीनमा हुने झन्डै ७५ प्रतिशत वन्यजन्तुको पालन उनीहरूको छाला उत्पादनका लागि हुने गर्छ। त्यस्ता जनावरमा मिङ्क, स्याल र र्याकून पर्छन्।
"सन् २०१८ मा, छालाका लागि पाँच करोड जनावरहरूको चीनमा हत्या गरियो," एक्ट एशियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकारी पीएफ सूले भने।
उक्त संस्थाले भुत्ला र छाला उद्योगका लागि गरिने जङ्गली जनावरको उपयोगको विरोधमा अभियान चलाउँदै आएको छ।
"भुत्ला र छालाका लागि उपयोग गरिएका तिनै र्याकून डग, मिङ्क र स्यालको पछि मासु बेचिन्छ। "
त्यस्ता छिद्रहरू बाँकी रहेको विषयमा चिनियाँ प्राज्ञिक वर्ग समर्थन जनाउँछन्।
"भुत्लाको उत्पादनका लागि मात्रै तीनचौथाइ वन्यजन्तुको व्यापार हुने हुँदा भुत्लाको व्यापारमा पूर्ण प्रतिबन्ध नलगाउने हो भने हामीले वन्यजन्तुको व्यापारिक प्रयोगको सतहलाई पनि मुस्किलले असर पार्न सक्छौँ," चीनको चिङ्ख्वा विश्वविद्यालयका सहप्राध्यापक डाक्टर जियाङ जीन सङ्गले भने।
"वन्यजन्तु संरक्षणका लागि हामीले चालेका सबै प्रयासहरू व्यर्थै हुन्छ।"
सन् २०१२ मा ईआईले गरेको अनुसन्धानले कानुनी रूपमा छालाको लागि बाघको प्रजनन गराइरहेकाहरूले नै गैरकानुनी रूपमा औषधि र पेयपदार्थका लागि पनि बाघको हड्डी बेचिरहेको देखाएको थियो।

तस्बिर स्रोत, ActAsia
नयाँ प्रतिबन्धले साजसज्जाको प्रयोजनका लागि पनि छुट दिएको छ। सालकको मासु किनबेच गर्नु गैरकानुनी हो तर सजावटका लागि उसको नङ र खबटाको व्यापारमा भने रोक लगाइएको छैन।
बाघ, भालु र अजिङ्गरसँगै चीनले गोही, छेपारोजस्तो जीव र अन्य जङ्गली जनावरहरूको पनि हजारौं सङ्ख्यामा प्रजनन गराउँछ।
पीडा दिएर भालुको पित्त
चीनका प्रजनन केन्द्रहरूमा झन्डै ३०,००० वटा भालु रहेको संरक्षणविद्हरू बताउँछन्।
उनीहरूलाई साना खोरहरूमा राखिन्छ र एउटा पाइपका माध्यमबाट उनीहरूको पित्तथैलीबाट पित्त निकालिन्छ। त्यसो गर्दा भालुलाई निकै पीडा हुन्छ र सङ्क्रमणको डर हुन्छ।
प्रत्येक पटक पित्त झिक्दा त्यस्तो धातुको नलीलाई उही घाउमा पटकपटक छिराइने विज्ञहरू बताउँछन्।
यसो गर्दा भालुहरू सङ्क्रमण अथवा अन्य जटिलताका कारण मर्न पनि सक्छन्।
चिनियाँ परम्परागत औषधिका लागि भालुको पित्तको व्यापार गर्न दिइए पनि वन्यजन्तुसम्बन्धी अभियानकर्मीले पटकपटक के भनेका छन् भने तिनै अवैध काम गर्ने व्यापारीले शरीरको अन्य भाग पनि खानका लागि व्यापार गर्ने बताएका छन्।
भालुका पन्जाबाट बनाइने खानेकुरा चीनका कतिपय क्षेत्रमा निकै स्वादिष्ट खानेकुरा मानिन्छ।
चाइनिज एकेडेमी अफ इन्जिनियरिङले गरेको एक अनुसन्धान अनुसार व्यापारका लागि वन्यजन्तु पाल्ने यस्तो कामबाट एक करोड ४० लाखभन्दा बढी मानिसले रोजगारी पाएका छन् र यस्तो व्यापार ५६ अर्ब पाउन्डभन्दा बढीको छ।
तर कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण जङ्गली जनावरको मासु खाने बानी परिवर्तन गरेको हुन सक्छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

वन्यजन्तुको मासु खाने प्रवृत्ति
चीनमा हालै गरिएको सर्वेक्षण अनुसार धेरैजसो चिनियाँ नागरिक अब जङ्गली जनावरको मासु खाने परम्पराविरुद्ध जान सक्ने देखिएको थियो।
यसबारेको अनुसन्धानमा उत्तर पठाउने एक लाख एक हजारभन्दा बढी मानिसमध्ये ९७ प्रतिशतले वन्यजन्तुबाट आएका सामग्री उपभोग गर्ने विषयको विपक्षमा प्रतिक्रिया दिएका छन्।
धेरैले सरकारले जनावरको व्यापारमा लगाएको प्रतिबन्धको समर्थन पनि गरेका छन्।
वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएको विषयमा फरक धारणा राख्नेहरूले चाहिँ सर्वेक्षणका क्रममा उत्तर दिँदै सरकारको कदमले वन्यजन्तु पालनको काममा असर पार्ने बताएका थिए।

तस्बिर स्रोत, Weibo
पेकिङ विश्वविद्यालय र अन्य सातवटा सङ्गठन मिलेर गरिएको उक्त सर्वेक्षणले चीनको पूरै जनसङ्ख्याको प्रतिनिधित्व नगर्न सक्छ।
अनलाइन र सामाजिक सञ्जालमा गरिएको उक्त सर्वेक्षणमा जवाफ दिने ठूलो सङ्ख्या युवाहरूको थियो।
ती मध्ये एकतिहाइ त १९ देखि ३० वर्ष उमेर समूहका मानिस थिए।
"त्यसरी प्रतिक्रिया दिनेहरू धेरै सहरी क्षेत्रका थिए र धेरै वातावरण क्षेत्रका थिए, त्यसैले सर्वसाधारणले भन्दा उनीहरूले प्रतिबन्ध रुचाएको हुन सक्छ," टाउनजेन्डले भने।
युवाहरू के सोच्छन्?
बीबीसीसँग कुरा गर्ने चिनियाँ युवाहरूले सर्वेक्षणले पत्ता लगाएको कुराको समर्थन गरे।
"मलाई लाग्छ हामीले पक्कै पनि वन्यजन्तुको अवैध व्यापारबाट बजारहरूले पार पाएको विषयको समर्थन गर्छौं," बेइजिङमा विश्वविद्यालयमा अध्ययन गरिरहेकी जीले भनिन्। तर उनले आफ्नो पूरा नाम भने खुलाउन चाहिनन्।
"हामी हाम्रो दैनिक खानामा वन्यजन्तुको मासु खाँदैनौँ," २१ वर्षीया ती छात्राले भनिन्।
"देशभरिको विभिन्न क्षेत्रमा रहेका मेरा केही साथीहरूलाई आफ्ना परिवारले शार्क प्रजातिको माछा, सर्प र कछुवा पनि पठाइदिन्छन् किनभने उनीहरूलाई लाग्छ कि त्यसमा एकदमै आवश्यक पोषक तत्त्व हुन्छ।"
जीले आफू विद्यालयमा माध्यमिक तहमा पढ्दा कृत्रिम तरिकाबाट प्रजनन गराइएको एक प्रकारको भ्यागुता खाने गरेको बताइन्।
तर पछि ती भ्यागुतामा परजीवी हुन सक्ने थाहा पाएपछि खान छोडेको उनले बताइन्।
"कोरोनाभाइरसको प्रकोपपछि चीनमा धेरै युवाहरूले परम्परागत खाने गरिएको वन्यजन्तुको मासु खान छोड्नेछन्।"
प्रतिबन्धले साँच्चै काम गर्ला?
सन् २००३ मा सार्स प्रकोपपछि चीन सरकारले त्यहाँ वन्यजन्तुको व्यापारमाथि प्रतिबन्ध लगाएको थियो तर केही महिनामै ती प्रतिबन्धहरू खुकुलो हुँदै गए।
यस पटक भने केही कदमहरू प्रतिबद्ध देखिएको वन्यजन्तुसम्बन्धी अभियानकर्मीहरूले बताएका छन्।
अक्स्फर्ड विश्वविद्यालयकी वन्यजन्तुसम्बन्धी अनुसन्धानकर्ता तथा कोरोनाभाइरसको प्रकोपपछि चिनियाँ सरकारको वन्यजन्तुसम्बन्धी नीतिको अध्ययन गरेकी युहान लीले भनिन्, "कोभिड-१९ देखा परेयता चीन सरकारले वन्यजन्तुसम्बन्धी भएका ६०० वटा अपराधको अध्ययन गरिसकेको छ र आशा गरौँ कानुन कार्यान्वनमा केन्द्रित गरिएको अहिलेको प्रयास मान्यता नै बनोस्।"
तर संरक्षणवादी संस्थाहरूले भने परम्परागत औषधिको नाममा भुत्ला र गहनालगायत अन्य विषयका नाममा वन्यजन्तुको मासुको गैरकानुनी व्यापारलाई प्रोत्साहित गर्ने बताएका छन्।
"यिनै छिद्रले गम्भीर समस्या निम्त्याउँछन्। हामी त्यसबारे अहिले अध्ययन गरिरहेका छौँ," सरकारी सहयोग गरेको संस्था चाइना कन्जर्भेशन एन्ड ग्रीन डेभेलपमेन्ट फाउन्डेशनका महासचिवले भने।
"वन्यजन्तुको मासुमाथि प्रतिबन्ध बाहेक वन्यजन्तुबाट गरिने सबै प्रयोगहरूमा पनि रोक लगाउनुपर्छ।"
"सबैको आँखा अहिले चीनको वन्यजन्तु संरक्षणसम्बन्धी कानुनमा छ जुन छिट्टै संशोधन हुने भनिएको छ," ईआईएका ह्वाइटले भने।
"यदि त्यो संशोधनले यी छिद्रको सम्बोधन गरेन भने यो अवसर साँच्चै गुम्नेछ।"
संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय अग्रणी समूह द इन्टर्न्याश्नल यूनियन फर कन्जर्भेशन अफ नेचरले सहमति जनायो।
एशियाका क्षेत्रीय निर्देशक अबान मार्कर कब्राजीले भनिन्, "संशोधित कानुनले भूमिगत रूपमा हुने वन्यजन्तुको गैरकानुनी व्यापार रोक्नका लागि कार्यान्वयनसम्बन्धी बलिया रणनीतिहरू ल्याउने विषय प्रत्याभूत गराउनुपर्छ।"









