कोरोना भाइरस सङ्क्रमणः कोभिड-१९ गराउने विषाणु कसरी चमेरोबाट मानिसमा आइपुग्यो? सार्ने जीव 'पत्ता नलाग्न सक्छ'

तस्बिर स्रोत, Reuters
अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरस जङ्गली चमेरोबाट मानिसमा एउटा 'अन्तरवर्ती जीव' ले सारेको प्रमाणहरूले सङ्केत गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरस प्राकृतिक रूपमै विकसित र प्रसारित भएको अनुसन्धानले देखाएको बताएको छ। तर केही वैज्ञानिकहरू पहिलो पटक मानिसलाई कसरी सङ्क्रमण भएको थियो भन्ने तथ्य पत्ता नलाग्ने सम्भावना पनि भएको बताउँछन्।
चीनको वुहानस्थित वन्यजन्तु बेचबिखन हुने बजारमा उक्त अन्तरवर्ती जीव पुगेको थियो कि थिएन भन्ने स्पष्ट छैन।

वन्यजन्तुको व्यापार
तर वन्यजन्तुको व्यापारका कारण कोरोनाभाइरस मानिससम्म आइपुगेको प्रबल सम्भावना भएको विश्वास गरिन्छ।
यसअघि पनि विभिन्न रोगको अन्तरप्रजातीय विस्तारमा त्यस्तो व्यापारको भूमिका भएको अध्ययनकर्ताहरू बताउँछन्। अहिले विश्वव्यापी महामारी फैलिनुमा पनि त्यसलाई नै दोषी ठानिएको छ।
कोभिड-१९ बारे विश्व स्वास्थ्य सङ्गठनकी प्राविधिक प्रमुख डा. मारीआ भ्यान केर्कोभले ले बीबीसीको कार्यक्रम 'एन्ड्रू मार शो' मा भनिन्: "हामी यस्तै अवस्थाका लागि तयारी गर्दै थियौँ। किनभने यो 'यदि'को नभएर 'कहिले' भन्ने विषय हो।"
विशेषज्ञहरू अधिकांश सङ्क्रामक रोगमा जस्तै यो भाइरस पनि अन्य कुनै प्रजातिको जीवबाट थाहै नपाईकन मानिसमा सरेको समान धारणा राख्छन्।
जूअलजिकल सोसाईअटी अफ लन्डनसँग आबद्ध प्राध्यापक एन्ड्रू कनिङ्गम भन्छन्, "वास्तवमा हामीले केही समयदेखि यस्तै केही हुन्छ भन्ने अनुमान गरेका थियौँ।"
"मानिसले वन्यक्षेत्र अतिक्रमण गरेको हुनाले तथा वन्यजीवको बढ्दो प्रयोग र तिनसँगको बढ्दो सम्पर्कले केही वर्षयता यी रोगहरू बारम्बार आइरहेका थिए," उनले भने।
चमेरोसँगको सम्बन्ध
कोभिड-१९ नाम दिइएको रोग गराउने नयाँ कोरोनाभाइरस मात्र हैन इबोला, रेबीज, सार्स र मर्स गराउने अन्य विषाणु पनि जङ्गली चमेरोबाट मानिसमा सरेका हुन्।
सन् २००३ मा महामारी बनेर फैलिएको सार्स पनि कोरोनाभाइरससँग सम्बन्धित छ।
सन् २०१७ मा वैज्ञानिकहरूले चीनको एउटा गुफामा चमेरोसँग सम्बन्ध भएका सार्स कोरोनाभाइरसहरूको आनुवंशिक भण्डार फेला पारेका थिए।
चमेरोबाट फैलिएको सार्समा जस्तै कोभिड-१९ गराउने Sars-CoV-2 नाम दिइएको यो नयाँ कोरोनाभाइरसले सङ्क्रमणपछि मानवको कोषलाई प्रयोग गरेर आफ्नो सङ्ख्या बढाउँछ।
ताल्चा र साँचो
यूनिभर्सिटी अफ ग्लास्गोमा कार्यरत भाइरसविद् तथा प्राध्यापक डेभिड रोबर्टसन भन्छन्," सार्स-कोभ-२ मा हुने स्पाईक नामक प्रोटीनले साँचोको काम गर्छ अनि कोषमा प्रवेश गर्ने मुख्य ताल्चा चाहिँ एसीई२ नामक रिसेप्टर हो।"
उनका अनुसार नयाँ कोरोनाभाइरस यो ताल्चा-साँचोको अवधारणामा सार्स-१ भन्दा बढी प्रभावकारी देखिएको छ।
त्यसैले कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सरेको र यसको सङ्क्रमणशक्ति पनि बढी भएको हुनसक्छ।
वन्यजन्तुको व्यापारले यो सम्भावना बढाइदिन ठूलो भूमिका खेल्छ।
किनबेच र रोग प्रसारण
हामी धेरैले यो भाइरस वुहानको एउटा बजारबाट फैलिएको सुनेका वा पढेका छौँ। तर यो भाइरस भएको कुनै पनि जीव उक्त बजारमा फेला परेन।
"सङ्क्रमणको प्रारम्भिक जालो उक्त बजारसँग सम्बन्धित छ - यो पारिस्थितिक प्रमाण हो," यूनिभर्सिटी अफ केम्ब्रिजका प्राध्यापक जेम्स वुड भन्छन्।
"सङ्क्रमण संयोगवश बाहिरबाट आएको र त्यहाँ भएका मानिसलाई सरेको हुनसक्छ। तर यो जनावरमा लाग्ने भाइरस भएकाले बजारसँग सम्बन्ध भएको प्रबल सम्भावना देखिन्छ।"
यो अवधारणासँग प्राध्यापक कनिङ्गम पनि सहमत छन्। वन्यजीव बेचिने बजारमा भाइरस नयाँ जीवमा सर्ने सम्भावना उच्च हुन्छ।
सरसफाइबारे उचित व्यवस्था नभएको अवस्थामा एकै ठाउँमा धेरै प्रजातिका जीव आइपुग्दा रोगकारक कीटाणु तथा विषाणुहरूले फैलिने अवसर पाउने उनको भनाइ छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

रोग फैलिने शृङ्खलामा सूत्रको खोजी
विगतमा एउटा अन्तरवर्ती प्रजातिको जीवमार्फत् भाइरसहरू मानिसमा सरेको प्रमाण भेटिएको थियो। पालिएका, सिकार गरिएका वा बजारमा बेचिएका गरेर सबै खालका जीवमार्फत् भाइरसहरू सरेका छन्।
प्राध्यापक वुड भन्छन्,"दक्षिण चीनमा खानका लागि बेचबिखन भएको पाम सिभिट (बिरालोजस्तो देखिने स्तनपायी वन्यजीव) मा फैलिएको रोगबाट सार्स भाइरस मानिसमा सरेको हो।"
"यो थाहा पाउनु महत्त्वपूर्ण थियो किनभने पाम सिभिटमै प्रकोप फैलिएको थियो र मानिसमा सर्न नदिन पहिला नै नियन्त्रण गर्नुपर्थ्यो।"
सार्स प्रसारणको शृङ्खलामा अझै थाहा नभएको सूत्रको खोजीमा वैज्ञानिकहरूले मिङ्क, फेरिट र कछुवाआदि जीव अन्तरवर्ती भएको हुनसक्ने सङ्केत दिने आधार फेला पारेका छन्।
त्यस्तै भाइरसहरू सालकको शरीरमा पनि फेला पारिएको छ। तर यो महामारीमा सालकबाट भाइरस सरेको पुष्टि भएको छैन।
समीकरण र नियमन
वन्यजीवको व्यापारले मानिस र वन्यजीव दुवैलाई खतरामा पार्छ भन्ने हामीलाई थाहा छ।
वन्यजीवलाई हामी वा घरपालुवा जीवनको प्रत्यक्ष सम्पर्कमा नल्याउन सुनिश्चित गर्नु यो समीकरणमा अतिमहत्त्वपूर्ण हुने प्राध्यापक वुड बताउँछन्।
तर वन्यजन्तुको विश्वव्यापी व्यापारलाई नियमन गर्नु त्यति सहज कार्य हैन।
"वन्यजन्तुको व्यापार र सबै खालका सम्पर्कलाई प्रतिबन्धित गर्न विभिन्न अभियान सञ्चालित छन्," प्राध्यापक वुड भन्छन्।
"तर प्रायः विपन्न मानिसहरू दण्डित हुन्छन्। अधिकांश अवस्थामा व्यापार अवैध रूपमा चल्छ र त्यसो हुँदा केही गर्न पनि झन् कठिन हुन्छ।"
यो पनि हेर्नुहोस्










