'प्रयोगशालामा बनाइएको दूध'ले फर्मुला दूधलाई विस्थापित गर्नसक्छ?

स्तनपान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्व स्वास्थ्य सङ्गठनका अनुसार नवजात शिशुका लागि आमाको दूध पोषण र उर्जाका निम्ति महत्तपूर्ण स्रोत हो
    • Author, सान्ड्रिन लुङ्गुम्बु
    • Role, बीबीसी विश्व सेवा

यदि तपाईँका बालबच्चा छन् भने वा जन्माउने योजनामा हुनुहुन्छ भने सम्भवत: तपाईँलाई भनिनेछ- " बच्चाकालागि आमाको दूध नै उत्तम हो।"

तरआमाले स्तनपान गराउन र बच्चाले स्तनपान गर्न पाएनन् भने के हुन्छ ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नवजात शिशुका लागि आमाको दूध पोषण र उर्जाका निम्ति महत्त्वपूर्ण स्रोत हो।

आमाको दूधले बच्चाको प्रतिरक्षा प्रणाली बलियो बनाउनुका साथै मोटोपनाको जोखिम कम गर्ने र सम्भवत: भविष्यमा बुद्धि बढाउन पनि मद्दत गर्नसक्छ।

स्तनपान गराउन नसक्ने वा नचाहने आमाका लागि मुख्य विकल्प भनेको चलनचल्तीको भाषामा बट्टाको दूध भनिने 'फर्मुला दूध' हो।

तर स्टार्टअप कम्पनीहरू 'टर्टल ट्री र बायोमिल्क' प्रयोगशालामा नै आमाको स्तनबाट आउने जस्तै वास्तविक दूध बनाएर त्यसलाई परिवर्तन गर्न लागिपरेका छन्।

'कहिल्यै पनि मेरो दूध आएन'

दुई सन्तानकी आमा दीपा कुलकर्नी आफ्ना सन्तानलाई स्तनपान गराउँदाको अफ्ट्यारो सम्झदैँ भन्छिन्, "मेरो पहिलो सन्तान हुँदा पहिले त बाक्लो पहेँलो दूध आयो, उसले खायो पनि। त्यसपछि मेरो दूध आएन अनि मेरो अर्को सन्तान हुँदा त झन दूधै आएन।"

दीपा

तस्बिर स्रोत, DEEPA KULKARNI

तस्बिरको क्याप्शन, दुई सन्तानकी आमा दीपा कुलकर्नी आफ्नो दूध नआएको बताउँछिन्

उनले भनिन्, "हामीले एक महिनासम्म कोसिस गर्‍यौँ, मैले दिनको आधा औँस दूध पनि पाइनँ र केही समयपछि मेरो दूध सुक्यो।"

"त्यसैले कि त मैले उसलाई (फर्मुला दूध) खुवाउन जारी राख्नुपर्थ्यो वा मेरो बच्चालाई भोकै छाडिदिनुपर्थ्योँ।"

पहिलो पटक आमा बन्दा सन्तान सुखका साथै सामाजिक अपेक्षाहरू पूरा गर्न पनि सङ्घर्ष गर्नुपर्ने दीपाको अनुभव छ।

दूध नआउने कुरालाई आफू असफल नभएको रूपमा बुझ्नुपर्ने उनी बताउँछिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ममतामयी स्तनपान बेसहारालाई जीवनदान

नयाँ सोच

नवजात शिशुलाई खुवाउने फर्मुला दूध प्राय: गाईको दूधबाट बनाइन्छ।

यस्ता दूधमा शिशुको विकासका लागि आवश्यक पर्ने पोषणको ख्याल गरिन्छ।

यद्यपि आमाको स्तनबाटै आउने दूधजस्तो सबै तत्त्व यसमा हुँदैन। त्यसैबाट यी स्टार्टअप कम्पनीहरूले प्रेरणा लिएका छन्।

टर्टल ट्री ल्याब्सले दुग्धदानबाट सङ्कलित दूधको स्टेम कोषहरू प्रयोग गर्ने गर्छ।

ती कोषहरूलाई बायोरियाक्टरमा राखिन्छ र तिनलाई स्तनग्रन्थि कोषहरू बन्न प्रोत्साहित गरिन्छ।

स्तनग्रन्थि कोषहरूलाई विषेश किसिमले मिसाइन्छ जसले गर्दा त्यहाँ लैनो स्तनधारीको जस्तै दूध बन्ने प्रक्रिया सुरु हुन्छ। त्यसलाई अन्तिम उत्पादनका रूपमा फिल्टर गरिन्छ।

सैद्धान्तिक रूपमा स्टेम कोषहरू उपलब्ध हुन्जेल जुनसुकै स्तनधारीको दूध उत्पादन गर्न यो प्रविधि प्रयोग गर्न सकिन्छ।

आमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्वव्यापी रूपमा ६ महिनामुनिका ४० प्रतिशत मात्र शिशुलाई विशेषरूपमा स्तनपान गराइन्छ

अमेरिकामा रहेको खाद्य वैज्ञानिक मिशेल एगर र कोष बायलोजिस्ट लेला स्ट्रिकल्यान्डद्वारा नेतृत्व गरिएको स्टार्टअप बायोमिल्कले चाहिँ स्तन कोषहरूको स्रोतका लागि अर्कै तरिका अपनाएको छ।

वैज्ञानिकहरूका अनुसार मानव दूध बन्नका लागि हज्जारौँ तत्त्वहरू सामेल हुन्छन्।

त्यसमा प्रोटिन, फ्याटी एसिड्स, हर्मोन्स्, ब्याक्टेरिया र चिनीलगायत छन्।

विज्ञहरूका अनुसार यही जटिलताले गर्दा आमाको स्तनबाट प्राप्त हुने दूधको नक्कल गर्न निकै कठिन छ।

इम्पेरिअल कलेज लन्डनकी स्तन दूधबारे अध्ययन गर्ने डा. न्याटली शेङ्कर भन्छिन्, "मानव दूध आमाको रगतबाट आउने विभिन्न तत्त्वहरू, पाचन प्रणाली, प्रतिरक्षा प्रणाली, स्तनको आफ्नै प्रतिरक्षा प्रणालीबाट बन्छ। फ्याटी एसिड्सलाई पनि आमाद्वारा विग्रह गरिएको हुन्छ अनि मात्र त्यो दूधमा मिसिन पुग्छ।"

उनी ह्युमन मिल्क फाउन्डेसनकी सहसंस्थापक पनि हुन्। उक्त संस्थाले स्तनपानका र यूकेको मिल्क ब्याङ्कका लागि सहायता गर्छ।

यो वास्तविक आमाको दूध जस्तै हुन्छ?

वैज्ञानिकहरूका अनुसार प्रयोगशालामा बनाइएको यस्तो दूधले विशेषगरी प्रतिरक्षा क्षमताको कुरा गर्दा आमाको दूधको केही तत्त्वहरूलाई मात्र पूर्ति गर्नसक्छ।

त्यस्तो दूध विकास गर्न लागिरहेका कम्पनीहरू चाहिँ आमाको दूधलाई प्रतिस्थापित गर्न भन्दा पनि फर्मुला दूधको विकल्प दिन र दिगो पोषणका लागि पहल गरिएको बताउँछन्।

टर्टल ट्रीका सहसंस्थापक म्याक्स रे आमाको दूधलाई जस्तोसुकै प्रविधि अपनाए पनि प्रतिस्थापित गर्न नसकिने बताउँछन्।

तर अहिले गाईको दूध र केही मात्रामा अन्य पोषण मिसाइएको पाउडर दूधको विकल्पमा आमाको दूधको नजिक हुने खालको दूध बनाउन आफूहरू लागेको उनको भनाइ छ।

पछिल्ला दशकहरूमा भएका अध्ययनहरूले मानिसको दूध विभिन्न कारणले व्यक्तिपिच्छे फरक हुने देखाएका छन्।

डा. शेङ्कर भन्छिन्, "मानिसको दूध औँठा छाप जस्तै आमा अनुसार फरक हुन्छ।"

आमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्व स्वास्थ्य सङ्गठनले शिशुलाई कम्तीमा पनि ६ महिनासम्म स्तनपान गराउन सिफारिस गरेको छ

उनी उदाहरण दिँदै यदि आमा ब्याक्टेरिया वा भाइरसको सम्पर्कमा गएर उनले एन्डिबडी उत्पादन गरिन् भने त्यो दूधमा पनि जाने र त्यसबाट बच्चामा प्रवेश गर्ने बताउँछिन्।

विश्व स्वास्थ्य सङ्गठनले शिशुलाई कम्तिमा पनि ६ महिनासम्म स्तनपान गराउन सिफारिस गरेको छ।

विश्वव्यापी रूपमा ६ महिनामुनिका ४० प्रतिशत मात्र शिशुलाई विशेषरूपमा स्तनपान गराइन्छ।

भारतको दिल्लीमा बस्ते दीपा चाहिँ आफ्ना छोराछोरीलाई फर्मुला दूध खुवाएको भए पनि उनीहरूमा कुनै फरक नदेखेको बताउँछिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वृहत् स्तनपान मेला

यो कत्तिको सम्भव छ?

डा. शेङ्कर फर्मुला र आमाको दूधलाई अर्को विकल्पले प्रतिस्थापन गर्न धेरै चुनौती देख्छिन्। उनी यो व्यवसायीक रूपमा उपयुक्त हुनकालागि चुनौती रहेको बताउँछिन्।

उनी भन्छिन्, "तरल पदार्थका रूपमा रगत र दूधमा भिन्नता छैन।"

उनी त दूधलाई रगतभन्दा पनि अझ जटिल प्रक्रियाबाट बनेको ठान्छिन्।

विगत ७० वर्षदेखिको कृत्रिम रगत बनाउने प्रयास हालसम्म सफल नभएको उनको भनाइ छ।

तर त्यसो भन्दैमा स्तनबाट आउने दूधका केही तत्त्वलाई समावेश गरेर उस्तै खाले दूध बनाउनै सकिन्न भन्ने चाहिँ नरहेको उनले बताइन्।

आमा

तस्बिर स्रोत, Shireen Friday

तस्बिरको क्याप्शन, कतिपय आमाहरू यस्ता उत्पादनको स्वच्छता र खाद्य सुरक्षाबारे चिन्तित देखिएका छन्

गत जुनमा बायोमिल्कले ३५ लाख र टर्टल ट्रीले ३२ लाख डलर दान पाएका छन्।

स्तनपान अभियानकर्मीहरू र चिकित्सकहरू भने त्यो रकम बरु स्तनपान गराउने आमाहरू वा मिल्कब्याङ्कमा लगानी गरेको भए उचित हुने थियो भन्छन्।

तर उक्त अभियानमा लागेका कम्पनीहरू भने त्यसलाई अनुसन्धानसँग जोड्न उचित नहुने बताउँछन्।

सुरक्षा चिन्ता

कतिपय आमाहरू यस्ता उत्पादनको स्वच्छता र खाद्य सुरक्षाबारे चिन्तित देखिएका छन्।

टर्टल ट्रीले पनि मानिसहरूलाई यस्तो दूध कसरी बनाइन्छ भन्ने विधि बुझाउनु सबैभन्दा ठूलो चुनौती हुने बताएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, काबुल

यी उत्पादनहरू परीक्षण गरेर मात्र बजारमा पठाइने उसको भनाइ छ।

सुरुमा यस्तो दूध बजारमा आउँदा महँगो पर्नजाने पनि उत्पादनको प्रयास गरिरहेका कम्पनीहरूको भनाइ छ।