कर्णालीमा महिला स्वास्थ्य: बेलैमा उपचार गर्न नसक्दा ज्यान जोखिममा

गाउँमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारको लागि नाम लेखाउँदै महिलाहरू

तस्बिर स्रोत, Prakash Pant/BBC

तस्बिरको क्याप्शन, गाउँमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारको लागि नाम लेखाउँदै महिलाहरू
    • Author, ‏प्रकाश पन्त
    • Role, बीबीसी न्यूज नेपाली

कर्णालीमा धेरैजसो महिलाहरू वर्षौंसम्म रोग सहेर बस्नुपर्ने र त्यसैका कारण ज्यान गुमाउने अवस्थामा पुग्ने घटनाहरू व्यापक रूपमा देखिने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

स्वास्थ्य संवेदनशीलताप्रतिको जानकारी कम, आर्थिक अभावले अस्पताल जान नसक्नु, घरायसी कामको बोझ, परिवारको बेवास्ता, रोग निको पार्दिन्छन् भन्नेमा देवी देवताप्रतिको विश्वास, धामी झाँक्रीको भरजस्ता कारणले आफूहरू वर्षौंदेखि रोग सहेर बस्न बाध्य भएको कर्णालीका महिलाहरू बताउने गर्छन।

रोग लागेपछि समयमै अस्पताल जानुको सट्टा परम्परागत चलन अनुसार धामी झाँक्रीकहाँ गएर रोग निको पार्ने प्रयासमा लाग्दा आफ्नो आमा गुमाउनु परेको जाजरकोटका हरि बुढा मगरले बीबीसीलाई बताए ।

उनले भने, "जटिल रोग लाग्दा समयमा नै अस्पताल नआएर गाउँघरमै धामी झाँक्रीको भर पर्दा समस्या दिनदिनै बल्झिँदै जाने रहेछ।"

महिलाको स्वास्थ्य चेकजाँच गर्दै प्रसुती तथा स्त्री रोग विशेषज्ञ चिकित्सक

तस्बिर स्रोत, Prakash Pant/BBC

तस्बिरको क्याप्शन, महिलाको स्वास्थ्य चेकजाँच गर्दै प्रसुती तथा स्त्री रोग विशेषज्ञ चिकित्सक

रोग पहिचान गर्न कठिन

लामो समयदेखि पिसाब सङ्क्रमण, तल्लो पेट दुख्ने, महिनावारी समस्या, पाठेघर खसेका, पाठेघरको मुख सुन्निएका, मासु पलाएका, क्यान्सरजस्ता समस्याहरू रहेका महिलाहरू उपचारमा आउने गरेको कर्णालीका स्वास्थ्यकर्मी बताउँछन्।

रोग सहनै नसक्ने अवस्था भएपछि मात्रै महिलाहरू उपचारमा अस्पताल आउने गरेको देखिएको प्रदेश अस्पताल सुर्खेतकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.सजिप्ता पन्त बताउँछिन् ।

उनी भन्छिन्, "उपचारमा आए पनि धेरै महिलाले आफ्नो समस्या खुलेर भन्न लाज मान्छन्। एकदमै धेरै खोतल्दै गयो भने बल्ल लजाइलजाइ समस्या भन्छन् तर जँचाउन चाहिँ मान्दैनन्। त्यतिकै औषधि दिनु भन्छन्।"

धेरैजसो महिला रगत धेरै बग्ने, महिनावारीको गडबडी, पेटमा मासु पलाएको, पाठेघरको मुखमा घाउ भएको, सेतो पानी बग्ने, फोहोर पानी जमेकोजस्ता समस्या लिएर उपचारमा आउने उनी बताउँछिन्।

पाठेघरको मुखको क्यान्सर, मिर्गौला, कलेजोजस्ता शरीरका अरू अङ्गहरूमा पनि फैलिसकेको अवस्थामा मात्र आउने भएकोले उपचार गर्न गाह्रो हुने अनुभव रहेको डा. पन्तले बताइन्।

अनाहकमा दुःख पाउने र अकालमै ज्यान गुमाउने

"तल्लो पेट दुख्न थालेको धेरै वर्ष भयो। गाउँमै उपचार गर्दा निको भएन," दैलेखकी एक जना महिला भन्छिन्, "पैसा नहुँदा ठूलो अस्पताल गएर उपचार गर्न सकेकी छैन।"

कर्णालीका कतिपय स्थानीय तह र विभिन्न संस्थाले महिलाको स्वास्थ्य समस्यालाई पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन्।

हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष रुपा शाही समय-समयमा गाउँ-गाउँमा स्वास्थ्यकर्मी खटाएर महिलाको स्वास्थ्य समस्या पहिचान गरी उपचारको लागि सहयोग गरिरहेको बताउँछिन् ।

उनी भन्छिन्, "समस्यालाई सामान्य रूपमा लिने बानीले गर्दा पनि कर्णालीका महिला दिदीबहिनीले दुःख पाएका छन्।"

महिलाको स्वास्थ्य जाँच गर्दै प्रसुती तथा स्त्री रोग विशेषज्ञ चिकित्सक

तस्बिर स्रोत, Prakash Pant/BBC

तस्बिरको क्याप्शन, महिलाको स्वास्थ्य जाँच गर्दै प्रसुती तथा स्त्री रोग विशेषज्ञ चिकित्सक

दक्ष जनशक्ति र आवश्यक उपकरण अभाव

गाउँका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावले गर्दा पनि समयमै रोग पत्ता लाग्न र प्रभावकारी उपचार गराउन नसकेको महिलाहरू गुनासो गर्छन्।

उनीहरू भन्छन्, "सरकारले गाउँमा दक्ष जनशक्ति र आवश्यक उपकरणका साथै बेलाबेलामा स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाए बेलैमा रोग थाहा हुन्थ्यो। अनि समयमै उपचार गर्न सकिन्थ्यो।"

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजिप्ता पन्त भन्छिन्, "समयमै उपचारमा किन नआएको भनेर सोध्दा महिलाले अस्पताल टाढा भएको, आर्थिक अभावजस्ता कारणले नआएको जवाफ दिने गर्छन्।"

"केही उपाय नलागेपछि, महिनावारी रोकिने बेला यस्तै हुन्छ भन्ने ठानेर, गोप्य अङ्गहरू देखाउनुपर्छ भन्ने लाजले आफूहरू समयमै अस्पताल नआएका हौँ भन्छन्," उनले भनिन्।

आमा सुरक्षा कार्यक्रममार्फत निःशुल्क उपचार र औषधि पाइने तथा घर जाने बेला पैसा पनि पाइने भएकोले गर्भवती अवस्थामा महिलाहरू बढी नै सचेत देखिएको चिकित्सकहरू बताउँछन् ।

आमा सुरक्षा कार्यक्रम प्रभावकारी भएजस्तै पाठेघरको मुखको क्यान्सरको पनि गाउँमै वर्षमा एक पटक अनिवार्य तथा निःशुल्क प्याप स्मिअर, भीआइए जस्ता जाँचहरू गर्ने व्यवस्था मिलाए महिलालाई धेरै राहत हुने उनीहरू बताउँछन्।