न्यूजील्यान्ड कानुनः गर्भ तुहिँदा तलबी बिदा पाइने व्यवस्थाको महत्त्व

तस्बिर स्रोत, Getty Images
न्यूजील्यान्डमा गर्भ तुहिए दम्पतीलाई तलबी बिदाको अधिकार दिने सम्बन्धमा एउटा विधेयक पारित भएको छ। त्यस्तो कानुनले पार्न सक्ने भिन्नताबारे विश्वका तीन महिलाले आआफ्ना बुझाइबारे बताएका छन्।
"गर्भ तुहिँदा धेरै शोक हुन्छ। यो अरू शोकजस्तै हो।"
डेनिज इभान्सको गर्भ तुहिँदा उनी गर्भवती भएको कुरा थोरै व्यक्तिलाई थाहा थियो। छैटौँ हप्ताको गर्भ हुँदा उनले आफ्ना साथी वा बुवालाई पनि केही बताएकी थिइनन्।
पेसाले स्वतन्त्र पत्रकार डेनिज भन्छिन्, "गर्भ तुहिएको समयमा मैले कामलाई लिएर निकै चिन्ता गरेँ। फ्रीलान्स पत्रकार भएको नाताले काम नगरे पैसा नपाइनेबारे मैले सोचेँ। पैसा पनि चाहिने भएकोले धेरै समय काम नगरी बस्न सकिँदैन र म मानिसहरूलाई निराश बनाउन चाहन्नँ।"
डेनिज बस्ने देश यूके र संसारका अरू थुप्रै देशमा पनि प्रारम्भिक चरणतिर गर्भ तुहिँदा महिलाले तलबी बिदा पाउने सुविधा छैन।
बरु त्यस्तो अवस्थामा महिलाहरू बिरामी बिदामा र शारीरिक तथा भावनात्मक रूपमा पीडाबाट निस्किनका लागि रोजगारदाताको दयामा भर पर्नुपर्ने हुन्छ।

तस्बिर स्रोत, Denise Evans

गर्भ तुहिँदा अथवा गर्भावस्थाको जुनसुकै चरणमा मृत बच्चा जन्मँदा दम्पतीलाई तीन दिन तलबी बिदा दिनेसम्बन्धी कानुन ल्याउने न्यूजील्यान्ड पछिल्लो मुलुक बनेको छ।
केही साताअघि त्यहाँको संसद्ले 'बिरीभमन्ट लीभ फर मिसक्यारिज बिल' लाई अनुमोदन गर्न सर्वसम्मति जनाएको थियो।
"यदि यो विषयमा मेरो मस्तिष्कले सोच्न पाएको भए त्यसले मेरो अवस्थामा केही फरक पार्ने थियो," डेनिजले भनिन्।
"गर्भ खेर जाने कुरा एक दिन भयो र कुरा सिद्धिहाल्यो भन्ने हुँदैन। शारीरिक समस्याहरू हट्न झन्डै छ साता लाग्यो। यो घातक कुरा हो र एकदमै मानसिक पीडा दिने हुन्छ।"
"तपाईँ भावनात्मक पीडाबाट गुज्रिरहने समयका लागि त्यस्तो कानुन आउनु सानो होइन। हुन त तीन दिन धेरै हैन, तर पनि केही त हो," डेनिजले थपिन्।
न्यूजील्यान्ड मात्र होइन

तस्बिर स्रोत, Graham Eva
गर्भावस्थाको कुनै पनि चरणमा गर्भ खेर जाँदा महिलालाई औपचारिक रूपमा तलबी बिदा दिने देश न्यूजील्यान्ड मात्र होइन।
बिदाको अवधि फरकफरक भए पनि निकारागुआ, पानामा, मरिशस र इन्डोनेशियामा पनि त्यस्तै व्यवस्था रहेको छ।
यो वर्ष ६० पुग्ने सुत्केरी लाभसम्बन्धी भारतीय ऐनले यस प्रकारको कानुनका लागि अग्रता प्रदान गर्छ र त्यसले गर्भ खेर गएको महिलालाई छ हप्ता तलबी बिदाको व्यवास्था गरेको छ भने गर्भ तुहिएर जटिलताको सामना गर्ने वा स्वास्थ्य कमजोर भए थप बिदाको व्यवस्था गरेको छ।
भारत बेङ्गलोरकी प्रिया शर्माले आफ्नो गर्भ खेर जाँदा पाइने बिदा तीन पटक लिएकी छन्।
"न्यूजील्यान्ड अथवा अरू देशमा यस्तो व्यवस्था नरहेको र त्यस्तो अवस्थामा महिलाहरूले बिरामी बिदा लिनुपर्छ भन्ने कुरा मलाई थाहा थिएन," उनले भनिन्।
गर्भ खेर जानेबारे गलत सोच

तस्बिर स्रोत, Getty Images
महिला स्वास्थ्यसम्बन्धी कैयौँ विषयजस्तै गर्भ तुहिने समस्या देखिइरहने भए पनि त्यसबारे विश्वभरि निकै कम चर्चा हुने गर्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक चारवटा गर्भमध्ये एउटा सामान्यतया गर्भधारणको २८ हप्तामा खेर जाने गर्छ र विश्वभरि करिब २६ लाख बच्चा मृतावस्थामा जन्मिने गर्छन्।
गर्भ खेर जानुपछाडि जुनसुकै कारण भए पनि त्यसलाई स्वीकार्नुपर्ने र महिलाले सहयोग पाउनुपर्ने परिवार, महिला, बालबालिका तथा किशोरावस्थासम्बन्धी डब्ल्यूएचओकी सहायक महानिर्देशक डा. नोनो सिमेसेला बताउँछिन्।

तस्बिर स्रोत, Courtesy of Aya Al-Salchi
"महिलाहरूले अझै गर्भ खेर जाने कुरालाई लिएर नराम्ररो सोचको सामना गर्नुपर्छ र आफ्नो अनुभव तथा क्षतिबारे कुरा नगर्न उनीहरूलाई प्रोत्साहन गरिन्छ।"
आफ्ना तीनवटा गर्भ तुहिएको अनुभव साट्न अया अल-साल्ची चाहिँ दृढ छिन्।
"मेरो गर्भ १६ औँ हप्तामा खेर जाँदा यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु कि त्यसबारे मैले कुरा गर्न सकेँ र त्यो पीडाको समयमा सहयोग पाएँ," उनले भनिन्।
इराकमा जन्मेर लिबियामा हुर्केकी अया अहिले क्यानडामा नीतिसम्बन्धी काम गर्छिन्।
निर्णय प्रक्रियामा महिला

तस्बिर स्रोत, Getty Images
न्यूजील्यान्डमा ल्याइएको नयाँ व्यवस्था महिला सांसद गिनी एन्डर्सनबाट प्रस्ताव गरिनु र महिला प्रधानमन्त्री जसिन्डा आर्डर्न नेतृत्वको सरकारबाट अनुमोदित हुनु संयोग नभएको अया ठान्छिन्।
"न्यूजील्यान्डको कानून सकारात्मक छ किनभने त्यसले महिलालाई गर्भ तुहिने विषयमा कुरा गर्न प्रोत्साहित गर्छ र गर्भ खेर जाने विषयलाई लिएर रहेको गलत सोच हटाउन सहयोग गर्नेछ," उनी भन्छिन्।
गर्भ तुहिने समस्यालाई लिएर अझै गलत धारणा व्याप्त रहेकोले मौन रहेर थुप्रै महिलाहरू त्यसबाट पीडित हुनुपरेको एन्डर्सनले बीबीसीसित भनिन्।
"गर्भ तुहिने समस्याले कसरी असर पारेको छ भन्नेबारे हामीले महिला र पुरुष दुवैबाट थुप्रै कथा सुनेका छौँ," उनले थपिन्।
न्यूजील्यान्डको ल्याइएको कानुनले एउटा दृष्टान्त स्थापित गरेको सांसद एन्डर्सनको भनाइ छ।

यो पनि हेर्नुहोस्












