जहाँ नयाँ वर्षको दिन मानिसहरू सिस्नु हानाहान गर्छन्

 सुदूरपश्चिमको विशु पर्व

तस्बिर स्रोत, Menuka Dhungana

तस्बिरको क्याप्शन, विशु पर्वमा ठट्टाका रूपमा सिस्नु हानाहान गर्ने चलन छ
    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

आफ्नै शरीरमा सिस्नु लगाएर सुदूरपश्चिमवासीले बर्सेनि विशु पर्व मनाउने गर्छन्।

नयाँ वर्षका दिन मनाइने यो पर्वमा विशेषगरी साली र भिनाजु, देवर र भाउजू र नन्द र भाउजूबीच एकआपसमा सिस्नु हानाहान गरेर खेल्ने चलन छ।

हाँसोठट्टा गर्न मिल्ने नाताको रूपमा हेरिने एकले अर्कोलाई सिस्नुको मुठोले हातखुट्टा झमझमाउनेगरी हान्ने गर्छन्।

अरू व्यक्तिले पनि अनिवार्य रूपमा पोलेको थाहा हुनेगरी आफ्नै शरीरमा सिस्नु लगाउँछन्।

अरूलाई अप्ठ्यारो पार्नेगरी नभई ठट्टाका रूपमा मात्र सिस्नुले हानेर खेल्ने चलन रहेको सुदूरपश्चिमका संस्कृतिविद् कैलाश पाण्डेले बताए।

विशु पर्वमा घ्यू, तेलजस्ता चिल्लो पदार्थ प्रयोग गरेर विशेष परिकार (सेलरोटी, खीर, पुरी, माँडा, बटुक) बनाएर खाइन्छ।

संस्कृतिविद् पाण्डेका अनुसार चिल्लो परिकार खाइने भएकाले त्यसलाई पचाउन पेटमा सिस्ने लगाउने गरिएको हो।

सिस्नुले डाम्दा खानेकुरा पच्ने तथा नसा र छालासम्बन्धी रोग पनि निको हुने जनविश्वास छ।

रातो धर्सा
रातो धर्सा

'वैज्ञानिक आधार छैन'

तर चिकित्सक भने सिस्नुले पोल्दा खानेकुरा पचाउन सजिलो हुने र नसा वा छालासम्बन्धी रोग निको हुने कुरा प्रमाणित तर्क नभएको बताउँछन्।

“सिस्नुले पोल्दा वा पोल्दा छाला र नसासम्बन्धी रोगहरू निको हुन्छ भन्ने कुरा केवल भ्रम मात्र हो”, प्रदेश अस्पताल सुर्खेतका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. पदम गिरीले भने, “यसबारे अहिलेसम्म कुनै त्यस्तो प्रमाण फेला परेको छैन।“

विशेषगरी सुदूरपश्चिमका दार्चुला, अछाम, डोटी, डडेलधुरा, बझाङ, बाजुरा र बैतडीका साथै कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले नयाँ वर्षका दिन विशु पर्वला मनाउँछन्।

संस्कृतिविद् कैलाश पाण्डेका अनुसार विशाखा नक्षत्र भएकोले वैशाखको पहिलो दिनलाई विशु भन्ने गरिन्छ।

पूजाआजा र न्वागी

यो दिन सुदूरपश्चिमका हरेक शिवालय र मन्दिरहरू पूजाआजा गर्ने, न्वागी (नयाँ अनाज) चढाइने उनी बताउँछन्।

गहुँ, जौ, मुसुरो, चनाजस्ता अन्नबाली भित्र्याएपछि मन्दिरमा चढाइसकेपछि नयाँ अन्नको न्वागी पकाएर खाइन्छ।

यसलाई "अपुच्छे दिन" मानेर नयाँ कामको शुभारम्भ समेत गर्ने चलन पनि सुदूरपश्चिम प्रदेशमा छ।

नयाँ लुगा लगाउने, विवाह, व्रतबन्ध गर्ने, साना नानीबाबुको कान छेड्ने, बालबालिकालाई अनाज खुवाउने, नयाँ घर निर्माण गर्ने, नयाँ व्यापार व्यवसाय सुरु गर्ने र जीवनका अरू महत्त्वपूर्ण अनुष्ठान पनि विशु पर्वकै दिन गरिन्छ।

काम र रोजगारीको सिलसिलामा घरबाहिर गएका सुदूरपश्चिमबासी विशु पर्वमा घर आउँछन्।

विदेशबाट फर्किएकाहरू

तस्बिर स्रोत, Manoj Badu

तस्बिरको क्याप्शन, विदेशबाट फर्किएकाहरू

घरमा रङ्गरोगन

यो पर्व नजिकिँदै गर्दा सबैले लिपपोत गरेर र कमेरो लगाएर घर चिटिक्क पार्छन्।

विवाहित छोरी र दिदीबहिनीलाई माइतीले लिन जाने अछामकी कमला बयकले बताइन्।

उनी भन्छिन्, "माइतमा आफन्त र परिवारजन एकैठाउँमा जमघट भएर मिठोमसिनो खाने र रमाइलो गर्ने गरिन्छ।"

विशु पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न ठाउँमा मेला र जात्रा लाग्नुको साथै खेलकुद प्रतियोगिता पनि आयोजना गरिन्छ।

त्यस्ता मेला जात्रामा देउडा खेल्ने, महिलाहरूले पुतला नाच देखाउने र पुरुषहरूले विशु बाघ बनाएर दौडाउने गर्छन्।

भारतको कुमाऊँमा पनि विशु पर्वलाई निकै ठूलो उत्सवको रूपमा मनाउने चलन रहेको भारतीय प्राध्यापक सुरेश पन्तले बताए।

अत्तरियामा धनपुतला नाच

तस्बिर स्रोत, RSS

गर्मीले कष्ट नदिने विश्वास

विशु पर्वमा कुमाऊँको पिथौरागढ क्षेत्रमा गङ्गास्नान गरिन्छ भने वराह क्षेत्रमा तीन दिनसम्म ठूलो मेला लाग्छ।

प्राध्यापक पन्त कुमाऊँमा विशु पर्वका दिन "तीतकटु" खाने चलन रहेको बताउँछन्।

उनले बीबीसीसँग भने, "नीमभन्दा पनि धेरै नै तितो हुने तीतकटु खाँदा गर्मी नलाग्ने र गर्मीले दुःख कष्ट पनि नदिने जनविश्वास कुमाऊँमा विद्यमान छ।"

कुमाऊँसँग जोडिएको सुदूरपश्चिमको संस्कृतिमा समान मान्यता छ।

विगतको तुलनामा अहिले यो पर्व मनाउने चलनमा केही परिवर्तन आएको कतिपयले अनुभूति गरेका छन्।

विगतमा मासको बड्कु, मालपुवा बनाउने र नयाँ अन्नबाट विभिन्न परिकार बनाएर खाने चलन थियो।

तर अहिले भने मासु र मदिरालाई बढी जोड दिने गरेको उनीहरू बताउँछन्।

प्रत्येक चैत्र २० गते नानी विशु र वैशाख सङ्क्रान्तिलाई ठूली विशुको रूपमा मनाउने चलन छ।

यो पर्वलाई विशु सङ्क्रान्ति, बिखती तिहार, विशु पुज्ने दिन भन्ने समेत गरिन्छ।

विशु पर्वजस्तै सुदूरपश्चिमबासीले वर्षमा पर्ने बाह्र वटै सङ्क्रान्तिलाई पर्वका रूपमा मान्दै आएका छन्।