संस्कृति: धूमधामसँग 'छोरा तिहार' मनाउने डोल्पा र जुम्लाको अनौठो चलन

छोरा तिहार

तस्बिर स्रोत, Ramchandra Neupane

    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

कर्णाली प्रदेशका डोल्पा र जुम्ला जिल्लामा पौष शुक्ल द्वितीयाका दिन (यसपाली आइतवार) धूमधामसँग छोरा तिहार मनाउने अनौठो चलन रहेको छ।

बिहानै नुहाइधुवाइ गरी सफा शुद्ध भएर आमाले छोरालाई टीका लगाएर धेरै बाँच्नु, सोचेका र आँटेका कामहरू पूरा होउन् अनि सुख र शान्ति मिलोस् भनेर आशीर्वाद दिन्छन्।

छोराले पनि आमालाई आफ्नो गच्छे अनुसार दक्षिणाको रूपमा कपडा (धोती, चोली, सारी) र गरगहना दिएर खुट्टामा ढोग्छन्।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई जस्तै छोरा तिहारमा भने आमाले छोरालाई निधारमा अक्षताको टीका, गलामा फुलको माला लगाइदिन्छन्।

साथै सगुन स्वरूप सेल रोटी, फिनी रोटीजस्ता विभिन्न परिकार खान दिन्छन्।

आमा नहुनेहरूले गुरुआमा, ठूलीआमा, सानीआमा, मितिनी आमाको हातबाट टीका थापेर आशीर्वाद लिन्छन्।

छोरा नहुनेहरूले पनि देवर, जेठाजुको छोरा, धर्म छोरा, मितको छोरालाई टीका लगाएर आशीर्वाद दिन्छन्।

आमा पनि नभएका र छोरा पनि नभएकाहरूले भने मठ मन्दिरका पुजारीको हातबाट टीका अक्षता लगाएर छोरा तिहार मनाउँछन्।

छोराले आमालाई दक्षिणा

भाइ तिहार सकिएको दुई महिनापछि हरेक वर्ष यो तिहार मनाउँदै आएको डोल्पाका टोपबहादुर शाहीले बताए।

उनले भने, "अघिपछि आमाले छोरालाई दक्षिणा दिन्छन् भने यो तिहारमा छोराले आमालाई दक्षिणा दिनुपर्छ।"

छोरा तिहारमा आमाको हातबाट टीका थाप्नकै लागि बाहिर रहेका छोराहरू सकभर घर आउँछन्।

यदि काम विशेषले घर पुग्न सकेनन् भने फोन र सामाजिक सञ्जालका माध्यमबाट आशीर्वाद लिने गर्छन्।

छोरा तिहार

तस्बिर स्रोत, Ramchandra Neupane

टीका लगाएर खानपिन गरि सकेपछि भने सबै पुरुषहरू एकै ठाउँमा जम्मा भएर भैलो खेल्छन्।

आमाहरूले पनि एकै ठाउँमा भेला भएर चुट्किला देउडा खेलेर खुसी साटासाट गरेर रमाइलो गर्ने गर्छन्।

भैलो खेलेर रमाइलो

भैलो खेल्नेहरूलाई चामल, धान, पैसा दिने चलन छ।

भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भन्ने चलन छ।

भैलो देउसी भन्दा फरक लयमा खेल्ने गरिन्छ।

भैलोबाट सङ्कलन भएको रकम सार्वजनिक काम (धारा, पँधेरा, बाटो निर्माण) मा खर्च गर्ने र बचेको रकमबाट वनभोज खाने गरिएको रामचन्द्र न्यौपाने बताउँछन्।

परापूर्वकाल देखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाइ छ।

डोल्पा र जुम्ला जिल्लामा मात्र मनाइने छोरा तिहारको महत्त्व दशैँ तिहार जत्तिकै रहेको डोल्पाको त्रिपुरासुन्दरी मन्दिरका पुजारी उमाकान्त न्यौपानेले बताए।

"पुर्खाहरूले चलाएको चलनलाई हामीले पनि निरन्तरता दिँदै आएका छौँ", उनले भने, "दशैँ तिहार पछिको तेस्रो महत्त्वपूर्ण पर्वको रूपमा छोरा तिहारलाई मनाउँदै आएका छौँ।"

प्रायजसो बाहुन, क्षेत्री, ठकुरी र दलित समुदायले यसलाई विशेष महत्त्वको साथ मनाउँदै आएका छन्।